
बोली । बैसाख ९ – पाल्पा र गुल्मीको संगम स्थल ऋिषिकेश मन्दिर परिसरमा अव्यवस्थित छोडुवा गाईहरुको संख्या बढेको छ ।
दुध दिन छोडेपछी गाईलाई बाटो र मन्दिर परिसरमा छोडिदिँदा गाईहरु बेवारिसे भएको हुन् । मन्दिर परिसरमा १५० भन्दा बढी गाईहरु वटा गाँईहरू छोडुवा अबस्थामा छन् । हिन्दु धर्म अनुसार गाईलाई लक्ष्मी भगवान स्वरुप मानिने भएपनी पछिल्लो समय गाईलाई बेवास्ता गरिने गरिएको छ । हिन्दु धर्म अनुसार पुजापाठ, बिहे, ब्रतबन्ध लगाएतका धार्मिक क्रियाकलापमा ब्राह्मणलाई गाई दान दिने परम्परा भएपनी अहिले ब्राह्मणहरु गाई लिन मान्दैनन् ।
धार्मिक क्रियाकलापहरुमा धेरैजसो ब्राह्मणहरुले असली गाईको सट्टा कुशको गाई बनाएर त्यसबापत नगद लिने गरेको पाईन्छ । गाईको गहुँत विभिन्न रोगब्याधको औषधीमा प्रयोग हुने र दुध पनी निकै पोशिलो मानिन्छ । तर व्यवसायिक युगमा तुलनात्मक रुपमा कम उत्पादन दिने लोकल गाईहरुलाई मानिसहरुले बेवारिसे छाड्ने गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले गौसालाको व्यवस्था गर्न नसक्दा गाईको अबस्था नाजुक रहेको बताउनु भयो । रेग्मीले गाईको व्यवस्थापनको लागि स्थानिय तहमा जति पहल गरेपनि वास्ता नगरेको गुनासो गर्नुभयो । बिगत केही बर्ष देखि मन्दिर व्यवस्थापन समितीले गाइलाई बेवारिसे छोड्न नपाउने निर्णय गरेपनी रातीको समयमा लुकेर गाई छोड्ने गरेकाले समस्या समाधान नभएको अध्यक्ष रेग्मीले बताउनुभयो ।
हिन्दु धर्मको आस्थाको केन्द्र ऋिषिकेश मन्दिर परिषरमा जम्मा भएका गाईहरु खान र बस्न व्यवस्थित नभएर दुब्ला देखिन्छन् । छोडुवा गाईहरु वनमा चर्ने, कालीगण्डकी नदिको बगरमा डुल्ने र जहा मन लाग्यो त्यहीँ बस्न बाध्य छन् ।