नारायण प्रसाद अधिकारी
विश्व महामारिको रुपमा फैलिएको कोभिड – १९ ले हरेक क्षेत्र तहसनहस भएको छ । देशको अर्थब्यबस्था धरासायी भएको छ । विकासका आयोजना हरु लथालिङ्ग छन् अलपत्र परेका छन् । सबैभन्दा बढी नकारात्मक प्रभाब त शिक्षा क्षेत्रमा पर्न गएको छ । विगत चार महिनादेखि शिक्षण सस्थाहरु बन्द छन् । विद्यार्थी अलपत्र छन् । शिक्षकहरु बेकामी भएका छन ।अभिभावकहरु चिन्तित छन् । पढेर भोलिको राष्ट्रको जिम्मेबारी बहन गर्ने कर्णधार हरु आज हिलोमा खेल्दै छन, गुलेली ताक्दै छन् । भेलमा खेल्दै छन् । खोलामा माछा मार्दै छन – मानौ संसार एकाएक उल्टिएको छ ।
सन्सारमा आफूलाई महाशक्तिशाली ठान्ने देशहरु पनि कोभिडबाट हार खाएका छन् । उनिहरुका शष्त्र, अस्त्र, धन र प्रविधि बेकम्मा साबित भएको छ । गोदाममा ढुसी उम्रेको खाद्यान्न जस्तो । यो रोग भोली अथवा दुइ महिना पछी वा अबको एक बर्षमा हटेर जाला भन्ने केहि आधार छैन । दीर्घकालिन उकुच जस्तो कहिले नहराउन पनि सक्छ । त्यसैले यसको बिकल्प खोज्नु अनिबार्य छ ।
भाैतिक पूर्वाधारकाे अभावमा महामारी वा राष्ट्रिय समस्यामा विद्यालय परिसर नै उपयाेग हुने गरेकाे छ । अहिले स्कूलमा क्वारेन्टिन राख्दा बिद्यार्थीहरुमा नकारात्मक असर परिरहेको छ । के अब हाम्रा स्कूल कहिले खुल्दैनन ? हाम्रो भबिष्य सकिएकै हो त ? हामी सधैभरि हिलो र गुलेलिका साथी हुनुपर्ने हो ? यसले उनिहरुमा मानसिक तनाब सिर्जना गरिरहेको छ र नजानिदो पारामा उनिहरुले सन्तुलन गुमाउदै छन । समुदाय पनि त्रसित छ – किनकी क्वारेन्टिनमा बसेकाहरुमा धमाधम कोरोना पुष्टी भैरहेको छ । अब हामिलाई सर्छ र यसले परमधाम पुर्याउने भयो भन्ने भित्री डर बिद्यालय आसपास बस्ने सबैलाई उत्पन्न भएको छ ।
यस्तो परिस्थितिमा बिद्यालयमा क्वारेन्टिन राखिरहनु उचित छैन । यसलाईअबिलम्ब हटाउनु पर्छ । किनकी शिक्षा क्षेत्र हरेक धुमिलबाट स्वच्छ हुनुपर्छ – चाहे राजनिती होस या रोग । युद्ध हाेस कि उत्सव । अब कुरो आउला – यस्तो शङ्कटको बेलामा कहाँ सार्ने क्वारेन्टिन ? मैले अघी नै भने – यसको दीर्घकालिन समाधानको उपाय निकाल्नु पर्छ । तीन तहका सरकार छन् । जनताको जिउज्यानको अगाडी विकास मामुली कुरो हो । यो आगामी बर्षमा गरे पनि हुन्छ । स्थानीय सरकारहरुले बिकास बजेटको ठूलै हिस्सा छुट्ट्याएर क्वारेन्टिन निर्माण गरुन । खुला र बस्ती नभएको ठाउमा टहराहरु बनाउनु पर्छ । टिनका भित्ता र टिनकै छाना भएका बनाउन सकिन्छ । त्यहाँ धारा, पानी र सौचालयकाे व्यवस्था हुनुपर्छ । बाथ रुम सहितको सुविधा हुनुपर्यो । बिद्युत र इन्टर्नेट्को सुबिधा पनि होस । यि टहराहरु भोली अवस्था सामान्य भएपछि कृषी हाट बजार वा भेला बैठक वा अन्य यस्तै केहि काममा प्रयोग गर्न सकिन्छ ।
शिक्षण सस्थामा भएका क्वारेन्टिनहरुलाई इनै टहरामा सार्नु पर्छ । स्कूललाई सर सफाइ गरेर निर्मूलिकरण गर्नु आबस्यक छ । यो काम साँच्चै मन लगाएर स्थानीय सरकारहरुले गर्ने हो भने सम्भव छ । एउटा पालिकाले गर्यो भने अधिकाम्स पालिकाहरुले त्यसको अनुसरण गर्ने छन् । बिद्यालयहरु क्वारेन्टिन मुक्त हुनेछ्न् । भोली परिस्थिती सामान्य हुने बित्तिकै स्कूलमा पठनपाठन सुचारु गर्न सम्भब हुनेछ । त्यसैले ,आउनुहोस ! विद्यालयलाई क्वारेन्टिन मुक्त गर्ने अभियान सन्चालन गरौ । शैक्षिक क्षेत्रकाे संरक्षण गराैँ ।
(अधिकारी दिव्यज्याेति माध्यमिक विद्यालय माथागढी कसेनीका प्रधानाध्यापक हुनुहुन्छ ।)