पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणलाई जति थोरै संख्यामा सीमितगर्न सक्यो नेपालले महामारीको त्यति नै मात्रामा लडाईं जितेको हुने बताउनुभएको छ ।
सामुदायिक रेडियो मदनपोखराको बाइसौं वर्ष प्रवेशका अवसरमा शुभकामना दिदैँ उहाँले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताउँदै अब जति संख्या सीमित गर्न सक्यौ, त्यति नै छिटो भोलिको नेपाललाई विकास दिन सक्ने बताउनुभएको हो । मन्त्री ज्ञवालीले कोरोना महामारीले सिंगो मानवजाति संकटमा परेको, औषधी उपचार नहुने र अत्यन्त छिटो संक्रमण फैलने समस्या सामना गरिरहेको बताउनुभयो ।
मन्त्री ज्ञवालीले देशलाई अप्ठेरो परेको बेला सञ्चारमाध्यमको ठुलो भुमिका हुने भन्दै त्यो भुमिका रेडियो मदनपोखराले पुरा गरेको बताउनुभयो । कोरोना विरुद्धको लडाईमा नेपालले जित्न सरकारले गरेको लकडाउनको आदेशलाई इमान्दारीपूर्वक पालनागर्न उहाँले आम नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रहगर्नुभएको छ ।
मन्त्री ज्ञवालीले भन्नुभयो, ‘एउटा वडाबाट अर्को वडामा, एउटा पालिकाबाट अर्को पालिकामा, एक प्रदेशबाट अर्को प्रदेशमा आवागमन बन्द गरिएको छ । यो बेला घर भित्र बसिदिनुहोस्, लकडाउनको अधिकतम सदुपयोग गर्नुहोस्’ भन्नुभयो । उहाँले लकडाउनको अवधिमा पनि घर परिवार मिलेर घरकाकाम, खेतीपाती गर्न गर्न मिल्छ । बाहिरका मान्छेसँग टाढा रहेर मात्र दैनिक जीवन चलाउन पर्छ भन्नुभयो ।
सामुदायिक रेडियो मदनपोखराले ग्रामीण समुदायसँग सञ्चार माध्यम जोड्न र समुदायको आवाज नीति निर्माण तहमा पु¥याउन महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले समुदायको साथ समर्थन रह्यो भने सामुदायिक संस्था कसरी सफल हुन्छन् भन्ने मदनपोखरा एउटा प्रमाण हो भन्नुभयो ।
जनताको सुसूचित हुने हकलाई निष्ठापूर्वक कार्यान्वयन गर्न र समाचार र मनोरञ्जनका अतिरिक्त सार्वजनिक मुद्धाहरुमा सारेमले दिएको स्थानको प्रशंसा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले आगामी दिनमा पनि विश्वासिलो र भरपर्दो माध्यम बन्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।