सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव तानसेन नगरपालिकाकाे नगरसभा सम्पन्न प्रधानमन्त्री ओली लोकप्रिय हुने डरले प्रचण्ड षडयन्त्रमा उत्रिए : मुख्यमन्त्री पोखरेल निजी विद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता हुन्छ :अध्यक्ष थापा भूकम्प सुरक्षा दिवसका अवसरमा संयुक्त अभ्यास बहुसञ्चार केन्द्र परिचय

सिंहदरबार हाेइन, दूरदराज मागें

दुर्गा बन्जाडे

पाल्पा 

धेरै पछि हाम्रो भेट भएको थियो।‬ रेस्टुरेन्टको टेबल ओगटेर बसेको केही बेरपछि कुरा गर्दागर्दै प्रसंग मोडियो।‬

उनले भनिन्, ‘‬दिनभरी अफिसको कार्यक्रम भयो।‬ साँझ परेपछि हामी आ-आफ्नो कोठामा गयौं।‬ राति नौ बजेको थियो होला।‬ मोबाइल र मेसेन्जरमा पुरुष सुपरीवेक्षक र सहकर्मीहरूको लगातार एसएमएस आउन लाग्यो।‬ मैले रेस्पोन्स नगरेपछि फोन नै आयो।

‘के छ म्याडम? हजुरको कोठा हेर्न आऊँ कि भनेर…’ यस्तै यस्तै।‬ म अक्क न बक्क भएँ। मोबाइल खुला हुँदा फोन आउला भन्ने डरले बन्दै गरेँ।‬ घरमा बच्चा बिरामी थियो।’‬ 

उनले थपिन्, ‘केही बोले महिलालाई नै ऊ त्यस्तै भएर त हो भन्न थाल्छन्।‬ कसलाई स्पष्टीकरण दिँदै हिँड्नु?‬ अनि को-कोसँग भिड्नु ?

उनले कुरा सुनाइरहँदा मेरो मन आफैंले काम गरिरहेको कार्यक्षेत्र (निजामती सेवामा) महिला भएकै कारण भोग्नुपर्ने यस्तै घटनामा केन्द्रित हुँदै थियो।‬ कार्यक्षमता, सेवाप्रतिको तत्परता र उत्प्रेरणामा वेवास्ता गरिने त्यस्ता घटनाको प्रभाव भने गहिरो रुपमा परिरहेको हुन्छ।‬

प्राकृतिक तथा सामाजिक अभिभारा बेहोर्दै प्रतिस्पर्धाको मैदानमाः

त्यसबेला पुतलीसडकमा शाखा अधिकृत तयारी कक्षा हुन्थ्यो।‬ बेलुका निर्धारित समयभन्दा ढिलोसम्म कक्षा चल्यो भने मेरो मन बेचैन हुन्थ्यो।‬

एक दिनको कुरा हो, साथीहरूले प्रश्न सोध्न लागेपछि अलि ढिलोसम्म बस्नु पर्ने भयो।‬ प्रतिस्पर्धाको कुरा हो, त्यही प्रश्न जाँचमा आयो भने कतै म पास हुने लिस्टमा छुट्छु कि भन्ने मनमा आशंका भइरहने रहेछ।‬

म कक्षाको अन्त्यसम्मै बसेँ।‬ धेरै राति त भएको थिएन। परसम्म हिँडे माइक्रो बस त पाइन्थ्यो। तर अलि छिटो घर पुग्न पाए छिट्टै खाना पकाएर खुवाउन सकिन्थ्यो,‬ बच्चा समयमै निदाउँथ्यो,‬ लोक सेवा तयारी गर्न समय निक्लिन्थ्यो जस्तो लाग्थ्यो।‬ संयोगवस एउटै रूट पर्ने साथी भेटेँ।‬ म उनकै बाइकमा बसी घर नजिकैको मुख्य चोकमै उत्रिएँ।‬

घरमा सँगै पढ्ने साथीको बाइकमा आएको सुनाएकी थिएँ। तर बाहिर कुरा काट्न लागेछन्-‬ उसलाई त चोकसम्म कुनै केटो पुर्‍याउन आउँछ।

‬एक कान, दो-कान हुँदै यो कुरा हामी दुवैको घरसम्म पुगेछ।‬ दुवैको घर परिवारमा अनावश्यक शंका भयो।‬ मलाई सहयोग गरेको कारण अर्को साथीले पनि तनाव बेहोर्नु परेकाले आत्मग्लानी भयो।‬ सायद पुरुषको खाली बाइकमा पुरुष नै भएको भए त्यसरी कुरा काटिन्थेन कि?

