
विजयकुमार बौडेल –
बोली । ३० बैसाख – नेकपा पाल्पाले १४५ सदस्यिय जिल्ला समितिको टुङ्गो लगाएपनी कार्यकर्ता पङ्तिले भने अनुभवी र सक्रिय युवाहरु छुटेको गुनासो गरेका छन् ।
लामो समयको छलफल र अन्र्तक्रिया पछी जिल्ला समितिको टुङ्गो लगाएकोमा धन्यवाद दिँदै युवा नेताहरुले छुटेका थप केही युवाहरु समितिमा आउनुपर्ने बताएका छन् । केही दिन अघि नेकपा पाल्पाको अध्यक्षमा प्रदेश सांसद नारायण आचार्य र सचिवमा गिर बहादुर थापा मनोनित हुनुभएको थियो । त्यसपछी नेकपा पाल्पाले साविक माओवादी र एमालेका विभिन्न पक्ष संग छलफल र अन्र्तक्रिया गर्दै आएको भएपनी धेरै युवाहरु समेटिन नसक्नु दुखद भएको युवा नेताहरुको भनाई छ ।
नेकपाका नेता तथा संघिय सांसद सोम प्रसाद पाण्डेयले जागरूक, सशक्त, सचेत, देशभक्त र गतिशील युवा जमातको खाँचो भएको भन्दै छुटेका युवाहरुलाई विभिन्न जिम्मेवारी दिएर सक्रिय बनाईने बताउनुभयो । नेता पाण्डेयले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रणी युवा शक्ति नै भएको बताउँदै देशमा भएका ठूल्ठूला परिवर्तनहरूमा तिनै साहसी र सचेत युवाकै संलग्नता रहेको कुरा नेकपाले कहिल्यै नविर्सने बताउनुभयो । हरेक सङ्घर्षका अग्रीम मोर्चामा उच्च साहस र बलिदानी भावका साथ अग्रसर युवाहरूलाई अन्य दलले जस्तो बैशाखी मात्र बनाउने सोंच नेकपामा नरहेको नेता पाण्डेले बताउनुभयो ।
नेकपा पाल्पाका युवा नेता गुरास आत्रेयले सिंगो समितिमा युवाहरुको सङ्ख्या धेरै भएपनी जिल्लामा सक्रिय अझै धेरै युवाहरु समितिमा छुटेको बताउनुभयो । नेता आत्रेयले जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक तथा वर्गीय उत्पीडनबाट मुलुकलाई मुक्त पार्न नवीन सोच र उत्साह बोकेका युवाहरूको जरूरत पर्ने बताउँदै नयाँ सोच, संस्कार, चेतना र संस्कृतिको उपयुक्त फ्युजनबाट मात्र समाज परिवर्तनको ढोका खोल्न सकिने बताउनुभयो ।
नेकपाका जिल्ला नेता तुल बहादुर अधिकारीले लामो समय देखी छलफल र अन्र्तक्रिया गरेर समितिको टुङ्गो लगाएकोमा नेतृत्वलाई धन्यवाद व्यक्त गर्दै नागरिकको पक्षमा काम गर्ने समिति बनेको बताउनुभयो । नेता अधिकारीले निराश भएका युवालाई भविष्यप्रति आशा जगाउने वातावरण, सीप सिकाइको अवसर, पेसा, व्यवसाय सञ्चालनका लागि आर्थिक सहायता, सामूहिक कार्यवातावरणको सिर्जना, युवा वर्गको क्षमताको उपयोग, क्षमता र दक्षता अभिवृद्धि, रूचिअनुसारको कार्यअवसर तथा लगानीको वातावरण निर्माण गरेर युवालाई राष्ट्रको विकासमा प्रयोग गर्नुपर्छ ।
समितिमा महिलाहरुको सङ्ख्या त कम छ नै । युवा महिलाहरुको सङ्ख्या भने अझै कम देखिन्छ । अन्य राजनैतिक दलहरुको तुलनामा भन्दा धेरै युवाहरुलाई जिल्ला समितिमा समावेश गरिए पनी सन्तुष्ट हुने अवस्था भने नभएको युवा नेताहरुको गुनासो छ ।