भगवती जात्रामा विदा, स्वागतमा पाल्पामा दीपावली

तानसेन । पाल्पाको भगवती जात्रालाई प्रदेश सरकारले राष्ट्रिय महत्व दिएर त्यसदिन पाल्पामा विदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले भगवती जात्रालाई महत्व दिएर पाल्पा जिल्लामा विदा दिने निर्णय गरेको हो । नेपाल अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको उपलक्ष्यमा विजयोत्सवको रुपमा मनाइने भएकाले भगवती जात्रालाई जिल्लामा विदा दिने निर्णय गरिएको मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभयो । रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको निर्णयको स्वागतमा आज साँझ मन्दिरमा दीपावली गर्ने निर्णय गरेको अध्यक्ष राजेश्वर उदयले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले भगवती जात्राको ऐतिहासिक पक्षलाई महत्व दिएर प्रदेश सरकारले गरेको विदा दिने निर्णयको स्वागत गर्नुभयो । राष्ट्रिय स्वाधीनता र अखण्डताको रक्षार्थ नेपालीहरुले प्रदर्शन गरेको त्यो नेपाल अंग्रेज युद्ध र विजय हासिल गरेपछि मनाउन थालिएको भगवती जात्रालाई राष्ट्रिय विदा नै घोषणा गर्नुपर्ने नगरपालिका प्रमुख शाहीको भनाई रहेको छ ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यवहाक प्रमुख मिरा मरासिनीले भगवती जात्राको दिन विदा दिने निर्णयले सिंगो पाल्पालीलाई खुशी बनाएको बताउनुभयो । नेपालको राष्ट्रियतासँग जोडिएको विजयोत्सवका दिन देशका प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्री सहभागी हुनुहोस् भन्ने माग हाम्रो रहेको छ, कार्यवहाक प्रमुख मरासिनीले भन्नुभयो । इतिहासविद् निर्मल श्रेष्ठले राम्रो कामको थालनी भएको र यो विजययात्रालाई पाल्पाको मात्र नभएर राष्ट्रिय गौरवकै रुपमा मनाइनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल अंग्रेज युद्ध र विजययात्रा नेपालको राष्ट्रिय अखण्डतासँग पनि जोडिएको छ ।’

दुई शताब्दीअघि, बलिया राष्ट्रले कमजोर राष्ट्रलाई मिच्ने जुन प्रवृति थियो आज पनि उस्तै छ। राष्ट्रलाई जोगाउन राष्ट्रिय भावना बोकेका मनहरू नभएका होइनन्। अब शतरंजका खेलाडीझैं सजक र सतर्क हुनु पर्ने बेला आएको छ। कर्णेल उजीरसिंह थापाको दलमुखी आँट, काजी वीरभञ्जन पाण्डेको सुझबुझ अनि सरदार सूर्य थापा, अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमादार भिमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानिया एवं जुठे बस्नेत लगायत पाँच सय नेपालीको रगत पसिनाले सिँचिएको गौरवमय इतिहास बोकेको श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरको सदा चम्किरहने गजुरले राष्ट्रियतालाई खबरदारी गर्दै आएको  छ।

नेपाल अंग्रेज युद्धमा नेपालीले विजय गरेपछि करिव दुई शताब्दीदेखि मनाइदै आएको भगवती जात्रालाई राष्ट्रिय महत्व दिएर देशभर नै विदा दिनुपर्ने माग पाल्पाली राख्दै आएका छन् । प्रदेश सरकारले २०७७ सालमा ६ दिन दिने विदामा पाल्पाको भगवती जात्रालाई समेटेको छ । माघी दुई दिन, वकर इद र प्रदेश स्थापना दिवस १\१ दिने प्रदेशभरी विदान दिने निर्णय गरिएको छ । भूमे पूजा रुकुम र रोल्पा, बडकवा अतवारी थारु समुदायलाई र भगवती जात्रा पाल्पा जिल्लामा विदा दिने निर्णय गरिएको भाैतिक पूर्वाधार मन्त्री तथा प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । यसैगरी प्रदेशले तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैँया जिल्ला विपद व्यवस्थापन समितिलाई दिने निर्णय गरेको छ ।