सेतो जाँगेमा रातो टालो

विजयकुमार बौडेल –
“ममि । सेतो जाँगे च्यातियो” भन्दा रातो टालो हालि सिएर “लौ अझै २ महिना कट्छ” भन्नुहुन्थ्यो । तर कापि किन्न छ, कलम किन्न छ भन्दा कहिल्यै पनी भोली भन्नुभएन । खेल्दा लोटेको ठाउँमा बाँधिदिँदा बाँधिदिँदा झिरा झिरा भएको पटुका कहिल्यै फेर्नुभएन तर हरेक बर्ष हामीलाई स्कुल ड्रेस चाँही नयाँ सिलाईदिनुहुन्थ्यो । तर पैसा नहुँदा पनी कहिल्यै नमिठो मुख लाएर बोल्नुभएन ।


बाबाले सधै भन्नुहुन्थ्यो “जती पढेपनी, हाडछाला घोंटेर भएपनी पढाउँछु । हामी पढ्न नपाएर दुख पाईयो । छोराछोरीले दुख नपाउन् ।” सधै दुख गर्ने बाबा कहिलेकाँही अलीकती खाएर आउँदा ममि सधै कराउने “केटाकेटीलाई कापी कलम किनिदिन पुग्थ्यो त्यो पैसाले ।” जती खाएपनी बाबाको सधै अटल बोली र व्यवहार हुन्थ्यो । “अझै ८÷१० बर्ष त घस्रेर भएपनी छोराछोरी पढाउन सक्छु ।”
बाबुआमाका हामी चार जना छोराछोरी । खानै धौ धौ भएपनी ममिले हामी चारै जनालाई क्याम्पस लेभल सम्म पढाउनुभयो ।


पैसो कत्तिको हुन्छ ?
पत्रकारिता गरेर जिवन चल्छ ? भोली विहे गरेपछी स्वास्नी कसरी पाल्छस् ? चुरा, टिका कसरी किन्दिन्छस् ? सधैभरी यसरी त चल्दैन होला ।
आजकल आफन्तको भिडले दैनिक जसो सोध्ने प्रश्न ।


पैसाको अभावै अभावमा जिवनको यो अवस्था सम्म आईपुग्दा पनी मलाई अझै पैसाको लोभ लाग्दैन । अनिवार्य आवश्यकता बाहेक घर, सम्पत्ती र गाडी जोड्ने मेरो कुनै लक्ष्य छैन । दुनियाँको नजरमा हिँजोको मेरो हैसियत के र आजको के भन्ने कुरा पैसाले छुट्याउला तर मलाई त्यस्तो लाग्दैन ।


खै म किन एस्तो थाहा छैन । तर २५ बर्षको उमेरमा पनी मलाई भयंकर मोजमस्ति गरुँ, टन्न पैसा कमाउँ, सानका साथ हिँडु जस्तो लाग्दैन ।
कहिलेकाँहि म संग पत्रकारिता क्षेत्र संग सम्बन्धित कुनै कार्यक्रम परिहाल्यो भने सदरमुकाम जाने गाडिभाडा पनी हुन्न, खाजा खाने पैसा पनी हुन्न तरपनी मलाई जसरी पनी पैसा कमाउँ भन्ने लाग्दैन । पैसा कमाउने हजारौं बाङ्गा बाटोहरु थाहा नभएको पनी होईन । सोझो खुट्टाले बाङ्गो बाटो हिँड्न मन नलागेर मात्र ।


अहिले मलाई रोटि, मकै, ढिंडो, चिउरा, मकैको भात (हामी आँटो भन्छौं) फिटिक्कै मन पर्दैन । सबैले भन्छन् स्वास्थ्यको लागी यिनै कुराहरु राम्रो र फाईदाजनक हुन्, खानुपर्छ । हिँजो अरु केहि नभएर च्याँख्ला सहितको गहुँको पिठो पानीमा होँडलेर पनी सबैलाई पेटभरी खान नपुग्ने अवस्थामा जति खाने हो खाईयो । गहँुको सिजनमा पिठो नसकुन्जेल ढिंडो, मकैको सिजनमा मकै नसकुन्जेल आँटो, बाँँकी सिजनमा कहिले चिउरा त कहिले के । भात भन्ने कुरा नै नौलो लाग्थ्यो ।


अहिले केही नभए पनी दुई छाक भात खान सक्ने भएको छु । अहिले पनी घरमा बेलाबेलामा रोटि, ढिंडो पाक्दा लाग्छ, म भात खान र चामल किन्न नसक्ने भएछु कि क्या हो ? हिँजोको त्यो गरिवि आफ्नै हातमुख जोर्नको लागी थियो भने आजको गरिवि अरुको अगाडि सामाजिक हैसियत कमजोर देखिने छ ।


बाटोमा हिँड्दा कसैले “विजय जी हैन ? मैले तपाईंलाई चिन्छु, तपाईले लेख्ने कुराहरु म सधै पढ्छु, लेखाई राम्रो छ ।” भनेर भन्दाको खुसी नाथे पैसाले किनेर पाईन्छ र जस्तो लाग्छ । अनी पैसा नहुँदा आफ्नै साथीभाईको नजिक बन्न नसक्दा र उनीहरुले नगन्दा पैसा भन्दा अरु के रहेछ र जिवन जस्तो पनी लाग्छ ।


