विजयकुमार बौडेल
चैत १९ – कोरोना भाईरस संक्रमणको त्रासले व्यवसायिको व्यापार अस्तब्यस्त बनेको बेला तानसेन ९ आरुखर्कका लक्ष्मीकान्त तिमिल्सेनाले आफ्नो घरमा व्यवसाय गर्ने सबैलाई एक महिनाको भाडा छुट गर्ने घोषणा गर्नुभएको छ ।
तानसेन ९ दमकडा चोकैको घरमा रहेको ७ वटा सटर लिएर व्यवसाय गर्ने सबै व्यवसायिहरुलाई एक महिनाको भाडा छुट गर्ने घोषणा तिमिल्सेनाले गर्नुभएको हो । कोरोना भाईरसको त्रासका कारण ब्यापार व्यबसायी समस्यामा परेकाले घरभाडा बुझाउन पनि मुस्किल भएको भन्दै घरधनी तिमिल्सेनाले स्वस्फुर्त रुपमा व्यबसाय सञ्चालन गर्ने ७ जना व्यवसायिहरुलाई भाडा छुट दिने घोषणा गरेका हुन् । भाडामा लिएका ७ जना व्यवसायिलाई चैत्र महिनाको भाडा सहित विजुली र पानी पनी निशुल्क गर्ने तिमिल्सेनाले बताउनुभयो । तिमिल्सेनाको घरमा भाँडा पसल, रेष्टुरेन्ट, सिलाई, तरकारी र फेन्सी लगायतका पसल रहेका छन् । जसको मासिक प्रति सटर ३ देखि ४ हजार रुपैयाँसम्म रहेको छ ।
तिमिल्सिना आफु भने बुटवल मणिग्राममा घर र जग्गा भाडामा लिएर बागेश्वरी डेरी सञ्चालन गर्नुभएको छ । घरधनीले भाडा नलिने भएपछि ब्याबसायीले आफ्नो पिर मर्का बुझेको र अफ्ठेरो परिस्थितिमा आफुहरुलाई सहयोग गरेकोमा घरधनी तिमिल्सेनालाई धन्यवाद दिएका छन् । सरकारले लकडाउन लम्ब्याउने कुराले व्यवसायीको मनमा थप पिरलो थपिएपनी घरधनीको मनकारी मनले व्यवसायिहरुले शान्तिको श्वास फेरिरहेको छुट पाउने व्यवसायि दमकडा सेकुवा कर्नरका सञ्चालक दिपक बस्यालले बताउनुभयो । “यस्ता मनकारी घरधनी पाउनु नै हाम्रो लागि ठूलो कुरा हो ।” बस्यालले भन्नुभयो ।
बस्याल मात्रै होइन सोही घरमा भाँडा व्यवसाय संचालन गर्दै आउनुभएका बिष्णु न्यौपाने भाडा मिनाहाको खबर पाएर खुसी हुनुहुन्छ । न्यौपानेले घरधनीले व्यवसायीहरुलाई लगाएको गुण अतुलनीय रहेको बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै तिमिल्सेनाले सटर भाडा मिनाहा गरेको बताउनुभयो । “हामी मान्छे हौँ, दुख पर्दा एक अर्कालाई साथ दिन सिक्नुपर्छ ।” तिमिल्सेनाले भन्नुभयो ।
आफै पनी व्यवसायि रहनुभएका तिमिल्सेनाले कोरोना संकटको सबै मिलेर सामना गर्नुपर्ने र एकअर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो । कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन लागु गरेपछी घरधनीसँग चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।