राष्ट्रिय धान दिवसमा रोपाइँ उत्सव !
कृषि ज्ञान केन्द्र पाल्पा र तानसेन नगरपालिकाको आयोजनामा माडीफाँट दमकडामा राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव सम्पन्न भएको छ ।
कृषि सेवा केन्द्र दमकडाको व्यवस्थापनमा भएको कार्यक्रममा रोपारीहरूबीच छिटो रोप्ने प्रतियोगिता र महिला पुरूष हिले दौड प्रतियोगिता भएको छ । स्थानीय कृषकहरूले वाली र असारे गीत पनि घन्काएका थिए । पञ्चेबाजाको तालमा रोपाहारहरूले नाच्दै धान रोपेको दृष्य हेर्नलायक थियोे । प्रतियोगिताका बिजेता प्रथम, द्वितीय, तृतीय र शान्त्वना हुनेलाई कृषि यन्त्र पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवाली गैरे, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द मणि त्रिपाठी, सुन्तला जात फलफूल विकास केन्द्रका प्रमुख जोगेन्द्र कान्दु, तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्याल लगायतले धान दिवस मनाइरहँदा किसानको समस्याका विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो । यस वर्षको धान दिवसको नारा “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” रहेको छ ।
राष्ट्रिय धान दिवसमा कृषक सम्मान
पाल्पा जिल्लाभित्र कृषिलाई मुख्य पेशा बनाएका रैनादेवी छहरा ४ अम्लाबासका दुर्गा प्रसाद कोइराला (सुन्तला नर्सरी), बगनासकाली ८ का झबिन्द्र बस्याल (पुष्प खेती), तानसेन ७ का महेश्वर पन्त (फलफूल खेती; आँप र लिची विशेष) उत्कृष्ट कृषकका रूपमा र तानसेन ८ का उमानाथ घिमिरे (कन्ये/सिताके च्याउ) सर्वोत्कृष्ट किसानका रूपमा सम्मान गरिएको छ । सर्वोकृष्ट कृषकलाई नगद १० हजार र उत्कृष्टहरूलाई नगद ५ हजार रूपैयाँ र प्रशंसापत्र सहित सम्मान गरिएको हो ।