सञ्चारविज्ञ कसजूको वार्षिकीमा स्मृतिसभा, तीन वटा कृतिको विमोचन

पाल्पा । सञ्चार विज्ञ तथा साहित्यकार विनय कुमार कसजूको वार्षिक तीथिका अवसरमा आज वेभिनारमा स्मृतिसभा सम्पन्न भएको छ ।

स्मृतिसभाका प्रमुख अतिथि बालसाहित्यकार शान्तदास मानन्धरले नेपाली जनतालाई सुसूचित गर्ने, चेतनाको विकास गराउने र ज्ञानको संस्कार बसाल्ने काममा कसजूले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । बालबालिका र युवा पुस्तालाई सिर्जनशील बनाउन सधै उत्प्रेरित गर्ने कसजूलाई सञ्चार, पत्रकारिता र साहित्यको क्षेत्रबाट अध्ययन गर्न सकिने साहित्यकार मानन्धरको जोड थियो ।

बालवाङमय तथा अनुसन्धान केन्द्र तथा कसजू परिवारले जुममा आयोजना गरेको स्मृतिसभाका सहभागीहरुले विनयकुमार कसजू नेपाली समाजको विनयशील विद्वान व्यक्तित्व भएको विचार व्यक्त गरेका छन् । स्मृतिसभामा विनय कसजूका लघुकथाः सिर्जना र विवेचना, स्मृतिमा विनय कसजू र विनयशील विनय तीन वटा कृति विमोचन गरिएको छ । तीन कृतिहरु समालोचना, जीवनी र संस्मरण रहेका छन् । कृतिहरुको समीक्षा गर्दै साहित्यकार हरि भण्डारीले लेखक, साहित्कार र पत्रकारहरुलाई आफू गुरु भूमिकामा रहेर सिर्जनशील लेखनमा प्रेरित गर्ने कसजूको योगदानलाई स्मरण गर्ने कृतिका रुपमा पाएको बताउनुभयो ।

 


कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले विनय कसजूको नेतृत्वमा नेपालमा सूचनाको हकका क्षेत्रमा जे जे काम भएको छ त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके नेपालकै शीर उँचो हुने विचार व्यक्त गर्नुभयो । विद्यार्थीले उत्तर पुस्तिका हेर्न पाउने, कर्मचारीलाई कार्यालय प्रमुखले दिने नम्बर हेर्न पाउने अधिकार, भ्याट बील छली गर्नेको सूची सार्वजिनक गर्न कसजूले दिएको फैसलालाई सूचनाको हकको सन्दर्भमा ठूलो उपलब्धी भएको प्रमुख आयुक्त बास्कोटाको भनाई छ ।

वेभिनारमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, श्रीमति गंगादेवी कसजू, वरिष्ठ पत्रकार मेघराज शर्मा, लालचन्द्र राजभण्डारी, पुष्करराज भट्ट, लक्ष्मण देवकोटा, सुशिला श्रेष्ठलगायतले रिडीमा जोगीसँगको संगत, पाल्पामा पञ्चायत विरुद्धको अभियान, बहुदल आएपछि ग्रामीण सशक्तीकरणका कार्यक्रम र साहित्य र प्रशिक्षक भूमिकामा विनयकसूजको चर्चा गर्नुभयो । २००४ साल भदौमा पाल्पामा जन्मनुभएका कसजूको २०७६ साल मंसिर १० गते काठमाडौँमा निधन भएको थियो ।