पाल्पा- डिभिजन वन कार्यालयले पाल्पा जिल्लामा वन अतिक्रमण गरेका घर टहरा हटाएको छ ।
तिनाउँ गाउँपालिका-१, कचल स्थित सानीउदाङमा वन अतिक्रमण गरी घर टहरा छाप्रो समेत बनाएर वनक्षेत्रको जग्गा खनजोत समेत गरिएको अवस्थामा फेला पारेपछि घरछाप्रो समेत जलाइ नस्ट गरिएको छ । डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले तिनाउ- १ का वडा अध्यक्ष, स्थानीय सिद्धचुहार सामुदायिक वन उपभोक्ता समूह र ठुली उदाङ्ग टोल विकास संस्थाको रोहवरमा उक्त अतिक्रमण नियन्त्रणमा लिइ घरछाप्रो हटाइ अतिक्रमित वनक्षेत्र बरामद गरिएको बताउनुभयो । राष्ट्रिय वनको करिब १ हेक्टर जग्गा कब्जा गरी फिल्ड समेत तयार गरिएको अवस्थामा स्थानीय समुदायले गरेकाे अतिक्रमण हटाइएको हो ।
डिभिजन वन अधिकृत माेहन पाैडेलले वन क्षेत्रमा अतिक्रमण भएकाे समुदायकाे गुनासाेकाे आधारमा वन कार्यालयले अभियान सञ्चालन नै गरेर कारवाही सुरु गरिएकाे बताउनुभयाे । पाल्पामा पश्चिम भेगमा रहेका सत्यवती बल्ढेगढी लगायतका क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर टहराहरु बनाउने र हड्प्ने क्रम बढी रहेकाे छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख पाैडेलका अनुसार सामुदायिक वा सरकारी वन अतिक्रमण चाेरी तस्करी विरुद्ध कार्यालयले गस्ति अभियान नै सुरु गरेकाे जानकारी दिनुभयाे ।
सहायक वन अधिकृतद्वय बेद प्रसाद भण्डारी र रामध्यान कुमार शाहको नेतृत्वमा डिभिजन वन कार्यालय, तिनाउ सब डिभिजन वन कार्यालय र रैनादेबी छहरा सब डिभिजन वन कार्यालयका कर्मचारीहरुको संयुक्त गस्ती टोलिले उक्त क्षेत्रमा वन अतिक्रमण गरेर बनाएका घर टहराहरु नष्ट गरेकाे हाे ।