
पाल्पा । प्रायः सरकारी विद्यालयमा श्रीपञ्चमीका दिन विद्यालय बन्द हुने गर्दछन् । तर दमकडा नमूना माध्यमिक विद्यालय पाल्पाले भने सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ ।
विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आरधना गर्दै नयाँ बालबालिकालाई विद्यालयले अक्षरारम्भ गराएको हो । तीन वर्ष पुग नपुग उमेरका बालबालिकालाई कापी, पाटी र ल्यावटवमा लेख्न सिकाएर अक्षरारम्भ गराइएको विद्यालयका प्राथमिक तह संयोजक जीवन आचार्यले बताउनुभयो । श्रीपञ्चमीका दिन विद्यालय आउन सुरु गरेका साना बालबालिकालाई अक्षरारम्भ गराउने प्रचलन रहेको छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहिआएको छ ।
दमकडा माध्यमिक विद्यालयले मन्टेश्वरी कक्षामा भर्ना हुन आएका करिव २५ जना बालबालिकालाई ठूलो वर्णमाला, कापी, कलम, झोला र टिफिन बक्स प्रदान गरेको छ । समारोहका प्रमुख अतिथि शिक्षाविद् राधाकृष्ण शर्माले श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर विद्यालयले सबै अभिभावकको प्रशंसा पाएको बताउनुभयो ।

शिक्षा, संस्कार र संस्कृति हरेक नागरिकले सिक्नै पर्नै कुरा हुन्, यस्ता कुरा घर र विद्यालयबाट सिकाउनुपर्ने उहाँको जोड छ । पूर्व प्रधानाध्यापकसमेत रहनुभएका शर्माले भन्नुभयो, ‘कक्षा सुरुवातकै दिन नयाँ प्रविधिसँग परिचित हुन पाउनु र विद्यार्थीको प्रवेशलाई विद्यालयले उत्सव मनाउने प्रचलनले खुशी तुल्याएको छ ।’ कार्यक्रममा अभिभावक भगवती पराजुलीले सामुदायिक विद्यालयले सरस्वती पूजाको दिन यस्तो राम्रो कार्यक्रम गरेकोमा विद्यालयलाई धन्यवाद दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले विद्यालयको ६३ वर्षको इतिहासलाई अझ चम्किलो बनाउन अक्षरारम्भ कार्यक्रम सुरु गरिएको बताउनुभयो । आधारभूत तहबाटै सिकाई उपलब्धी बढाउन यो वर्षदेखि मन्टेश्वरी विधीबाट पठनपाठन सुरु गरिएको र गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बढाउने प्रधानाध्यापक सापकोटाले बताउनुभयो । स्मरण रहोस्, दमकडाले मन्टेश्वरी कक्षाका लागि मन्टेश्वरी शिक्षकको व्यवस्था गरेको छ ।
यहाँ दृष्टिविहीन बालबालिकाले ब्रेल लिपीमा पठनपाठन गर्नुका साथै विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ विषयका कक्षा समेत सञ्चालन हुँदै आएको छ ।