निजामती सेवामा पुरुष उम्मेदवारभन्दा महिलालाई सेवा प्रवेशका लागि उमेर हद, समावेशी लगायत पक्षमा बढी सुविधा छ।‬ राज्यको नीति र महिला स्वयमको उत्साहका कारण सहायक स्तरका पदमा महिला सहभागिता उल्लेख्य रूपमा बढिरहेको छ।‬ तर वृत्ति-विकासको स्पष्ट योजना नहुँदा बढुवा हुनु ‘ब्लु मून’ जस्तै हुन्छ।

‘जति सुकै महिला समानताको कुरा गरे पनि महिलालाई लोक सेवा पढेर बस्न साह्रै गाह्रो हुने रहेछ,’ साथी सीता भन्दै थिइन्, ‘घरमा जागिर खाउ, लोक सेवा पढ त भन्नु हुन्छ तर घरको काममा सहयोग नै हुँदैन।’

सानो उदाहरण- पाहुना आएपछि हामी महिलालाई भित्र बसेर पढ्छु भने पनि के भन्ने होलान् भनेर मनमा डर भइरहने। केटा मान्छे जस्तो बढुवाको तयारी गर्छु भनेर कोठा थुनेर पढ्न पनि सकिँदैन। बसियो भने पनि एकाग्र हुनै सकिँदैन।

दसैंतिहार जस्ता चाडपर्वका बिदामा झन् घरपरिवारमा भिडभाड हुन्छ। पढेर बस्छु भन्न असजिलो महशुस हुन्छ। सामाजिक बनूँ, कार्यालयको पदोसोपानमा साथीहरू सिँढी उक्लिँरहदा आफू बीचमै रोकिने। घरमा हुँदा पूरै पढेर बसूँ, असामाजिक बनिने सम्भावना।

मनको इच्छा मार्न नि गाह्रो। अनि परिवारका सब सदस्य रमाइलोमा भुलिरहँदा लोक सेवाको तयारीमा जुट्नु पर्छ।‬ आफ्नै शरीर र आत्मा मारेर सुनसान रातमा नेपथ्यमा भुकिरहेका कुकुरको आवाज सुन्दै अन्तिम प्रहरसम्म लोक सेवा तयारी गर्दा राम्रोसँग निदाउन पाइँदैन। शरीरलाई चाहिने आराम कम भएपछि स्वास्थ्य सम्बन्धी अनेक समस्या आउँछ।

‘महिलाले चुनौती सामना गर्दैनन्, सिंहदरबारमा झुम्मिएर बस्छन्’ भनिन्छ। तर जिम्मेवारी दिन अझै पनि हिच्किचाउने प्रवृत्ति देखिन्छ।‬ पुरुषलाई जिम्मेवारी दिएर बाँकी रह्यो भने ‘ल ल, एक सिट महिलाको नि राख्नु न, समावेशीको कुरा छ’ भनेको सुनिन्छ।

सिन्धुपाल्चोकमा मैले सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेपछि आफ्नो देश, जनता र समस्यालाई नजिकबाट हेर्ने चाहना भयो मलाई।‬

मैले मन्त्रालयमा गएर जिम्मेवार पदाधिकारीलाई भनेँ, ‘सर, सहायक बसेको नि धेरै भयो। कर्णालीका कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी पाए काम गर्थेँ।’‬

उहाँले ‘तपाईंलाई सिडिओमा पठाउन मापदण्ड नै पुग्दैन’ भन्नुभयो।

फेरि मैले अलि जोड गरेँ तर उहाँ सकारात्मक हुनुभएन। केही महिनापछि अरूमार्फत भन्न लगाएँ।

‘उनलाई सिडिओ त के पठाउनु?’ भन्नुभएछ।

म जिल्लामै भए पनि मन्त्रालयमा सिडिओहरूको सरुवा सम्बन्धमा के हुँदैछ भन्ने फोनबाट बुझिराख्थेँ।‬

एक जना शुभेच्छुकले सुनाउनुभयो, ‘तपाईंको त यो पटक पनि होलाजस्तो छैन।‬ तपाईंलाई त ‘मोडल पठाउने हो कि सिडिओ पठाउने भन्दै हाँस्दै हुनुहुन्छ।’

