
विजयकुमार बौडेल –
बोली । १८ बैसाख – दैनिक १२ घण्टा भन्दा धेरै समय काम गर्ने वास्तविक श्रमिकहरुले पत्तो नपाईकन अन्तराष्ट्रिय श्रमिक दिवस सम्पन्न भएको छ ।
औपचारिक रुपमै विदा दिई सरकारी तथा गैह्रसरकारी संस्थाहरुले रकम खर्चेर औपचारिक तथा अनौपचारिक कार्यक्रम गरेर श्रमिक दिवस मनाएका छन् तर वास्तविक श्रमिकहरुलाई श्रमिक दिवसको पत्तो छैन् । हिँजो बिहानै हातमा नाम्लो लिएर भारी बोक्न पाईन्छ कि भनेर तानसेन बसपार्क आईपुग्नुभएका मान बहादुर विकले भन्नुभयो :–“बजार नै सुनसान छ, भारी बोक्न पनी पाईएन । खै के को बन्द छ रे । सरकारी कार्यालय नखुल्दा बजारमा मान्छे नै आउन्नन् ।” मलिनो हुँदै विकले भन्नुभयो :–“भारी बोकाउने साहु पाईएन भने साँझ घरका चिचिलालाई खै के खुवाउने हो ।”
तर प्रमुख राजनीतिक दल सम्बद्ध मजदूर संगठनहरुले भने सदरमुकाममा अलग अलग सभा, भाषणबाजी र गोष्ठी गरि अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन् ।
नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेसले भिन्ना भिन्नै कार्यक्रम गरी १ सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका हुन् । सदरमुकाममा श्रमिक दिवस मनाउनेहरुमा अधिकांश व्यक्ति व्यापारी र राजनैतिक दलका नेताहरु छन् ।
उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिकको सूचिकरणलाई कडाईका साथ अघि बढाउन पनि सरकारले मजदूरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ । तर मासिक ८/१० हजार समेत नकमाउने श्रमिकहरुलाई श्रमिक दिवसको बारेमा थाहा नै छैन ।
ज्यालामजदुरी गरेरै ५ जनाको परिवार जेनतेन पालिरहेका तानसेन ९ का पुर्ण बहादुर रुचालले भन्नुभयो :–“जे जे दिवस भएपनी काममा नगई साँझ खान छैन । दुखीका दिन कहिले सकिएला र खै ?” निन्याउरो हुँदै रुचालले भन्नुभयो :–“जुन सरकार आएपनी हामीलाई सधै उस्तै । हाडछाला नघोंटी हातमुख जोर्न पुग्दैन ।”
विश्वका मजदुरले यो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् तर नेपालमा रोजगारदाता, उद्योगी, व्यापारी र राजनैतिक दलका नेताहरुलाई मात्र श्रमिक दिवस लागेको छ ।
सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत आर्थिक सहायता प्राप्त गर्ने गरि कार्यक्रम अघी सारेको छ । तर ५ नं. प्रदेशका १ प्रतिशत भन्दा कम रोजगारदाताले मात्र सामाजिक सुरक्षा योजनामा आफ्नो संस्थालाई प्रक्रियामा लगेका छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि विश्व मजदूर दिवस मनाउन थालिएको थियो । तर अझैपनी नेपालमा श्रमिकहरुको अवस्था दयनिय रहेको छ । शिक्षा, स्वास्थ्य, आवास लगाएतका विषयमा श्रमिकहरुको अवस्था नाजुक छ ।