सिद्धबावा क्षेत्रमा सुरुङ् मार्गकाे टेण्डर आहवान

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डस्थित सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण प्रक्रिया सुरु भएको छ ।

गत वर्ष स्वीस सरकारकाे सहयाेगमा विस्तृत परियाेजना प्रतिवेदन DPR तयार भइ अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भइ लामो समयमा टेण्डर प्रक्रियामा नगएकाे सुरुङ् मार्गकाे आइतबार सडक विभागले  टेण्डर आहवान गरेकाे छ । सिद्धबाबा क्षेत्रमा १ किलोमिटर १ सय मिटर जति खण्डमा सुरुङ् मार्ग बनाउन टेण्डर आह्वान भएको हो । संघीय सरकारअन्तर्गतकाे भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङ निर्माणका लागि ३५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरेको जनाएको छ ।

अर्थ मन्त्रालयले १० अर्ब बजेटको सुनिश्चितता दिएकाले टेण्डर प्रक्रिया अगाडि बढाएको सडक विभागका उपमहानिर्देशक विजय जैसीले बताउनुभयो । ग्लोबल टेन्डरमार्फत पाँच वर्षभित्र काम सक्ने गरेर सूचना प्रकाशित गरिएको छ । सडक विभागका अनुसार सुरुङ मार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरु हुने बताइएको छ ।

चिडियाखोला खोंचबाट सुरु हुने सुरुङ दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यो करिब एक हजार एक सय मिटरको हुनेछ । सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न आफूले धेरै प्रयत्न गरेको र आइतबार टेण्डर भएकोमा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेयले खुसी व्यक्त गर्नुभएको छ । “कुनै बेला  सुरूङकाे प्रस्ताव गर्दा सडक विभाग, प्राविधिकहरूले नेपालमा सम्भव नरहेकाे भन्दै विभिन्न विकल्पमा छलफल गर्थे, अहिले सुरूङकाे टेण्डर निकालिएकाे छ ।” अब हाम्राे माग सम्बाेधन मात्र भएकाे छैन, बाटाेकाे सुधारका लागि सुरूङ निर्माण अभियान चल्नेछ सांसद पाण्डेयले भन्नुभयाे ।

गत वर्षकाे मंसिर १ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले सुरुङका लागि बहुवर्षीय योजनामा काम गर्ने गरी बजेटको स्वीकृति दिएको थियो । सिद्धबाबा क्षेत्र करिब ५ किलोमिटर लम्बाइको छ । सुरुङ मार्ग आयोजनामध्ये १ हजार १ सय २६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुने मन्त्रालयले जनाएको छ । सिद्धबाबा भएर गुल्मी, अर्घाखाँची, स्याड्जा, बाग्लुङलगायत जिल्लाका नागरिकहरूले आवतजावत गर्ने गर्दछन् । सुरुङ् मार्ग बनेपछि यस क्षेत्रमा हरेक वर्ष हुने दुर्घटना लगायतका घटना कम हुने र आवतजावतमा सहजता आउने विश्वास गरिएकाे छ ।