धेरै पछि मैले त्यो अवसर त पाएँ तर आशंका हटाउने चुनौती सँगसँगै थियो।

महिलाले गरेका काम आलोचनाको विषयः

कर्नेल उजिरसिंहले भगवतीको भाकल गरेर लडाइँमा हिँडेपछि बि.सं. १८७२, वैशाख ७ गते उनकै नेतृत्वको फौजले अंग्रेजलाई जितगढीमा परास्त गर्‍यो। यो विजय उत्सव स्वरूप पाल्पा जिल्लाको भगवती मन्दिरमा अहिले पनि पूजा गर्ने चलन छ। तत्कालीन समयमा बडाहाकिम र प्रमुख जिल्ला अधिकारीले भगवतीको रथयात्रा र जात्रामा पूजा गर्ने चलन छ।

यसैगरी जुम्लामा सरकारको प्रतिनिधि भएर सांस्कृतिक तथा धार्मिक भूमिका समेत निर्वाह गर्नुपर्ने रहेछ। जुम्लामा रहेको चन्दननाथ मन्दिरमा गरिने विशेष पूजाआजा कुनै बेला बडाहाकिम र हाल प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने परम्परा रहेछ।

वर्षभरि अक्षताका रुपमा प्रयोग हुने चामलका लागि चन्दननाथ मन्दिरको गुठीकै ज्यूलोमा जेठ महिनामा मार्सी धान रोप्ने चलन रहेछ।‬ मलाई प्रमुख जिल्ला अधिकारीका रूपमा रोपाइँका लागि निमन्त्रणा गरियो।‬ म पदीय जिम्मेवारीका कारण चन्दननाथ गुठीको ज्यूलोमा गएँ।‬ अरूलाई हौसला समेत प्रदान गर्दै आफैं जुम्ली परम्पराको सम्मान गर्दै जुम्ली पोशाक नै लगाएर धान रोपेँ।

तर संसदमा एक जना सांसदबाट नै ‘रोपार्नी सिडिओ पठाएको’ भनेर मेरो कार्यक्षमतामै प्रश्न उठाइयो।

त्योभन्दा अगाडि गएका पुरुष सिडिओलाई त्यस्तो ‘रोपार्नी, बाउसे वा हली कर्मचारी’ भनेर संसदसम्म आवाज उठाइएको मैले सुनेकी थिइनँ।‬

घर बिदामा गएका प्रहरी नायव उपरीक्षकले केही हप्तासम्म ‘धन्न, बिदामा गइएछ।‬ सिडिओ गएपछि म पनि जानुपर्थ्यो।‬ मलाई पनि डिएसपी पठाएको कि हली पठाएको भनी प्रश्न उठ्ने रहेछ’ भनेर हँसाउनु हुन्थ्यो।‬

जिल्लामा त्यहाँ चलिआएको संस्कृति र परम्पराको सम्मान गर्दा पनि महिला भएका कारण अनावश्यक बहस हुँदा नरमाइलो लाग्यो।

भूमिका र जिम्मेवारीः

दक्षिण कोरियाको ईभा वुमन्स युनिभर्सिटीको मास्टर डिग्रीमा मेरो शोधपत्र लेखन क्रममा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरेर फर्केका प्रोफेसर डाक्टर योंग्जिंग चो मेरो थेसिस गाइड हुनु हुन्थ्यो। उहाँका कक्षा असाध्यै उत्प्रेरक हुन्थे। प्राय: उहाँ ‘सिकेर गएपछि आफ्नो देशमा आफूले पढेको विषयमा योगदान पुर्‍याउनु’ भन्नुहुन्थ्यो।

विश्वका २७ राष्ट्रका सरकारी कर्मचारी एकै ठाउँ रहेर अध्ययन गरेकाले मैले विभिन्न देशका महिलाको अवस्था, त्यहाँको संस्कृति, परम्परा, नीति-निर्माण सम्बन्धमा अध्ययन गर्ने अवसर पाएँ। अध्ययन सकेर फर्किँदा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी म सरूवाका लागि मन्त्रालय गएँ।

‘राष्ट्रिय योजना आयोगमा जान पाए हुन्थ्यो सर,’ मैले अनुरोध गरेँ।

केही दशक अघिसम्म हाम्रो जस्तो आर्थिक अवस्था रहेको कोरियाले गरेको तीव्र विकास र आर्थिक उन्नतिका सम्बन्धमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर मलाई मिलेको थियो। आफूले बुझे-जानेको थोरै कुरा भए पनि तर्जुमा गरिने योजनामा मैले पृष्ठपोषण दिनु सक्छु कि भन्ने मलाई थियो।

सरले भन्नुभयो, ‘त्यहाँ महिला धेरै भएका छन्, नपठाउनू भन्ने कुरा छ।’ 

म छक्क परेँ।

के महिला गणनाका लागि मात्र हुन्?

