![]()
पाल्पा
चैत १६ – बगनासकाली गाउँपालिकाले स्वास्थ्य चौकीहरुमा बिरामी जाँच्नका लागि अत्यावश्यक १० वटा पिपिइ सेट इमरजेन्सी रुपमा व्यवस्था गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको कार्यालय चिर्तुङधारामा बसेको कार्यपालिकाको बैठकले १० वटा पिपिइ सेट सोझै बजारबाट खरिद गरेरै भएपनि स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई दिने निर्णय गरेको हो । लकडाउनको समयमा खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता स्वरुप बीस प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।
बगनासकालीले दैनिक ज्यालामजदुरी गर्ने अति गरिव विपन्न वर्गको लगत संकलन गरी ३ दिन भित्र गाउँपालिकामा पेश गर्न वडास्तरीय विपद व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । गाउँपालिका भित्र रहेका खाद्यपसलले अनिवार्य मूल्य सूची राख्न लगाउने, कोरोना महामारीको समयसम्म कुनै पनि प्रकारको पूजाआजा, विवाह, व्रतवन्ध, कुलपूजा जस्ता कार्य गर्न रोक लगाउने, लकडाउनको नियम पालना गर्न अनुरोध गर्ने निर्णय पनि गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अति विपन्न वर्गका व्यक्ति विरामी परेमा अस्पताल सम्म पु¥याउने एम्बुलेन्स खर्च गाउँपालिकाले उपलब्ध गराउने र जनचेतनाका लागि वडावडामा माइकिङ गर्दाको गाडी र इन्धन खर्च गाउँपालिकाले उपलब्ध गराउने समेत निर्णय गरिएको छ ।








