पाल्पा । रम्भा गाउँपालिकाले अनलाइन कक्षा सञ्चालन गर्न पाठशाला क्लोज युजर ग्रुप ‘सीयूजी’ सिम निःशुल्क वितरण गरेको छ ।
गाउँपालिकाले शिक्षा शाखाको समन्वयमा सात मावि र एक आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकलाई यस्तो सिम वितरण गरिएकाे हाे । गाउँपालिकामा रहेकाे बाँकी एउटा माविलाई केही दिनभित्र वितरण गरिने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयाे । हुँगीको जनकल्याण र श्रीकृष्ण गण्डकी मावि, फोक्सिङकोटको सानाहुँगी मावि, पीपलडाँडाको अमृत पब्लिक मावि, कृष्ण मावि झेस्काङ र रविकिरण माविलाई सिम वितरण गरिएको छ । यसैगरी, ताँहुको रम्भा मावि र प्राकृतिक आधारभूत विद्यालयमा अनलाइन कक्षा सञ्चालनका लागि सिम वितरण गरिएको छ ।
अहिलेसम्म १ हजार ७ सय ६५ शिक्षक र विद्यार्थीलाई सिम वितरण गरिसकेको छ । हुमिनको जनहित भगवती माविको कागजपत्र पूरा नभएकाले पूरा हुनासाथ केही दिनमै सिम वितरण गरिनेछ । शिक्षक र विद्यार्थीले प्रयोगकर्ता समूहभित्र फोन गर्दा पैसा लाग्दैन । ‘अनलाइन कक्षा सञ्चालनका लागि डाटासहितको सिम वितरण गरिएको हो,’ गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयाे, ‘यसबाट अनलाइन कक्षा सञ्चालन गर्न सहज भएको शिक्षकबाट प्रतिक्रिया पाएका छौं ।’
नेपाल टेलिकमका अनुसार प्रतिसिम एक महिनाका लागि १ सय २९ रुपैयाँ खर्च लाग्छ । यसमा आठ जीबी डाटा निःशुल्क हुन्छ । युजर समूहभित्र फोन गर्दा पैसा लाग्दैन । बाहिर नम्बरमा भने कल गर्न नमिल्ने नेपाल टेलिकमका अधिकृत नारायण घिमिरेले बताउनुभयाे। ‘सुरुमा एकमुष्ट १ सय २९ रुपैयाँका दरले तिर्नुपर्छ र रिचार्ज गर्दा पनि एकमुष्ट नै तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘शिक्षक, विद्यार्थीको विवरण रनागरिकता पेस गरेर मात्र सिम लिन पाउने सुविधा छ । ’गाउँपालिकाले संघ सरकारको ससर्त अनुदानबाट मावि र आधारभूत विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क सिम दिएको शिक्षा शाखा प्रमुख मीनादेवी आचार्यले जानकारी दिनुभयाे ।