अनि त्यस्तो सोच देख्दा दुःख पनि लाग्यो। कुनै अफिसमा ‘पुरुष धेरै भए, अन्य पुरुष नपठाउनू’ भनेको त अहिलेसम्म मैले सुनेकी छैन।

परिवार व्यवस्थापन र कामको सन्तुलनः

स-साना तर समय बढी लाग्ने र आर्जन नहुने खालका घरायसी काम हुन्छन्। बूढाबूढी, बच्चाबच्चीको हेरचाह, सरसफाइ, खाना-खाजा बनाउने, बच्चा स्कुल पुर्‍याउने जस्ता काम आज गरे सकिन्छ भन्ने नि हुँदैन। दिनहुँ गरिरहनु पर्छ। यसैमा पानी, बिजुलीको बिल, बच्चाको स्कुलको शुल्क लगायत काम थपिँदा फुर्सद निकाल्नै गाह्रो हुन्छ।

पढाइका लागि काम सकेर बचेको समय मात्र हो। त्यही समयमा पढ्न मन लागेर एकाग्र हुन सके पढिन्छ। त्यसरी पढेर पास भएर जागिर गर्ने कामकाजी महिलाका झन् दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ त अफिस नपुग्दै बिहानै घरायसी कामका कारण थकान महशुस हुन्छ।

महिला, त्यसमाथि सानो बच्चाकी आमा र अफिसको कामकाज थपिँदा त समय व्यवस्थापन गर्नै मुश्किल। शिशु स्याहार केन्द्र र गर्भवती तथा नवआमाका लागि आराम तथा स्तनपान सहितका लैगिक संरचना सबै ठाउँमा बनेको छैन। शिशुलाई दिउँसो स्याहार्न सम्भव हुँदैन। बच्चा हेरचाह र स्तनपान गराउन नपाएर छाती गानिन्छ।

विद्यालयको बसमा चढाएको बच्चा अप्रत्यासित रूपमा चक्का जाम र सडक बन्द हुँदा बाटैबाट फर्काइँदिदा कहिलेकाहीँ कार्यक्षेत्रमै लैजान पर्छ। अहिले कोरोनाका कारण स्कुल लगायत डे-केयर सेन्टर लामो समयदेखि बन्द छन्। कामकाजी अभिभावकले मन एकाग्र गरी काम गर्न कठिन भएको छ।

कहिलेकाहीँ स्कुल नै पुग्न नपाई बाटैबाट घर फर्किएको बच्चाले, ‘मम्मी अब म कहाँ जाने’ भन्यो भने कता पठाउनु? सकसै हुन्छ। त्यस्तै कहिलेकाहीँ बाध्यताले बच्चा अफिस ल्याउनु पर्ने हुन्छ। आफू मिटिङमा गएको वा काममा भुलेको बेला बच्चाले कम्युटर चलाई दिँदा समेत अनावश्यक समाचार बनेको पाइन्छ। अनि सामाजिक सन्जालमा ‘सरकारी अफिसमा कम्युटरको दुरुपयोग’ भन्दै गालीको वर्षा हुन्छ।

बालबालिकाको बालसुलभता, चञ्चलता रोक्न सकिँदैन। सरकारी कर्मचारी भन्दैमा आफ्ना बच्चाबच्चीलाई रुवाउँदै आफ्नै मन दुखी बनाएर मेसिनजस्तै कसरी सेवा प्रवाह गर्छु भनेर भन्न सकिएला र!

