विजयकुमार बौडेल
चैत २४ – सरकारले लागु गरेको लकडाउन मिच्दै पाल्पाको बगनासकाली गाउँपालिकामा पिकनिक खाने तयारीमा रहेका व्यक्तिहरुलाई प्रहरीले देखेपछी भागाभाग भएको छ ।
बगनासकाली गाउँपालिका वडा नं. ८ को सिद्धबाबा मन्दिर नजिकै खुल्ला चौरमा भेला भई पिकनिक खाने तयारीमा रहेकाहरु प्रहरी देखेपछी सामान नै छाडेर भागेका हुन् । प्रहरीले मानिसहरुको भिड जम्मा भई पिकनिक खान थालेको सुईको पाएपछी सम्बन्धित स्थानमा पुग्दा सामान छाडेर भागाभाग भएको हो ।
पिकनिक स्थलबाट २ वटा ब्रोईलर कुखरा, चामल, एक कार्टुन बियर, भान्छाका विभिन्न सामान, पकाउने भाँडा, साउण्ड सिस्टमलगाएतका सामग्रीहरु छाडेर भागेको जिल्ला प्रहरी नायब निरिक्षक घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
पिकनिक स्थलमा लु ४१ प ५६९६ नम्बरको एफजेड मोटरसाईकल समेत भेटिएको प्रहरीले जनाएको छ । सरकारले कोरोना भाईरसको संक्रमण कम गर्न लागु गरेको लकडाउनलाई नागरिकले गम्भिर रुपमा नलिँदा झन जोखिम बढेको छ ।
कोरोना एकदमै छिटो सर्ने भाईरस भएकाले यसबाट बँच्नको लागी सबै सचेत र सतर्क रहि सरकारले लागु गरेको लकडाउनमा साथ दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
सांकेतिक तस्विर : गुगल