प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा सम्पन्न, जिम्मेवार पत्रकारितामा जोड

प्रेस चौतारी नेपाल पाल्पाको चौथो वार्षिक साधारण सभा सम्पन्न, जिम्मेवार पत्रकारितामा जोड
समृद्धिका लागि सञ्चार कर्म भन्ने मूलमन्त्रका साथ प्रेस चौतारी नेपाल पाल्पा शाखाको चौथो वार्षिक साधारण सभा माथागढी गाउँपालिका–कसेनी सराईमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अर्थ सचिव प्रदीप आचार्यले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता—एआईको प्रयोग बढिरहेको उल्लेख गर्दै पत्रकारहरूले अझ जिम्मेवार, तथ्यपरक र सत्यनिष्ठ पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो। एआईबाट सिर्जित झुटा सूचना र भ्रामक सामग्रीले समाजमा भ्रम फैलिन सक्ने भएकाले सत्यको पक्षमा उभिनु पत्रकारको दायित्व भएको उहाँको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि पाल्पा क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले आसन्न निर्वाचन फागुन २१ गते हुने सन्दर्भमा राष्ट्रियता, स्वाधीनता, सामाजिक न्याय, धार्मिक सहिष्णुता, भाषा र संस्कृतिको संरक्षणका लागि सशक्त नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विज्ञान तथा प्रविधिको विकासमार्फत देशको समग्र उन्नतिमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा विभिन्न जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा पत्रकारहरूले लोकतन्त्रमा व्यावसायिक र उत्तरदायी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउँदै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको बीच–बीचमा स्थानीय कलाकारहरूले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए।