तानसेनमा म्याद नाघेको बोटल पानी बेचेकाे फेला

पाल्पा । जिल्लासदरमुकाम तानसेन बजारमा व्यापारीले उपभाेक्तामाथि चरम लापरबाही गरेको पाइएको छ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले तानसेन बजारमा छड्के अनुगमन गर्दा  अनुगममन टाेलीलले खुलेआम उपभोक्ता ठगिएकाे निश्कर्ष निकालेका हुन्‌।बजार अनुगमन गर्दा वर्षौंअघि म्याद सकिएका सामग्री बिक्री गरेर व्यापारीहरूले उपभोक्तालाई ठगेको खुलेको छ।

बसपार्कमा रहेको होटल डायमण्डले एक वर्षअघि नै म्याद नाघेको बोटल वाटर (बोत्तलको पानी) बिक्री गरेको फेला परेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयाे । बिक्री गर्नको लागि फ्रिजमा चिसो बनाएर राखिएको अवस्थामा म्याद नाघेको पिउने पानी फेला परेको छ। श्रेष्ठका अनुसार होटलमा म्याद नाघेका ब्राण्डेड चकलेट समेत बरामद गरिएको छ। एक वर्ष म्याद नाघेका ६५ रुपैयाँसम्म पर्ने चकलेट होटलमा बिक्री गर्न राखिएका थिए ।

कस्मेटिक पसलमा सात वर्ष पहिले नै म्याद नाघेका श्रृंगारका सामग्री बिक्री गरेको फेला परेको छ। तानसेनस्थित सिल्खानटोलमा रहेको एक पसलमा सन् २०१३ मा म्याद नाघिसकेका श्रृंगारका सामग्री बिक्री गरेको खुलेको हो। यहाँ वर्षौंअघी म्याद नाघेका पाउडर, अत्तर, विभिन्न प्रकारका अनुहार तथा हातमा लगाउने क्रिम फेला परेको छ। अनुगमनका क्रममा विभिन्न पेय पदार्थ, ससेज, सोंफ लगायतका सामग्री म्याद नाघेको अवस्थामा फेला परेको थियो।

करिब २५ हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री जफत गरेर नष्ट गरिएको घरेलु कार्यालयका प्रमुख देवीराम भण्डारीले बताउनुभयाे। चाडपर्वको बेला उपभोक्तालाई यो वा त्यो बहानामा ठग्ने प्रवित्ति बढेकोले अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनुभयाे । उपभोक्तालाई ठगि गरेका व्यापारीलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेकाे छ । भण्डारीका अनुसार खाद्यान्न पसल, दुध डेरी, वधशाला, मासु पसल, फेन्सी पसल, कस्मेटिक पसल, औषधि पसल लगायतका पसलहरूमा मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल, म्याद नाघेको सामग्री, यस अगाडिको निर्देशनको पालना गरे वा नगरेको बारे अनुगमन गरिएको थियो। धेरै व्यापारीले मापदण्ड पूरा गरेका छैनन्।

अनुगमनलाई कडाइका साथ निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयाे। कानुन उल्लंघन गरेर लापरबाही गर्ने व्यापारीलाई कारबाही गर्ने हुन्छ। ‘पटक पटक सुझाव दिँदा समेत नसुध्रिएका व्यापारीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ उहाँले भन्नुभयाे, ‘आफू ठगिएको महसुस भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्नुस्।’ म्याद नाघेका सामग्री बिक्री गर्दै आएका व्यापारीलाई प्रशासनमा उपस्थित गराई आवश्यक अनुसन्धान गर्ने काम भइरहेको छ।