लकडाउनको खाली समय कृषी कार्यमा बिताउँदै बन्दिपोखराका यूवा


गुणवती केसी
चैत २१ – सरकारले लकडाउन लागु गरेपछी खाली समयको सदुपयोग गर्दै तानसेन ११ बन्दिपोखराका यूवाहरु कृषी तथा सामाजिक कार्यतर्फ व्यस्त हुन थालेका छन् ।

कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले लकडाउन लागु गरेपछी विभिन्न पेशा व्यवसाय तथा अध्ययन गर्न घरबाहिर बसेका युवाहरु कृषी तथा सामाजिक कार्यतर्फ व्यस्त हुन थालेका हुन् । सरकारले लागु गरेको लकडाउनको समयमा जथाभावी हिंडडुल गर्न र जमघट नगरि आआफ्नै खेतबारीमा कृषी कार्यमा जुटेका छन् ।

बन्दिपोखराको भालुबन, जुकिया, तिलाहार, काभ्रे, कुरुङखोला, बाँझालगायत सबै टोल टोलहरुमा मौसमी तथा बेमौसमी तरकारीका बीउ रोप्ने, कृषि तथा फलफूल उत्पादनका कार्य गर्ने, सामाजिक सम्पदाहरु सरसफाइ गर्ने, कोरोना भाइरसबारे सतर्कता अपनाउनेबारे सबै नागरिकलाई जानकारी गराउने जस्ता कामहरुमा कृयाशिल भएको युवा सञ्जाल अध्यक्ष लिलाबहादुर खातिले बताउनुभयो ।

त्यस्तै सप्तरङगी युवा क्लब बाँझाका युवाहरुले पनि बिध्यालय परिसर, सिँचाइ गर्ने कुलो, खानेपानी ट्याङकी, पानीको मुहान, मन्दिर परिसर जस्ता सामाजिक सम्पदाहरु सरसफाइ गरेको क्लबका अध्यक्ष तिलक गोदारले बताउनुभयो ।
लकडाउनको समयपछि विभिन्न शहरहरुमा अध्ययन तथा अन्य कामकाजले बसोबास गरेका नागरिकहरु गाउँघर फर्केपछि गाउँघरको बसाई, रहनसहन र सद्भाव अझै रमाइलो र सुरक्षित भैरहेको वडा प्रतिनिधि चुराबहादुर गोदारले बताउनुभयो ।

तस्विर : गुगल