सिद्धार्थ राजमार्ग पाल्पा-बुटवल खण्ड एकतर्फी खुल्याे

डुम्रे । सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल खण्डमा सवारीसाधन चल्न थालेकाे छ ।

तीन दिनदेखिअबरुद्ध सडकमा खसेकाे पहिराे हटाएपछि बाटाे एकतर्फी रूपमा खुलेकाे छ। लगातारकाे वर्षातले तानसेन–८, तल्लो डुम्रेमा खसेको पहिरोले सवारी आवागमन राेकिन पुगेकाे थियाे ।

सडक डिभिजन कार्यालय पाल्पाले सडकमा खसेकाे पहिलाे पन्छाएपछि एकतर्फी रूपमा गाडी चल्ने अवस्था भएकाे जनाएको छ । ठूलाे पहिरो र लगातारकाे झरीले पहिराे हटाउन अवराेध गरेकाले धेरै समय लागेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताउनुभयाे । 

पानी रोकिएपछि सडकको पहिरो पन्छाइएकाे छ । पहिरो हटाउन चार वटा डोजर र स्काभेटर प्रयोग गरिएको थियो भने ट्रिपरले माटो तथा ढुङ्गा बाेकेका थिए । बाटाे एकतर्फी रूपमा मात्र खुलेकाले पानी परे समस्या हुने भन्दै  साबधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ । पहिराेले डुम्रेका तीन वटा घर समेत पुरिएका थिए ।