भर्चुअल माध्यमबाट पढाउँदै शिक्षक महासंघ तानसेन

पाल्पा । नेपाल शिक्षक महासंघ तानसेन नगरसमितिले विद्यार्थीसँग शिक्षक महासंघअभियान अन्तर्गत भर्चुअल कक्षा सुरु गरेको छ ।

कक्षा १० का विद्यार्थीको निम्ति सञ्चालन गरिएको भर्चुअल कक्षाको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष देवीप्रसाद भट्टराईले उदघाटन गर्नुभयो । अध्यक्ष भट्टराईले कोरोना महामारीको बीचमा पनि शैक्षिक क्रियाकलाप नियमित सञ्चालन गनुपर्ने परिस्थितिको आँकलन गरी महासंघको तानसेन समितिले थालेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो । इन्टरनेटको सहायताले घरमै बसेर शिक्षकले पढाउने र विद्यार्थीले पढ्न पाएका छन्, जुन खुशीको कुरा हो अध्यक्ष भट्टराईको भनाई छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले विद्यालयमा भौतिक उपस्थिति बर्जित गरिएको समयमा वैकल्पिक माध्यमबाट शिक्षण गर्नु र सिकाइ प्रक्रिया अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो । महासंघका नगर अध्यक्ष हरिप्रसाद घिमिरेले सामुदायिक विद्यालयहरुको सहकार्यले विद्यार्थीको सिकाइ उपलब्धी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका करिव २ सय विद्यार्थीहरु जुम कक्षामा सहभागी भएका छन् । विद्यालयको पहिचानसहित विद्यार्थी जुममा जोडिएका छन् । जिओजेब्रा सफ्टवेयर, अडियो, भिडियो सामग्रीसहित पावर पोइन्ट प्रयोग गरेर शिक्षकले पठनपाठन गरेका छन् । पहिलो दिन गणित र अंग्रेजीका कक्षा चलेका थिए ।

कोभिड १९ का कारण विगत ६ महिनादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन सकेका छैनन् । विद्यालयहरुले परियोजना कार्य, टोल शिक्षा र दूरशिक्षा कार्यक्रममार्फत् सिकाई प्रक्रियालाई निरन्तरता दिने कोशिस गरिरहेका छन् ।