कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले लकडाउन गर्यो । लकडाउन भएको एक महिनासम्म आमनागरिक घरभित्र छन् । सङ्क्रमणविरुद्धको लडाइँमा सरकार, नागरिक, सङ्घसंस्था र जनप्रतिनिधिहरु एक भएर लडिरहेका छन् । एक महिनामा स्थानीय सरकारहरुले क्वरेन्टीन व्यवस्थापन, विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन र विपन्न वर्गलाई राहत वितरणजस्ता काम गरिरहेका छन् । पाल्पा र यस वरपरका केही स्थानीय सरकारले उदाहरणीय काम गरेका छन् । स्थानीय सरकारकाे यस्ता रचनात्मक कामले चाैतर्फी प्रशंसा पाइरहेका छन् ।
तानसेनमा दूरशिक्षा र कृषि एम्बुलेन्स
तानसेन नगरपालिकाले पनि एसइई दिने विद्यार्थीलाई दूरशिक्षा रेडियाे कार्यक्रम एसइई पाठशाला सञ्चालन गर्न सहयोग गरेको छ । नगरपालिकाको सहयोगमा रेडियो मदनपोखराले दूरशिक्षा पाठशाला सञ्चालन गर्दै आएको छ । पाठशालामा हरेक दिन ६ वटा विषयमा रेडियाेबाट लाइभ प्रसारण भइरहेकाे छ । याे कार्यक्रम पाल्पासहित नेपालका ३० भन्दा धेरै रेडियाेले लाइभ प्रसारण गरिरहेका छन् ।
तानसेनकै सहकार्यमा युनिक एफएमले पनि कक्षा ११ र १२ लाई ट्युसन अन एयर गरी पठनपाठन गरेकाे छ । याे कार्यक्रममा दैनिक ४ वटा विषयमा अध्यापन भइरहेकाे छ ।
तानसेन बजारमा कृषि एम्बुलेन्स सेवा सुरु भएको छ । नगरपालिकाले किसानसँग तरकारी खरिद गर्छ । कृषि एम्बुलेन्स घरघरै पठाएर खरिद मूल्यमा ताजा तरकारी उपभोक्तालाई दिएकाे छ । तरकारी बिक्रीको लागि कृषि एम्बुलेन्सकाे इन्धन र तरकारी प्याक गर्ने प्लाष्टिक नगरपालिकाले अनुदान दिएकाे छ । नगरपालिकाकाे याे रचनात्मक काममा नगरपालिकाकाे युवा परिषद सक्रिय भएकाे छ । परिषदका पदाधिकारीहरू तरकारी किन्ने, बजारमा बिक्री गर्ने काममा स्वयमसेवा गरिरहेका छन् ।
मदनपाेखरामा उत्पादित तरकारी दैनिक ८ गाडीसम्म तानसेन बजारमा बिक्री भएकाे छ । तानसेन युवा परिषदका अध्यक्ष गुँराश आत्रेयले सस्तो र ताजा तरकारी घरमै पाउन थालेपछि उपभोक्तालाई सहज भएको बताउनुभयाे । तरकारी बिक्री नहुँदा खेतबारीमै कुहिने चिन्ता थियाे, किसानलाई अहिले त्याे समस्या छैन मदनपाेखरा संगम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खेमराज न्याैपानले भन्नुभयाे । तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले किसान र उपभाेक्ताकाे हितमा सञ्चालन गरिएकाे कृषि एम्बुलेन्स सेवा प्रभावकारी बनेकाे बताउनुभयाे । कृषि एम्बुलेन्सको सुरुवात बगनासकाली गाउँपालिकाले पनि गरेकाे छ ।
धुर्कोटले बाँझो खेतबारी खन्नेलाई अनुदान दिने
धुर्काेटका गाउँगाउँमा अहिले चहलपहल छ । कामका लागि भारत र अरु देश पुगेका युवाहरु फर्किएका छन् । कोराेनाकाे संक्रमणबाट जाेगिन गाउँ फर्किएका युवालाई गुल्मीको धुर्कोट गाउँपालिकाले बाँझो जमिन किसानलाई अनुदान दिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण अर्को वर्ष खाद्यान्न अभाव हुन सक्ने भन्दै गाउँपालिकाले बाँझो जमिन किसानहरुलाई अनुदान दिने निर्णय गरेको हो । कार्यपालिकाको बैठकले खाद्यान्न उत्पादन गर्न चाहने किसानलाई बाँझो खेत प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।
दुई वर्षदेखि बाँझो रहेको जमिनमा कागती, सुन्तला र फलफुल रोपेमा प्रतिरोपनी तीन हजार रुपैयाँ, अन्नबाली, तरकारी र मसलेदार खेती गरेमा प्रतिरोपनी चार हजार र आफ्नो बारी नहुनेले लिजमा लिएर तरकारी र फलफुल खेती गरेमा प्रतिरोपनी पाँच हजार रुपैयाँका दरले अनुदान रकम दिने निर्णय भएको छ । यो निर्णयपछि खाद्यान्न, तरकारी तथा फलफूल खेती गर्ने किसानसमेत उत्साहित भएका छन् । खेतीयोग्य जमिन बाँझो राखेमा भने भूमि कर बढाउने गाउँपालिकाले जनाएको छ ।
तिलोत्तमाका तीन काम
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खाद्य राहत बैंक र एसईई दिने विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन र किसानले उत्पादन गरेको अन्नबालीको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गर्दै कार्यान्वयन समेत गरेको छ । घरमै बसी विभिन्न माध्यमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सकिन्छ भन्ने उदाहरण समेत नगरपालिकाले प्रस्तुत गरेको छ ।
नगरपालिकाले एसईईको तयारीमा रहेका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरेको छ । विषयविज्ञ शिक्षक छनोट गरी हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइनबाट कक्षा सञ्चालन भइरहेको नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । लकडाउनको सदुपयोग गर्दै अनलाइन माध्यमबाट परीक्षा केन्द्रित कार्यक्रम सुरु भएपछि विद्यार्थी समेत उत्साहित भएका उहाँको भनाइ छ ।
त्यस्तै नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बिक्री नभए बेचिदिने भएको छ । गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ तोकेको नगरप्रमुख घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले किसानलाई चालु आर्थिक वर्षमा १ सय ३६ मेट्रिक टन गहुँको बीउ ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो ।