पाल्पाको लुम्बिनी मेडिकल कलेज सहित केही अस्पतालहरु पुन: सूचीकृत

लुम्बिनी मेडिकल कलेज प्रभाषमा स्वास्थ्य बीमा कार्यक्रम लागु् हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले कलेजमा बन्द भएको सेवा सुचारु गर्न सूचीकृत गर्ने निर्णय गरेसंगै सेवा सुरु हुने भएको हो ।
बोर्डको आइतबार बसेको बैठकले पाल्पाको लुम्बिनी मेडिकल कलेज सहित अन्य जिल्लाका स्वास्थ्य संस्थामा समेत बीमा कार्यक्रम सञ्चालन गर्न सूचीकृत गरेको छ ।
बीमा बोर्डले भुक्तानीमा ढिलाई गरेको भन्दै आर्थिक वर्ष २०७९÷८०  साउनदेखि कलेजमा बीमा सेवा बन्द भएको थियो । सेवा बन्द हुँदा पाल्पाका नागरिकले स्वास्थ्य सेवाका लागि दुख पाएका थिए । सुविधाका लागि स्वासथ्य बीमा गरेपनि सेवा प्राप्त गर्न नसकेकोले अहिले बीमा नविकरण गर्नेको संख्यामा समेत कमी आएको छ । जिल्लाका ठूला अस्पतालहरुमा स्वास्थ्य बीमा सुचारु गर्न संघीय सांसद ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्य लागि पर्नुभएको थियो । उहाँहरुलाई जिल्लाका राजनीतिक दल तथा अन्य सरोकारवालाहरुले सघाउदै आएका थिए । कलेज सेवा प्रवाहका लागि सूचिकृत भएसंग जिल्लावासी खुसी हुने अवस्था तयार भएको छ ।
सूचीकृत भएका अस्पतालहरुसंग केही दिनमै सम्झौँता गरेर स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने सक्ने बोर्डले जनाएको छ । त्यसो त यसपटक बोर्डले अहिले थपिएका निजी, सहकारी, सामुदायिक तथा मेडिकल कलेजहरु आवश्यकताको आधारमा बीमितको चापका आधारमा सेवा प्रदायक स्वास्थ्य संस्था पर्याप्त नभएको स्थानलाई प्राथमिकतामा राखी यो निर्णय गरेको जनाएको छ ।
सूचीकृत भएका स्वास्थ्य संस्थामा सरकारी अस्पतालमा सेवा उपलव्ध नहुने अवस्था मात्र रिफर सेवाको लागि मात्रै हुने छ । यस्तै सूचीकृत हुने अस्पतालहरुले १०० शैयासम्म भए सातामा १ दिन, २ सय शैया सम्मको भए सातामा २ दिन र ३ सय शैयासम्म वा सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।