विजयकुमार बौडेल
चैत २४ – कोरोना भाईरस संक्रमणको त्रासले सरकारले लकडाउन लागु गरेपछी अहिले सम्म यूनाइटेड मिसन अस्पताल तानसेनले ३ हजार ७ सय २ जनाको उपचार गरेको छ ।
बहिरंग र आकस्मिक सेवातर्फ ३ हजार २ सय २५ जनाको उपचार गरेको युनाईटेड मिसन अस्पताल तानसेनले जनाएको छ । त्यस्तै अन्तरंग तर्फ ४ सय ४ जना भर्ना गरेर उपचार गरेको छ । जसमध्ये अहिले ९१ जना भर्ना भई उपचार गराईरहेका छन् । मिसन अस्पतालले निमोनिया भएको थप एक जनाको उपचार गरि डिस्चार्ज गरिसकेको छ ।
कोरोना भाईरसको संक्रमणका बेला जोखिम मोलेर सेवा गर्ने मिसन अस्पताललाई विरामीहरुले धन्यवाद दिएका छन् । तानसेन नगरपालिका वडा नं. ३ की शान्ति बस्यालले धेरै निजी क्लिनिकहरु संकटको बेला बन्द गरेर जिम्मेवारी बाट पन्छिएको भन्दै जिम्मेवारी बोध गर्ने मिसन अस्पताललाई धन्यवाद दिनुभयो ।
“अस्पताल भनेकै दुख पर्दा चाहिने त हो नी ।” बस्यालले भन्नुभयो । “दुखको बेला भाग्ने र सजिलो अवस्थामा पैसा कुम्ल्याउनेलाई कसरी अस्पताल भन्नु ?” जस्तोसुकै परिस्थितमा पनी नागरिकहरुको स्वास्थ्यको ख्याल गर्ने अस्पतालको सबैले प्रशंसा गर्ने बस्यालको भनाई थियो ।
जिल्ला प्रशाशन कार्यालय पाल्पाले सबै अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्न निर्देशन गरेपछी युनाईटेड मिसन अस्पतालले पनी ज्वरो क्लिनिक सञ्चालन गरेको थियो । ज्वरो क्लिनिकमा ७२ जनाको उपचार गरि पठाईएको अस्पतालका प्रसासकिय अधिकृत तथा सुचना अधिकारी जिवन भट्टराईले जानकारी दिनुभयो ।
मिसन अस्पतालले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित तरिकाले रहन अनुरोध गर्दै थप विरामीहरुको सेवा गर्न अनुरोध गरेको छ ।