पाल्पा । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको सातौं गाउँसभामा अध्यक्ष नारायण बहादुर जिसीले पेश गर्नुभएकाे आर्थिक वर्ष २०७७।०७८ काे वार्षिक नीति तथा कार्यक्रम पारित भएकाे छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकाभित्रका जनताको आर्थिक विकास, कृषि र पशुपालन विस्तार भन्ने मुल नारा अनुरुप कृषि र पशुपालनको क्षेत्रमा लगानी अभिवृद्धि गरी थप विकास, विस्तार र प्रवद्र्धन गर्ने बताउनुभयाे । नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष जीसीले दुधमा दिइदै आएको उत्पादनमा आधारित नगद अनुदान आगामी वर्षदेखि सुन्तला, कागतीलगायत अन्य कृषिजन्य उत्पादनमा समेत प्रदान गरिने नीति बनाइएकाे बताउनुभयाे । रिब्दीकोट गाउँपालिकाले विदेशबाट फर्किएका युवा जनशक्तिलाई कृषि तथा पशुपालनमा आकर्षित गर्न एक कोष स्थापना गरी सोही कोष मार्फत सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने जनाएको छ ।
कोरोना महामारीले निम्त्याएको संकट र चुनौतीलाई सामना गर्न भारतलगायत अन्य मुलुकबाट आफ्नो जन्मथलो फर्किएका नागरिकहरुलाई स्वरोजगार बनाउने, गाउँमै टिकाउने, कृषि र पशुपालन क्षेत्रको विकास एवं विस्तार गर्ने र उद्यमशीलता विकास गर्ने कुरामा प्राथमिकता दिएकाे नीति तथा कार्यक्रम प्रस्तुत भएकाे छ । विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएकाे हाे ।
गाउँपालिकाले विदेशबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गर्दै मागमा आधारित साना उद्योग संचालन गर्न प्रस्ताव आव्हान गरी विशेष सहुलियत प्रदान गर्नेछ । भैरवनाथ मन्दिर र रिब्दीकोट जलेश्वरको एकीकृत विकास गर्न तथा विद्यमान पर्यटकीय स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्दे थप पर्यटकीय स्थलहरुको पहिचान मार्फत पर्यटन विकास गर्ने उद्धेश्यले एकीकृत पर्यटन गुरुयोजनाको निर्माण गर्ने, र होमस्टे संचालन गर्ने जनाएको छ ।
सामाजिक र शिक्षा क्षेत्रको विकासका लागि विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आगामी आ.व.देखि विद्यालय व्यवस्थापन समिति, प्र.अ. र गाउँपालिकाबीच त्रिपक्षीय कार्यसम्पादन करार गर्ने, माध्यामिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला तथा सबै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी र शौचालयको पहुँच सुनिश्चित गरिनेछ । गाउँपालिकाले “एक घर एक धाराको”नीतलाई पूर्णता दिन खानेपानीका निर्माणाधिन आयोजनाहरुलाई आगामी वर्षभित्रै सम्पन्न गर्ने, खानेपानीको उचित उपयोग र सबैमा पहुँच कायम गर्न अनिवार्य मिटर जडान गर्नु पर्ने व्यवस्था लागू गरी मिटर खरीदमा सहुलियत उपलब्ध गराउने नीति लिएको छ । आगामी वर्षदेखि सडकको नयाँ ट्रयाक नखोल्ने नीति अंगीकार गर्दै अधुरा सडक सम्पन्न गर्ने र पुराना सडकको स्तरोन्नति र मर्मतमा जोड दिने अध्यक्ष जीसीले बताउनुभयो । उहाँले हार्थोक–छहरा सडक स्तरोन्नति एवं कालोपत्रेका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो ।
गाउँपालिकाले मितव्ययिता र पारदर्शितालाई मूलमन्त्र बनाउँदै वित्तीय अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त र पारदर्शी बनाउने, अत्यावश्यक र उपलब्धिमुलक तालिम, गोष्ठी, कार्यक्रमहरु मात्र संचालन गर्ने र त्यस्ता कार्यक्रमहरु संचालन गर्दामितव्ययिता अपाउने नीतिलाई प्राथमिकता दिने जनाएको छ । कोरोना भाइरसको महामारीका कारण गाउँपालिकाको आर्थिक सामाजिक विकासमा पुगेको क्षतिलाई मध्यनजर गरी आन्तरिक रोजगारी सृजना, कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार एवं उद्यमशीलता प्रवद्र्धन गर्ने तर्फ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केन्द्रित रहेको गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताउनुभयो ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यापालिका सदस्यहरुको राय, सुझाव र प्रतिक्रिया सहित पास भएकाे प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताउनुभयो । नीति तथा कार्यक्रमका आधारमा असार १० गते वार्षिक बजेट सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।