तानसेन । पाल्पाकाे जिल्ला सदरमुकाम रहेकाे तानसेन नगरपालिकाको आगामी आर्थिक वर्षका लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रमसहितकाे नीति तथा कार्यक्रम पेश गरेकाे छ ।
नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकले सातौँ नगरसभामा पूँजीगततर्फ रु ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) र चालु तर्फ ६६ करोड ७५ लाख २५ हजार रुपियाँको (कुल बजेटको ५९ प्रतिशत) बजेट समेटिएकाे नीति तथा कार्यक्रम पेश गर्नुभएकाे हाे । यो रकम यो चालु वर्षको तुलनामा मात्र ७७ लाखले बढी हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन र भौतिक पूर्वाधारको विकास गर्नमा बजेटले प्राथमिकता दिएको नगरपालिका प्रमुख अशाेककुमार शाहीले बताउनुभयो । प्रमुख शाहीले कोरोना नियन्त्रण गर्न आश्वयक कार्यक्रम संचालन गर्ने, विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य विमा गरिदिने, स्वाथ्य क्षेत्रलाई आवश्यक भौतिक पूर्वाधार तयार गर्ने लगायतका कार्यक्रमलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाे जानकारी दिनुभयाे ।
नगरपालिकाले कोरोनाबाट प्रभावित शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन अनलाईन, संचार माध्यमकाे प्रयोग गरेर कार्यक्रम संचालन गर्ने, कार्य सम्पादनको आधारमा विद्यालयलाई प्रोत्साहन गरिने, शिक्षक दरबन्दी नभएका विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरसभामा प्रमुख शाहीले तत्काल १५० बढी युवालाई रोजगारमा सामेल हुने कार्यक्रम ल्याउने, उद्यमशील विकास कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कृषि तथा उत्पादनलाई जोड दिन विभिन्न कार्यक्रम तय गरिएको छ भने एक वडा एक प्राविधिकको व्यवस्था गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा कृषकसँग विद्यार्थी कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणको कार्यक्रमलाई निरन्तरता दिएको छ । सामाजिक तथा आर्थिक विकासका लागि ढाका, करुवाको प्रब्द्र्धन, विपन्न क्षेत्र लक्षित कार्यक्रम तय गरेको छ । नगरपालिकाले सुशासनलाई कायम गर्न शााखाहरु र कार्यालय प्रमुखको बीचमा कार्यसम्पादन सम्झौता गर्ने र सेवालाई प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।