महिनावारीः

महिनावारी प्राकृतिक प्रक्रिया हो। २८ दिने चक्रका आधारमा महिनावारी हुने दिन पूर्वानुमान गर्न सकिए पनि समय यकिन गर्न सकिँदैन। रजस्वला हुँदा सामान्य अवस्थामा त व्यवस्थापन हुन्छ तर कार्यालय समयमा विभिन्न कठिनाइ सामना गर्नुपर्ने हुन्छ।

सामान्यतया त्यस्तो बेला महिलालाई पेट दुख्ने, वाकवाकी लाग्ने लगायत समस्या हुन्छन्। पेट दुखेर आच्छु-आच्छु हुँदा आराम गर्नुपर्‍यो भने अर्कै बाहाना बनाएर वा टाउको दुख्यो भनेर घर निस्कनु पर्ने हुन्छ।

एक पटकको कुरा हो, मेरो कार्यालयमै महिनावारी भयो। झोलामा प्याड रहेनछ। राख्नै बिर्सिएछु। अफिसमा मिटिङ सुरू हुने बेला भएको थियो। आफैं बाहिर गएर किन्न सम्भव भएन।

सहयोगी कर्मचारी खोजेको, सब पुरुष। पुरुष कर्मचारीलाई आफ्ना लागि प्याड किन्न पठाउन मन लागेन। अनि महिला कर्मचारी सबैलाई सोधे प्याड छ कि भनेर सोधेँ। छैन भन्नुभयो। उता मिटिङको हतार, यता हल्ल्लल्ल्ल रगत बग्न लाग्यो। मिटिङमा मेरो ध्यान एकाग्र हुनै सकेन। कतै रगत लाग्ने हो कि भन्ने लागिरह्यो। लागि हाल्यो भने लज्जावोधले आत्मग्लानी हुन्छ।

अझ दुरदराजमा बसेर काम गर्दा शौचालयकै समस्या हुन्छ। अझै पनि सरकारी कार्यालयको शौचालयमा ध्यान दिएको पाइँदैन। बनाइएका शौचालयमा पानी छ कि छैन भन्नेमा समेत छलफल भएको पाइँदैन। अनि प्याड/ कपडा राख्ने भाँडो नभेटेर पत्रिकामा पोको पारेर आफ्नै झोलामा राखेर अफिसबाट घरमै लग्न बाध्य हुनुपर्छ।

आम महिलाका सवाल उठाउनु पर्ने केही उच्च पदमा जिम्मेवार पदाधिकारीको अट्याच ट्वाइलेट हुँदा यसको गाम्भीर्यता महशुस हुँदैन। महिलाका मुद्दामा संवेदनशील नभइदिँदा यस्ता विषय छलफलका एजेन्डा सरकारी अफिसमा बनेको देखिँदैन।

तर समस्या महशुस गरी मिहिन रूपमा विश्लेषण गर्न सके काम हुँदो रहेछ।

म आफू प्रमुख जिल्ला अधिकारी हुँदा जिल्ला प्रशासन कार्यालय, जुम्लाको महिला शौचालयमा कार्यरत महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्यानिटरी प्याड व्यवस्था गरेका थियौं। 

खैरो कपाल र सामाजिक मनोविज्ञानः

ऐनमा निर्धारण गरेको उमेरअनुसार जाँच पास गरी छनौट भएर गए पनि महिला कर्मचारीलाई सुरूमै विश्वास गर्न गाह्रो देखिन्छ। पुरुष कर्मचारी भए ‘सर’, महिला भए ‘नानी’, ‘बैनी’, ‘दिदी’, यस्तै भनेर सम्बोधन गरिन्छ। पारिवारिक हिसाबमा त ठीक होला तर कार्यालमा काम गर्ने कर्मचारीलाई मायाले होस् या दयाले गरिने यस्ता सम्बोधन विभेदका संकेत हुन्।

कार्यालयमा महिला कर्मचारी देख्नेबितिकै गर्ने कामबारेमा प्रश्न सोधिँदैन। प्रश्न त उनको थर, घरतिरको कि माइत तिरको, घरको थर भए माइतीको बिर्सिएको?, माइती थर भए घरको किन नराखेको, जस्ता नितान्त व्यक्तिगत प्रश्नले समय खाइदिन्छन्।

अझै मौका पाए भने अगाडि बढेर, ‘तपाईंको श्रीमान के गर्दै हुनुहुन्छ?’, महिला कर्मचारी खरिदार हुन् भने ‘सर नायब सुब्बा हुनुहुन्छ?’, अफिसर महिला हुन् भने उपसचिव एवम् रितले एक तह माथिल्लो पद राखेर प्रश्न गरेका हुन्छन्।

