मान्छे चितुवाको लडाइँ, रम्भामा चितुवा मारियाे

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगी कराङ्दीखोलाका खड्गबहादुर फालमगर चितुवासँग लडेर ज्यान जाेगाउन सफल हुनभएकाे छ ।

विश्वकर्मा पूजाकाे दिन गाई बस्तु चराउन जंगल गएका ५२ वर्षीय मगरलाई चितुवाले आक्रमण गर्याे । चितुवाकाे आक्रमणमा बच्न उहाँले लड्ने निर्णय गरी भिडेर ज्यान जाेगाउन सफल हुनुभएकाे हाे । स्थानीय बासिन्दाका अनुसार फाल मगरले करिव १० मिनेटसम्म चितुवासँग वारपारकाे लडाँई लड्नुभएकाे थियाे । फालकाे हारगुहार सुनेर पुगेका अर्का एक युवकको सहयोगमा उहाँ जोगिन सफल भएको स्थानीय बासिन्दा केदार बस्यालले बताउनुभयाे । गाउँमा मानिसकाे बसाेबास घट्ने र जंगल बढ्ने गरेकाले  ‘मानव–वन्यजन्तुको बीचकाे लडाइँ बढी भएको छ ।’

फालकाे गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी हुँगीले जनाएको छ । उहाँको अनुहार र हातखुट्टामा चोट लागेको छ । गुहार दिन जाने युवा पुग्दा फालले चितुवाको घाँटीमा समातेर कुस्ती खेल्दै थिए । त्यसपछि उनीहरू दुबै जना मिलेर चितुवालाई ढुंगाले हानेका थिए । ढुंगाले लागेर चितुवा मरेको छ । मरेको चितुवालाई सव डिभिजन वन कार्यालय, ताहुँको समन्वयमा गाडिएको छ ।

पाल्पामा चितुवाको आक्रमण बढेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार तीन महिनाअघि रैनादेवी छहराको भुवनपोखरीमा स्थानीयले दुम्सीका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवालाई सौराहा लगेर छाडिएको थियो । तानसेन, बगनासकालीको चापपानी, खानीगाउँ, रिब्दीकोटको पालुङमैनादी, रैनादेवी छहराको मुझुङ, रम्भाको पिपलडाँडामा पनि चितुवाले दुःख दिँदै आएको छ ।