डाँडाडुम । तानसेन नगरपालिकाले कोभिड १९ बाट ज्यान गुमाएका बुद्धिबहादुर विकको परिवारलाई राहत प्रदान गरेको छ ।
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक, वडाअध्यक्ष हरिसुमर रेग्मीसहितको टोली घरमै पुगेर विक परिवारलाई राहत सामग्री प्रदान गरेको हो । राहतमा चामल, नुन, तेल, दाल, सावुन, स्वास्थ्य सामग्रीहरु रहेका छन् । नगरप्रमुख शाहीले रेडियो कुटुम्बले दिएको १० हजार रुपैँया सहयोग पनि परिवारलाई हस्तान्तरण गर्नुभयो । अस्पतालबाट शव निकाल्न ठूलो सहयोग गरेको नगरपालिकाका जनप्रतिनिधि चौविस घण्टा नवित्दै राहत लिएर घरमै आएकोमा स्थानीय बासिन्दा बुद्धराज बस्याल र केशव बस्यालले धन्यवाद दिनुभयो ।
कोरोना संक्रमण भएर लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना भएका विकको जेठ १९ गते बुधबार निधन भएको थियो । विक परिवारले निजको उपचार खर्च तिर्न नसकेपछि शव उठाउन पाएन । तानसेन नगरपालिका वडा नं. ९ र ८ को वडा समिति, नगरपालिकाका प्रमुख उपप्रमुखले बैठक भत्ताबाट उपचार खर्च तिर्ने निर्णय गरेपछि नगरपालिका प्रमुख अशोककुमार शाहीले जमानी बसेर परिवारले शव निकालेको हो । नेपाली सेनाको सहयोगमा शवलाई राम्दी लगेर दाहसंस्कार गरिएको छ ।
बुद्धिबहादुर विश्वकर्माको उपचार खर्चमा लागेको १ लाख ६३ हजारमध्ये २० हजार रुपैँया परिवारले धरौटी राखेको र बाँकी रकम नगरपालिकाले तिर्ने अस्पतालसँग सहमति भएको छ । अस्पतालबाट शव उठाउने गाडीलाई १५ हजार ५ सय रुपैँया, नेपाली सेना र मलामी चढेको गाडीलाई १२ हजार रुपैँया तिर्न बाँकी रहेको छ । तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मीले दाहसंस्कारमा जाँदा स्थानीय गाडी प्रयाेग गरिएकाे र भाडा पछि व्यवस्थापन गर्ने गरी पठाइएकाले सरसहयाेग हुँदा बुझाउने बताउनुभयाे । रेडियो कुटुम्बले सामाजिक उत्तरदायित्व अन्तर्गत दिएको १० हजार रुपैंया सहयोग एउटा गाडीको भाडा तिर्न प्रयोग गर्ने विकका ज्वाई राजु विकले जानकारी दिनुभयो ।
उपप्रमुख लक्ष्मीदेवी पाठकले नगरपालिकाभित्रका कुनै पनि नागरिक भाैकै बस्न नपराेस्, काेराेना संक्रमणकाे परीक्षण, उपचारबाट बञ्चित हुन नपराेस् भनेर स्थानीय सरकार लागि परेकाे बताउनुभयाे । आर्थिक रुपले अत्यन्त विपन्न विक परिवारलाई सीपमूलक तालिम र स्वरोजगारीको अवसर सिर्जना गर्न आवश्यक सहयोग गर्ने नगरपालिका प्रमुख अशोककुमार शाहीले बताउनुभएकाे छ ।