सराई यूवा क्लव तात्यो राहत वितरणमा


माया बस्याल 
चैत १९ – सराई युवा क्लवले माथागढी ३ कसेनीका गरिव तथा श्रमिक परिवारलाई खाद्यान्न तथा तरकारी राहत वितरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बँच्न सरकारले लागु गरेको लकडाउनबाट प्रभावित गरिव तथा मजदुर परिवारलाई राहत वितरण गरेको हो । माथागढी वडा नं. ३ को कार्यालय, सराई युवा क्लव र स्वास्थ्य चौकी कसेनीको सहकार्यमा स्थानिय व्यापारीहरुको सहयोगमा राहत संकलन गरि वितरण गरेको हो ।

गाउँपलिका उपाध्यक्ष निर्मला भट्टराईले स्थानिय तहको तर्फबाट पनि सहयोग ल्याउन पहल चालिएको भन्दै थप सहयोग गर्ने युवा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । माथागढी ३ का अतिविपन्न श्रमजीवी १३० परिवार मध्ये आज ३२ घरपरिवारलाई सामग्री वितरण गरिएको छ । एक परिवारलाई १ किलो दाल, २ किलो आलु, १ पोका नुन, १ पोका तेल, २० किलो चामल, काउली, बन्दा, सोयाविनलगाएतका सामग्री वितरण गरिएको हो ।

दैनिक रुपमा ज्यालादारी गरेर छाक टार्ने परिवारलाई अप्ठेरो नहोस् भनी राहत संकलन र वितरण गरिएको वडाध्यक्ष दिपक थापाले बताउनुभयो । अहिले सम्म जम्मा ६२ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । माथागढी वडा नं. ३ सराईमा ज्यालादारी गरेर गुजारा टार्दै आउनुभएका सिलङ्गीका भिम बहादुर बिकले काम गरिखाने वर्गलाई काम नभएको र छाक टार्न मुस्किल परिरहेको बेलामा स्थानिय यूवा क्लवले राहत वितरण गरेकोमा खुसी लागेको बताउनुभयो ।

सराई युवा क्लवका अध्यक्ष खोमबहादुर गाहाले यूवाहरुले विपत्तीको बेला सहयोग संकलनको कदम चालेको र सबैले साथ दिएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।