लकडाउन अवज्ञाले काेराेना संक्रमणको जोखिम बढी

विजयकुमार बौडेल 
चैत १७ – विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ फैलन नदिन सरकारले लागु गरेको लकडाउनको अवज्ञा गर्दा कोरोना भाईरस संक्रमणको जोखिम बढेको छ ।

नागरिकले लकडाउनको महत्व नबुझी घुमफिर गर्ने, भेला हुने, भोजभतेर गर्नेलगाएतका कार्य गर्दा कोरोना भाईरसको संक्रमणको जोखिम बढेको हो । कोरोना भाईरस अत्यन्तै छिटो सर्ने भाईरस भएकाले एकदमै सजग र सतर्क रहनुपर्ने भएपनी नागरिकहरुले वेवास्ता गर्दा महामारी फैलन सक्ने विज्ञहरुको भनाई छ ।

लकडाउनमा सार्वजनिक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइएको हुन्छ तर नागरिकहरु विनाकाम विना सावधानी हिँडडुल गर्दा संक्रमणको जोखिम बढी भएको तानसेन नगरपालिका वडा नं. ८ का अध्यक्ष राम प्रसाद घिमिरेले बताउनुभयो । घिमिरेले बिहान तथा बेलुका निश्चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका सामान खरिद गर्न समय दिएपनी मानिसहरुले वेवास्ता गरेको बताउनुभयो ।

स्थानिय तहहरुले लकडाउनमा आपतकालीन अवस्था बाहेक नियमित सार्वजनिक यातायातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्न आग्रह गरेका छन् ।

लकडाउनको अवज्ञा गरेमा एक महिना जेल सम्मको सजाय गर्न सक्ने भनी सरकारले तोकेको छ तर त्यसको कडा कार्यान्वयन हुन नसक्दा लापरबाही बढेको छ ।