रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा

विमला ज्ञवाली –
१६ माघ – रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले आउँदो आर्थिक बर्ष सम्म गाउँपालिकाका सबै घरमा एक घर एक धारा पुर्याउने बताउनुभएको छ ।

वडा नं. ७ मा सञ्चालित खानेपानी योजनाको अनुगमन गर्दै अध्यक्ष जिसीले एक करोड रुपैंयाको लगानीमा सञ्चालित योजना सञ्चालन गर्न वडालाई प्राथमिकता दिएको बताउनुभयो । अध्यक्ष जिसीले पालुङमैनादीमा भएका योजनामा जनसहभागीता राम्रो देखिएको बताउनुभयो ।

अनुगमन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले योजना सम्पन्न गराउन स्थानिय नागरिकहरुले सक्रिय रुपमा जनश्रमदान गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उपाध्यक्ष खनालले सबै योजनाका उपभोक्ताहरुले आफ्नै लागी आएको योजना सम्पन्न बनाएर त्यसको संरक्षण समेत गर्नुपर्ने जिम्मेवारी हुने बताउनुभयो ।

वडा नं. ७ पालुङमैनादीका वडाध्यक्ष निल बहादुर रास्कोटीले खानेपानीका लागी स्थानियले धेरै दुख पाएको भन्दै अव त्यो समस्या टरेको बताउनुभयो । वडाध्यक्ष रास्कोटीले स्थानिय तहले नागरिकका आधारभुत आवश्यकताहरु पुरा गर्न योजना बनाएर काम गरिरहेको बताउनुभयो ।
घरघरमै खानेपानी आउने भएपछी पालुङमैनादीका नागरिकहरु खुसी छन् ।

टाढाटाढा बाट खानेपानी बोक्नुपर्ने समस्या टरेको भन्दै स्थानियहरुले समयको बचत समेत हुने भएकाले स्थानिय तहलाई धन्यवाद समेत दिएका छन् ।