अहिलेसम्म धेरै पटक मलामी त गएको छैन तर जती पटक गएको छु, त्यहाँ लास जलाउँदाको क्षण निकै भावुक व्यक्तिहरु र जलिरहेको लास देखेर लाग्छ । “साला पैसा, धन, सम्पत्ती के का लागी ? आखिर यि ढाक्नुपर्ने चिजको टालो पनी निकालेर जलाउँदा रहेछन् ।”


ममिले स्कुल पढ्दा लगनशिल र मेहेनती भएर पाएको छात्रवृत्ती बापतको २ सय ५० रुपैंया साँझ खान नहोस् तर कहिल्यै अन्य कुरामा खर्च गरिदिनुभएन । त्यसैमा थपघट गरेर ड्रेस सिलाउने, कापीकलम किन्ने, फि तिर्ने लगाएतका काममा नै खर्च गरिदिनुहुन्थ्यो । सानोमा ममिले दिनभरी काम गरेर पाउने ५० रुपैंयामा हामी ६ जनाको परिवार पालिन्थ्यो । पानी पर्दा रातभरी हामीलाई दश ठाउँ सार्दै चुहिएको छानो थाप्दै बसेको देख्दा मन कुँडिएर आउँथ्यो तर गर्न सक्ने केहि थिएन । ४ जनाले त खाने र पढ्ने मात्रै गथ्र्यौ । सम्झँदा पनी कस्तो कस्तो लाग्छ “साँच्ची कसरी चलाउनुहुन्थ्यो होला व्यवहार ?”


म संगैका धेरै साथीहरुलाई घरकाले आर्थीक अवस्था कमजोर भयो भनेर पढ्न छुटाए । कतिले आफै छोडे । तर पढाई छोड्ने कुरा न कहिल्यै मेरो मनमा आयो न ममि बाबाले नै छोडाउने कुरा गर्नुभो । जहिले पनी पढ्नको लागी उत्साहित नै गर्नुभो ।


अहिले मेरो कामबाट मेरा बाआमा खुसी नै हुनुहुन्छ । छोराले नाम कमाएको छ । धेरैथोरैले चिनेका छन् । “तपाई विजयको आमा बा हैन ?” भनेर बाटोमा नमस्कार गर्दा छोरा राजै भएको अनुभुती गर्नुहुन्छ । हुन पनी आफ्ना सन्तानको प्रगतीमा को बाउआमा खुसी नहोलान् र ?


अहिले धेरैका छोरा विदेश गएर लाखौं कमाएर बाआमालाई राम्रा घर बनाएर राखेका छन् । सुख दिएका छन् । हातमा पैसा राखिदिएका छन् । मलाई पनी त्यसो नगरुँ लागेको होईन । ठुलो घर बनाउँ, बाआमालाई त्यसमा राखुँ, सुखसयल दिउँ । तर बाआमाले कहिल्यै पनी मलाई त्यो कुरामा उत्साहित गर्नुभएन ।


रातभरी चुहिने घरकोे हैसियत बाट किन ठुलो घर र बंगला चाहियो ? सेतो जाँगेमा रातो टालो लगाएको मान्छेलाई अहिले किन चाहियो ब्राण्डेड कपडा ? जे छ त्यसैमा सन्तुष्ट हुन जाने सधै खुसी भईन्छ भन्ने कुरा मैले मेरो बाआमा बाटै सिकेको छु ।


खुसी र सुख दुई फरक फरक कुराहरु हुन् । सुख भएर पनी खुसी नहुन सकिन्छ, दुख भोगेर पनी खुसीसाथ बस्न सकिन्छ । दिनभरी भारी बोकेर कमाएको पैसाले साँझ चामल किनेर खुसी साथ परिवारमा रमाउन सकिन्छ । सिसैसिसाको महलको ७ तलामाथी नोकचाकरले बनाएको चौरासी व्यञ्जन खानेकुरा खाएर बस्दा सुखी त भईएला तर खुसी नहुन सकिन्छ ।


हिँजोका दिनमा “घर चामल सकिएको छ, छोराछोरीलाई के खुवाउने थाहा छैन । अलीकती पैसा सापट दिनुहोस् न ।” भनेर साहु संग पैसा सापटी लिन जाँदा साहुले तिर्न सक्दिने भनेर नसुनेझै गरेको दिन ममिले सम्झनुहुन्छ । अनी आजकल धेरैजसो दिन बिहान “यो सामुदायिक रेडियो मदनपोखरा हो, अव विजयकुमार बौडेलबाट विहान साढे ६ बजेको स्थानिय गतिविधी सुन्नुहोस् ।” भन्ने आफ्नै छोराको आवाज रेडियो तरंग बाट लाखौंको कान सम्म पुग्दा सारा खुसी त्यसैमा पाउनुहुन्छ ।


खुसी हुन सन्तुष्ट हुनुपर्छ । सेतो जाँगेमा रातो टालोले सिउँदा पनी खुसी हुन सकिन्छ, अर्बौको गाडिमा बसेर लाखौंको सुट लाउँदा पनी खुसी नहुन सकिन्छ ।