अर्कोतर्फ कुनै महिलाको पद श्रीमानभन्दा माथिल्लो छ भने त अहो! ‘उनको श्रीमान त…स्वास्नीभन्दा तल्लो पदमा रहेछन्, त्यो पुरुषलाई त मान्नै पर्छ, भन्ने गाइँगुइँ सुनिन्छ।

श्रीमती माथिल्लो पदमा पुग्नु उनको क्षमताभन्दा श्रीमानको अक्षमताका रूपमा मापन गरेको पाइन्छ।

सामान्य साक्षर श्रीमतीले लोग्नेको माथिल्लो पदप्रति गर्व महशुस गर्दै हार्दिकता व्यक्त गर्छिन्। पुरुषका हकमा फरक कार्य क्षेत्र भए सहज रूपमा लिएको देखिन्छ। तर एउटै कार्यक्षेत्रमा रहँदा श्रीमती माथिल्लो दर्जामा हुँदा श्रीमान खुसी हुनुको साटो हिनताबोध महशुस गर्ने वातावरण हुन्छ। यसले सम्बन्धमै मनोवैज्ञानिक दरार आउने सम्भावना देखिन्छ।

यी परिवेश केलाउँदा पितृसत्ताको जड निजामती सेवामा गहिरिएर गडेको देखिन्छ।

विदेशका महिला राष्ट्रपति र प्रधानमन्त्री/मन्त्रीले संसदमै स्तनपान गराएको, बिदामा घुमघाम गरेको, समुद्र किनारमा बसेर वाइन पिएको तस्वीरलाई हामी ‘वाह वाह’ गर्छौं।‬ तर आफ्नोमा खुरूखुरू काम गर्ने, चर्चामा आउन नचाहने र कानुन अक्षरस पालना गर्नेलाई ‘समन्वय नगरेको’ भनिन्छ।

कसैले मुक्तकण्ठले प्रसंशा गरे भने ‘महिलाहरूले त अलि-अलि गरे पनि देखिहाल्छ, मिडियाले खोजी-खोजी लेखिहाल्छ, सेलेब्रेटी’  भन्दै कार्यक्षमता नै कम आकलन गरेर हैसियतमै चोट पर्ने गरी कुरा गरिन्छ।‬ मौका पाए ‘सोह्र शृङ्गार गरेका’ भन्दै अप्सरासम्मको गुणगान गाइन्छ।‬

अझ महिला कर्मचारीले मेकअप गर्छन् कि गर्दैनन्, गर्छन् भने लिपिस्टिकको रङ कस्तो छ, कम्मरको लचकता, साडीको सप्को र कपालको कलरको कुरा गर्दै नितान्त व्यक्तिगत कुरामा टिप्पणी गरेको पनि पाइन्छ।‬ शृंगार नगर्नेलाई पनि महिला भएर पनि कस्ती रुखी भनेर आलोचना गरेको सुनिन्छ।‬

एक पटक एकजना शुभचिन्तक सरले फोन गर्नुभयो।

‘तपाईंलाई राम्रो काम गर्ने, काममा खटिने मान्छे भन्छन् तर खैरो कपाल गरेकी, फोटा राख्ने नक्कली भनेर कुरा काट्छन्। किन मान्छेलाई कुरा काट्ने मौका दिनु हुन्छ? किन मान्छेको तारो बन्नु हुन्छ? कपाल कालो पार्नुस्। तपाईंलाई नजिकबाटै चिनेको छु, तपाईं कस्तो हो भन्ने थाहा छ। राम्रो चाहेकाले कुरा काटेको सुन्दा नमिठो लागेर सुनाएको र सुझाव दिएको मात्र हुँ,’ उहाँले भन्नुभयो।

म छक्क परेँ। कपाल त धेरैले रंग्याउँछन्। रङ फरक होला। मलाई त रहर लागेर कलर गरेकी छु। खुशी छु। मेरो कपालको रङले निजामती सेवाको छविमा दाग लाग्ने हो र?

कानुनका मापदण्ड र पेशागत आचरण त पालना गरेकी छु। अनि सदैव सम्मान पनि गर्छु। व्यक्तिगत रूपमा गरिने टिप्पणीले मलाई फरक नपर्ला। तर के निजामती सेवामा जागिर खाँदैमा आफूलाई मनलाग्दो बन्नु हुँदैन र? निजामती कर्मचारी हुँदैमा दुखी, पीडित, कुण्ठित, जुम्से नै देखिन वा बन्न पर्ने हो र? निजामती सेवामा रहने व्यक्तिमा आफ्नो सौख, रूचि र आफ्नै शैली हुँदैन र?

