भुकम्प पीडितकाे घर कहिले बन्छ ?


विजयकुमार बौडेल –

बोली । बैशाख ११ – भुकम्प गएको ४ बर्ष पूरा हुँदा सम्म पनि कागजी प्रकृया झण्झटिलो र प्राविधिकको आनाकानीले पाल्पाका अधिकांश प्रभावितले घर बनाउन सकेका छैनन ।

अप्ठेरो प्रकृया, झण्झटिला कर्मचारी र नपुग रकमले घर बनाउन नसकेका अधिकांश प्रभावित परिवार झुपडीमै बस्न बाध्य छन । ८ हजार ७ सय ९० जनाको ज्यान लिनेगरी गएको भुकम्प पछि घरबारबिहिन भएकाहरुले रिण काढेर जेनेतेन घर बनाएकाहरु समेत ब्याजमा डुबेका छन । घर बनाएर सम्पन्न भएको २ बर्ष बितिसक्दा समेत पहिलो किस्ता बाहेक अरु रकम नपाएका धेरै परिवारको गुनासो छ ।

तानसेन नगरपालिका वडा नं ९ का नवीन बौडेलले रिण गरेर बनाएको घर अझै पूरा नभएको भन्दै प्रकृया पूरा हुँदा पनि अनुदानको बाँकी किस्ता दिन प्राविधिकले आनाकानी गरेको बताउनुभयो । ” रिण गरेर घर बनाएँ, अनुदानको पहिलो किस्ता बाहेक पाएको छैन ।” बौडेलले भन्नुभयो । :-“रिणको ब्याजले साँवा भन्दा धेरै नाघ्न थालिसक्यो, प्राविधिकको आनाकानीले प्रकृया पूरा हुँदा पनि अनुदानको बाँकी किस्ता पाईएन ।” भुकम्प प्राविधिकहरुले विभिन्न बहानामा पैसा माग्ने गरेको र नदिए कागज मिलेको छैन भन्दै दुख दिने गरेको प्रभावितहरुले गुनासो गरेका छन ।

“घर बनिसकेपछी पनि प्राविधिकले हजार कागजी बहाना बनाएर अनुदान रोक्छन ।” अनुदानमा घर बनाउँदै गरेका एक प्रभावितले भने – “भुकम्पले तहसनहस पारेर सरकारले सानो झुपडी बनाउन भनेर गरिबलाई दिएको अनुदानमा पनि गिद्धे दृष्टि लगाउने कस्ता कर्मचारी होलान ?”

केही प्रभावितहरु मध्ये भुकम्प प्राधिकरणका कर्मचारिहरु संग साँठगाँठ गरेर कागजी प्रकृया मिलाउनेहरु समेत छन । घरको अवस्था ठिकठाक हुँदाहुँदै समेत पहुँचको भरमा प्रभावितको सुचिमा नाम राख्नेहरु धेरै भए भन्ने गुनासो भुकम्प प्रभावितहरुले गर्दै आएका छन ।