राहत वितरणमा खट्दै रिब्दीकोट

विजयकुमार बौडेल 
चैत २३ – कोरोना भाईरसकोको सम्भावित संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई रिब्दीकोट गाउँपालिकाले राहत वितरण गरेको छ ।

अति बिपन्न परिवारलाई गाउँपालिकाको निर्णयानुसार वडा स्तरीय राहत सिफारिस समितिको सिफारिस बमोजिम वडा नं ३ का २० घर परिवारलाई प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन राहत स्वरूप उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।

राहत प्राप्त गर्ने वडा नं. ३ खस्यौलीका सन्त बहादुर बिकले राहत सामग्री उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै केही दिनलाइ राहत भएको बताउनुभयो । त्यसैगरी राहत बुझ्दै माया सुनारले आफ्ना पति मृगौला पिडित भै घरमै बिरामी अवस्थामा रहेको र ५ जनाको परिवार आफूले नै ज्याला मजदुरी गरि गुजारा चलाउदै आएकोमा खर्च जुटाउन समस्या परेको र गाउपालिकाले खाद्यान्न राहत उपलब्ध गराउदा दुखीका लागि पनि सरकार रहेछ भन्ने महसुस भएको बताउनु भयो ।

स्थानिय तहहरुले दैनिक ज्यालादारी गरि काम गर्ने मजदुर परिवारलाई खाद्यान्न, दाल, तेल, नुन लगाएतका सामग्री वितरण गरेपछी विपन्न परिवारको चुलो सहज रुपमा बलेको छ । रिब्दीकोट गाउँपालिकाले सबै वडाका विपन्नहरुलाई राहत वितरण गरिसकेको प्रमुख प्रसासकिय अधिकृत रिषीराम अर्जेलले बताउनुभयो ।

वडा स्तरिय सिफारिस समितिले छनोट गरे बमोजिम वडा नं १ का ३० जना, वडा नं २ का २५ जना, वडा नं ३ का २० जना, वडा नं ४ का २६ जना, वडा नं ५ का २६ जना, वडा नं ६ का ३० जना, वडा नं ७ का २० जना र वडा नं ८ का ३१ जना गरि जम्मा २ सय ८ जना बिपन्न परिवारलाई पहिलो चरणमा राहत प्राप्त गरेका छन् ।