रिब्दीकोट ४ भैरवस्थानका स्थानीयले रोटबाट राम्रो आम्दानी गर्दै आएका छन । जिल्ला सदरमुकाम तानसेनबाट करिब १० किलोमिटर पश्चिमको भैरवनाथ मन्दिरमा प्रसादका रुपमा चढाउने रोट दशर्नार्थीको संख्यामा वृद्धि भएसंगै रोटको व्यापार गर्नेहरुको आम्दानी बढेको हो ।
कोरोना संक्रमणका समयमा कम भएको व्यापार पछिल्लो समय धार्मिक पर्यटकको आकर्षण बढ्दै संगै राम्रो आम्दानी हुन थालेको रोट व्यापारीले बताएका छन । ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको भैवरनाथ मन्दिरमा प्रसादको रूपमा चामलको पिठोबाट बनेको माना पाथीको रोट चढाउने गरिन्छ । भक्तजनहरुको सहजताका लागि मन्दिर वरिपरी रोट बनाएर विक्री गर्ने पसलहरु रहेका छन । उनीहरुले घरमै बसेर पनि राम्रो आम्दानी गर्न सफल भएका छन ।
पहिले पहिले दर्शनार्थीले घरबाटै रोट बनाएर पूजा गर्न मन्दिर पुग्दथे भने अहिले मन्दिर परिसरमै रोट पाउने सुविधा भएपछि सहज भएको तानसेन ३ बाट मन्दिरमा पुग्नुभएकी भक्तजन रुपा कोइरालाले बताउनुभयो । भैरवनाथ मन्दिरमा चढाउनको लागि सफा, सस्तो अनि मिठो रोट मन्दिर नजिकै पाइने भएपछि भक्तजनहरूले पनि घरमा पकाएर रोट लान छाडेका छन् । घरमा पकाउन झन्झटिलो हुने हुँदा आफूले रोट किनेर नै चढाउने गरेको भक्तजन कोइरालाको भनाइ छ ।
मन्दिरको मूल गेटदेखि मन्दिर प्रवेश गर्ने सडकको छेउछाउमा रोट पकाउने पसलहरु छन । यही पसलबाट पूजा सामग्री र रोट बेचेर स्थानीयवासीले राम्रो आम्दानी गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । उहाँले दशर्नार्थीहरुको चाहना अनुसार मन्दिर व्यवस्थापन समितिले पनि सुपथ मूल्यमा रोट उपलब्ध गराउदै आएको जानकारी दिनुभयो ।
दसैँ, मङ्सिर, वैशाख तथा विशेष तिथि र शनिबारका समयमा अत्यधिक भिड हुने हुँदा सिजनको समयमा भएको आम्दानीले अरु समयको खर्च व्यवस्थापन गर्न सहज हुने रोट व्यापारी लक्ष्मी कार्कीले बताउनुभयो । अहिले एक माना चामलको पिठोबाट बनेको रोटको दुई सय रुपैयाँ मूल्य छ । एक पाथी पिठोबाट बनेको रोटको दुई हजार ५ सय देखि तीन हजरा ३ सय रुपैयाँसम्म मूल्य लिने गरेका छन ।
बिहान सबेरै उठेर चामलको पिठोमा, घिउ चिनी र नरिवल मोल्ने अनि रातो माटोले पोतेर चिटिक्क पारेको चुल्होमा लस्करै राखिएका पाँच, छ वटा तावामा रोट पकाउनु त्यहाँका व्यापारीको दैनिकै नै हो । मन्दिर आसपासमा रोट पकाउने र बेच्ने काममा १५ परिवार बढी संलग्न छन् । मन्दिर व्यवस्थापन समितिले व्यापारी र ग्राहकमा एकरूपता ल्याउन रोटको मूल्य तोकिदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार भक्तजनहरुको सुविधाका लागि समितिले आवश्यक सबै सेवाहरुमा सहजीकरण गर्ने गरेको बताउनुभयो ।