राम्दीमा महायज्ञ गरेको ९ वर्षसम्म आयोजक नै गायब, चन्दादाताले खाेजे हिसावकिताब

राम्दी । पाल्पा र स्याङ्जाको संगम स्थल पवित्र राम्दीधाममा ९ वर्ष अगाडि संचालन भएको महायज्ञको हिसाव किताव सार्वजनिक नगरी आयोजक बेखबर बनेकाे स्थानीय चन्दादाताहरुले आरोप लगाएका छन् । 

राम्दीमा २०६८ साल कात्र्तिक १८ देखि २५ गतेसम्म सञ्चालित श्रीमद्भागवत सप्ताह महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको आय व्यय सार्वजनिक नगरेको, महायज्ञबाट उठेको रकमबाट बनाउने भनेका भौतिक पूर्वाधार र संरचना नबनाएको र करोडौं रकमकाे हिसावकिताव नदेखाएकाेमा स्थानीय चन्दादाताले आयोजककाे ध्यानाकर्षण गराएका छन् । स्थानीय चन्दादाता नारायण प्रसाद अधिकारी र बोधराज भण्डारी समेतले पाल्पा र स्यांजाका पत्रकारहरुलाई बोलाएर हिसावकिताव खाेजीदिन अनुराेध गर्नुभएपछि याे कुरा बाहिर  आएको हो । महायज्ञ भएको १० वर्ष हुन लाग्यो, अहिलेसम्म न हिसाव छ, न विकास छ । नारायण प्रसाद अधिकारीले भन्नुभयो, “चन्दादाता, भक्तजनलाई झुक्काएर उठाएको पैसाको समेत सदुपयोग भएको छैन । धर्मका नाममा ब्रम्हलुट भयाे । “

रामनदी धाम राम्दीमा गुरुयोजना अनुसारका भौतिक संरचना निर्माण गर्ने, व्यवस्थित मसान घाट निर्माण गर्ने, नुहाउने घाट, आयुर्वेदिक औषधालय निर्माण, विज्ञान अध्ययनका लागि पुस्तकालय स्थापना, पुष्पबाटिका, गौशाला निर्माण, दिनदुखीको लागि अन्न क्षेत्र निर्माण लगाएका काम गर्ने भनेर महायज्ञ गरिएको थियो । महायज्ञमा १ करोड ६६ लाख ४० हजार २ सय ४३ रुपैंया उठेकाे बताएकाे तर अहिले आयोजकले नै नदेखिनु चिन्ताजनक विषय हाे  बोधराज भण्डारीले भन्नुभयाे । भण्डारीले  आफूहरुले स्थानीय वडा कार्यालय, नगरपालिकाको न्यायिक समिति, जिल्ला प्रहरी कार्यालय समेतमा उजुरी दिएको भए तापनि कुनै सुनुवाइ नभएकोले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु परेको बताउनुभयो । धर्मालम्बीहरूले आफ्नो गास कटाएर भएपनि धामको विकासको लागि  दान गरे । चन्दा संकलन गर्यौं तर धर्मको नाममा व्यापार र लुट भएकाले हामीले विरोध गरेका हौं ठानेश्वर भट्टराईले भन्नुभयो। पण्डित दिनबन्दु पोखरेल बाचक रहेकाे त्याे महायज्ञ संचालन समितिका अध्यक्ष दिलिप प्रताप खाँड रहनुभएको थियो । उहाँ हाल वालिंग नगरपालिकाको प्रमुख समेत हुनुहुन्छ ।

पैसा संकलन गर्नको लागि महायज्ञ गर्नेहरुको लहर नै चलेको छ । सार्वजनिक विद्यालय, मठ मन्दिर, पर्यटन विकास, भौतिक विकास, प्राविधिक शिक्षालय, शैक्षिक विकास आदिका नाममा धार्मिक महायज्ञ भनेर विभिन्न उद्देश्य राख्ने र चन्दादाताहरुलाई विभिन्न प्रलोभन पारेर रकम असुल गर्ने गरिन्छ । चन्दादाताहरुबाट उठाइएको रकमको सहि रुपमा सदुपयोग हुन सकेको छैन ।महायज्ञका नाममा जाे काेहीले पनि चन्दा संकलन गर्ने र खर्च गर्ने प्रवृति निरूत्साहित गर्न स्थानीय सरकार र  स्थानीय प्रशासनले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।