माथागढीमा रोकियो हुनै लागेको बालविवाह

माया बस्याल – 

असोज ५ – बढ्दो सुचना प्रविधिको दुरुपयोगलगाएत धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा र सामाजिक दवावका कारणले समाजमा बाल विबाह हुने गरेको छ ।

बालविवाह तुरुन्तै अन्त्य हुने विषय नभएपनी यसको निराकरणका लागि आआफ्नो स्थान, क्षेत्रबाट जुटेमा रोक्न र असर कम गर्न सकिन्छ भन्ने उदाहरण माथागढीका सरोकारवालाहरुले देखाएका छन् । माथागढी गाउँपालिकाका २३ बर्षीय युवक र बगनासकाली गाउँपालिकाकी १६ बर्षिय किशोरीको बिहे हुन लागेको थाहा पाएपछी सरोकारवालाले सम्झाईबुझाई गरेर बिहे रोकेका छन् ।

सानै उमेरमा विवाह गर्दा छिट्टै बच्चा जन्मने, सोंच्ने बुझ्ने भइसकेपछि अर्को विवाह गर्ने अनि असमझदारी बढेर सम्बन्ध विच्छेद गर्ने सम्मका घटनामा बृद्धि आएकाले बालविवाह रोक्न समुदायको ध्यान जानुपर्ने प्रभाष प्रहरी चौकीका प्रमुख एक्क बहादुर नेपालीले बताउनुभयो । बालबालिकाले आफैले गरेको होस् वा अभिभावकले गराइदिएको, बालविवाह रोक्नु आफैंमा चुनौतीपूर्ण काम भएको बताउदै बिभिन्न जोखिम मोलेर बालविवाह रोक्ने अभियानमा लागिरहेको नेपालीको भनाइ छ ।

बालविवाह हुन लागेकी बगनासकाली गाउँपालिकाकी किशोरीले भन्नुभयो “आफ्नो मन परेको मान्छे संग विहे गर्न पाउनु त पर्यो नी । मैले जसरी पनी उहाँ संगै विहे गर्छु ।” बिहे हुन लागेका माथागढी गाउँपालिकाका यूवाले भने उमेर पुगेको छैन भन्ने जान्दा जान्दै पनी नकार्न नसकेको भन्दै विहे गर्न आँटेको बताउनुभयो । उहाँले भन्नुभयो “मायामा यस्तै हुँदो रहेछ ।”

सरोकारवालाले सम्झाई बुझाई गरेर उमेर पुगेपछी बिहे गरिदिने भनेपछी दुवैजना आआफ्नो घर फर्कन राजी भएका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । यसैगरी १० प्रतिशत बालिका १५ वर्ष भन्दा कम उमेरमा विवाह गर्छन् ।

पहिले अभिभावको सहमतिमा १८ वर्षमा विवाह गर्न पाउने कानुनी व्यवस्था थियो । अहिले मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्ष पुगिसकेको हुनुपर्ने छ ।

२० वर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी) लाई समेत एक महिना कैद र एक हजार रुपियाँ जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । नेपाल बाल विवाह गर्ने दक्षिण एशियाली मुलुकका प्रमुख देशहरु मध्ये बंगलादेश र भारत पछि तेस्रो स्थानमा पर्दछ । नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाइ कार्यान्वयनमा ल्याए पनी प्रभावकारी हुन सकेको छैन ।

अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेर मै विवाह गर्न बाध्य हुन्छन् । तसर्थ उनीहरुलाई वैकल्पिक शिक्षा, प्रौढ शिक्षामा जोड दिनु आवश्यक छ । यसैगरी बालबालिकालाई अनिवार्य आधारभूत शिक्षामा यौन शिक्षा समेत दिनु जरुरी देखिन्छ ।