विजयकुमार बौडेल
चैत २३ – सामुदायिक रेडियो मदनपोखरा २२ औँ वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसरमा सामुदायिक रेडियो मदनपोखराले विश्वभरी महामारी फैलाएको कोरोना भाइरस संक्रमण, रोकथाम र नियन्त्रण गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिने बताएको छ । सारेमले आज रेडियोमा कोरोना संक्रमण र नागरिक स्वास्थ्य सुरक्षा विषयक परिसंवाद कार्यक्रम सञ्चालन गरेको छ ।
प्रदेशसभा सदस्य नारायण प्रसाद आचार्यले ग्रामीण क्षेत्रका जनतामा सूचनाको पहुँच पु¥याएर सुसूचित, शिक्षित र दीक्षित बनाउने जस्तो महत्वपूर्ण कार्य गरेकोमा सामुदायिक रेडियो मदनपोखरालाई बधाई तथा शुभकामना दिनुभयो ।
मूलुक संघीय गणतन्त्र नेपालमा प्रवेश गरेपछि शासकीय संरचनामा आएको परिवर्तन, बजार र मिडिया प्रविधिको अकल्पनीय विकासले सामुदायिक सञ्चार माध्यममा अनेक खालका चुनौतीहरु पनि थपिएको र मदनपोखरा जस्ता सञ्चार संस्थाले त्यस्ता चुनौतीको सामना गर्न सक्ने विश्वास प्रदेशसभा सदस्य आचार्यले व्यक्त गर्नुभयो ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले गरेर खाने श्रमजीवी वर्गको पनि सञ्चार माध्यममा पहुँच छ भन्ने मान्यता रेडियो मदनपोखराले स्थापित गरेको बताउनुभयो ।
कोरोना भाइरसका कारण विश्वभर एकान्तबास चलिरहेको र नेपाल सरकारले आवागमन निषेध गरेको समयमा पनि महामारीकै विषयमा छलफल चलाएर नागरिकलाई जानकारी दिएकोमा नगरपालिका प्रमुख शाहीले रेडियोको प्रशंसा गर्नुभयो ।
युनाइटेड मिसन अस्पतालका जनरल प्राक्टिसनर डा. लेस डोरननले कोरोना संक्रमित नेपालमा थोरै रहेको र जाँच पनि कम नै भएको बताउनुभयो । डा. डोरननले बाहिरबाट आएका र घर बाहिरका व्यक्तिसंग सम्पर्क नभएका एकै परिवारका सदस्य संग डराउनु नपर्ने बताउनुभयो ।
दुई दशकदेखि आफू नेपालमै रहेको उल्लेख गर्दै डा. डोरननले भन्नुभयो, ‘स्वास्थ्य सल्लाह, स्वास्थ्य सचेतना र स्वास्थ्य प्रति नागरिकको जागरुकता बढाउन सामुदायिक रेडियो मदनपोखराले खेलको भूमिकाको सबैले कदर गर्नुपर्ने बताउनुभयो ।
कोरोना संक्रमणको सम्भावना, रोकथाम र उपचारका लागि आवश्यक पूर्व तयारी र राहत वितरणलगायतका विषयमा प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र युनाइटेड मिसन अस्पतालका डा. लेस डोरनन संग करिव एक घण्टा छलफल रेडियोले लाइभ प्रसारण गरेको थियो ।
समुदायलाई सूचनाको मालिक बनाऔँ भन्ने अभियानका साथ २०५६ साल चैत्र २३ गते सामुदायिक रेडियो मदनपोखराले प्रसारण आरम्भ गरेको थियो । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक २०५५ साल पौष १८ गते रेडियो सञ्चालनको इजाजत पाएको यस रेडियोले ज्ञान, सूचना, शिक्षा र मनोरञ्जन मार्फत स्थानीय समुदायको सशक्तीकरणमा जोड दिदैँ आएको छ ।
सामुदायिक रेडियोको विशेषता भनेकै समुदायको सहभागिता, सञ्चालन र व्यवस्थापनमा चल्ने रेडियो हो भन्ने दृष्टान्त दिन रेडियो मदनपोखरा सफल भएको छ ।
बाइसौँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिदैँ सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जीसीले समाजलाई समुदायवाद हुँदै समाजवादमा अग्रसर गराउन यो रेडियोले खेलेको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि निर्भय र निर्भिकताका साथ रेडियो कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने अध्यक्ष जीसीको भनाई थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य बीरबहादुर राना, प्रेस काउन्सिल नेपालका अध्यक्षकिशोर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, व्यापार संघका अध्यक्ष चिरिञ्जिीवी पोखरेललगायत नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवीहरुले रेडियोको दीगोपनको कामना गर्दै शुभकामना दिएका छन् ।
सामुदायिक रेडियो मदनपोखराका स्टेशनप्रबन्धक राजेशकुमार अर्यालले लकडाउनको अवधिमा सुरक्षित रहेर सूचना प्रवाहको कार्यलाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चार प्रविधिमा आएको इन्टरनेट, टेलिफोन, सामाजिक सञ्जालको उपयोग गरेर नागरिकलाई कोरोनाका बारेमा सही सूचना दिनु हाम्रो कत्र्तव्य हो ।’ स्थापनाकालमा भौगोलिक विकटता, यातायातको असुविधा र आधुनिक सञ्चार सुविधाको अभावले ग्रामीण भेगमा ताजा समाचार पु¥याउने काम आज जस्तो सजिलो थिएन । तर पनि पैदल हिंडेर नागरिकको घर पुग्ने, आवाज संकलन गर्ने, रेडियोमा फर्केर लेखन, सम्पादन गरी प्रसारण योग्य सामग्री निर्माण गर्न धेरै चरणहरु पार गर्नुपर्दथ्यो ।
लकडाउनको पालना गर्दै सारेमले आज दिनभर स्टुडियोबाटै विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।