सांसद पाण्डेयद्वारा दशैं खर्च काेभिड काेषमा जम्मा

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले दशैं खर्च जिल्ला कोभिड कोषमा जम्मा गरिदिनुभएको छ ।

सांसद पाण्डेयले आज संघीय संसद सचिवालयमा पुगेर दशैं खर्च वापत भनी पठाइएको रकम जिल्ला कोभिड कोषमा पठाउन अनुरोध गरी निवेदन दर्ता गराउनुभएको हो । संसदको लेखा प्रमुखलाई सम्बोधन गरी दर्ता गरेको निवेदनमा उहाँले पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका हैसियतले २०७७ सालमा प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको पीसीआरलगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च गर्ने गरी कोभिड कोषमा पठाइदिने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।

काेराेना संक्रमण फैलिरहेकाे र जनताबाट निर्वाचित प्रतिनिधिले आलाेचना सुनेर बस्न नहुने ठानेर स्वविवेक प्रयाेग गरेर काेभिड काेषमा पठाउने निर्णय लिएकाे सांसद पाण्डेयकाे भनाइ छ । लेखाप्रमुखले निवेदन अनुसार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । संघीय संसद सचिवालयले सांसदहरुको सेवा सुविधासँगै दशैं खर्च पनि वैंक खातामा जम्मा गरेको थियो ।