
विजयकुमार बौडेल –
फागुन ७ – रम्भा गाउँपालिकाले आधारभुत तहमा अध्ययन गर्ने सबै विद्यार्थीहरुको दुर्घटना विमा गरेको छ ।
गाउँपालिकाले नर्सरी देखी कक्षा ५ सम्म अध्ययन गर्ने सबै १ हजार ८ सय ५४ जना विद्यार्थीहरुको दुर्घटना विमा गरेको हो । रम्भा गाउँपालिकाले प्रत्येक विद्यार्थीहरुको १० हजार रुपैंया बराबरको दुर्घटना विमा गरेको हो । रम्भाका विद्यार्थीहरुको दुर्घटना भएर जटिल खालको अंगभंग या मृत्यू भएमा एक लाख रुपैंया बराबरको विमा गरेको गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भण्डारीले सबै विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भित्र्याउन विमा कार्यक्रम ल्याईएको बताउनुभयो । “सबै विद्यार्थीहरुका अभिभावकहरुले सुरक्षित महसुस गर्नुभएको छ । त्यसैले गाउँपालिका यो कार्यक्रम प्रति उत्साहित छ ।”
अध्यक्ष भण्डारीले भन्नुभयो । “अभिभावकहरुले हामीलाई विश्वास गरेर विद्यार्थी पठाउनु भएको छ । उहाँहरुको यो विश्वासलाई हामी कहिल्यै निराश बनाउने छैनौं ।” सबै कुराको श्रेय अभिभावकहरुलाई जाने अध्यक्ष भण्डारीको भनाई छ ।
“गाउँपालिकाले दुर्घटना विमा संगै सबै विद्यालयमा दिवा खाजाको व्यवस्था गरेका छौं । ३६ वटा विद्यालयले आफै स्थानिय स्तरमा पाईने गेडागुडी लगाएतबाट खाजा पकाएर खुवाउने व्यवस्था गर्नुभएको छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो ।
“दिवा खाजाको लागी चालु आर्थीक बर्षमा ४० लाख रुपैंया खर्च गरेका छौं । सबै अभिभावकहरुले गाउँपालिकाको यो योजनाको प्रशंसा गरेका छन् ।” दिवा खाजा कार्यक्रमलाई दिगो बनाउने गरी निरन्तरता दिने योजना भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाई छ ।
दिवा खाजा कार्यक्रम र दुर्घटना विमाको कार्यक्रमले रम्भाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या बढ्ने विश्वास गाउँपालिकाले लिएको छ । अर्को आर्थीक बर्ष सम्ममा विद्यार्थीको संख्याको अनुपात मुल्यांकन गरेर आगामी दिनमा कार्यक्रम थप गर्ने गाउँपालिकाले जनाएको छ ।