महिलाको शीलस्वभाव र शालीनताको रेखा समाजले कोरिदिएको हुन्छ। त्योभन्दा बाहिर गए आलोचनाको शिकार भइन्छ। अन्य सेवाका लागि मार्गदर्शन बन्नुपर्ने सेवाका व्यक्तिले त कपालको रङ र आफ्नै कार्यालयका महिला कर्मचारीका आवरणलाई लिएर तर्क गर्छन् भने यो सबै पितृसत्तात्मक सोचकै उपज हो भन्न सकिन्छ।

‘सुनक्रेसा’ का कथा पढेर हुर्किएका हामी सुनको जस्तो रङ भएको सुनौलो कपाल पचाउन सक्दैनौं। कि त्यस्ता कथा किताबमा मात्र सीमित हुन्?

हुन त हृदयको रङ हुँदैन। रङ अनुसारका मान्छे पनि हुँदैनन्। कपालको रङ कालो हुँदा मान्छेको हृदयको रङ कालो हुँदैन नै। न त खैरो कपालले उसको विचार, कार्यक्षमता र मनको अवस्था चित्रित गर्छ। तर साँघुरो सोच हुनेले महिलाको कपालको रङ, कानका झुम्का, खिचेका तस्वीर र जिउडाल जस्ता कुरामा चरित्रको रङ देख्छन्।

एउटा कार्यालयमा भर्खरै युवा उमेरको रहरले भरिपूर्ण युवा प्रवेश गर्छिन्। पदीय जिम्मेवारी बहन गरेकाले उनलाई अनुभव र ऊर्जाले बाटो देखाउनु पर्नेमा उनका रूचि क्षमता र बाध्यता अंकुश लगाउने मानसिकताले ऊर्जावान् युवा संकुचन भई उनको मनोबल गिर्न पनि सक्छ।‬ अनि कसरी काममा सृजनशीलता र नागरिक सेवा प्रवाह गर्न सकिएला?

कसलाई सुनाऊँ गुनासो!

आफ्ना स-साना समस्या सम्बोधन कार्यालयबाट भइदियोस् भन्ने लाग्छ। तर त्यस्तो प्रकारको गुनासो सुन्ने संयन्त्र कर्मचारीका लागि छुट्टै विकास भएको पाइँदैन। पेसागत हकहितका लागि आधिकारिक ट्रेड युनियनको व्यवस्था निजामती सेवा ऐन-नियममै गरिएको भए पनि त्यस्ता संगठनले पेसागत कुरा उठाउनुको सट्टा आफ्नै पार्टी र पेसाका कर्मचारीका लागि मात्र काम गर्ने गरेको देखिन्छ। कार्यालयमा हुने मिटिङमा उठाउन नसक्ने छुटै संवेदनशील खालका अप्ठ्यारा, बाध्यता, असहजता पनि हुन्छन्।

एकदिन फोनको घन्टी बज्यो। फोन आमाको रहेछ।

‘कहाँ हो?’ भन्नुभयो।

मैले भनेँ, ‘अफिस मै छु तर कुरा गर्न मिल्छ। त्यता सब ठीक छ नि?’ 

‘के ठीक भन्नु, बा रात भरि छट्पट छट्पट गर्नु हुन्छ। घाँटी घ्यारघ्यार बाहिरै सुनिने गरी गर्छ। हिजो सिभिल अस्पतालमा गएको।’

मैले अतालिँदै सोधेँ, ‘फेरि गाह्रो भयो र बुबालाई?’

‘कोरोनाका कारण यस पटक त दिल्ली जान नि पाउनु भएन। तर राजीव गान्धी क्यान्सर हस्पिटलका डाक्टर मनिषसँग फोनमै कुरा गरेर औषधी मगाएको छ। तिमी घर नआएको नि धेरै भयो। घर कस्तो सुन्ने भएको छ। यता सरूवा भए छोरी भित्र बाहिर गर्दा घर कस्तो उज्यालो हुन्छ।’

जागिर खानुपर्छ, गाउँमै जानुपर्छ, दीनदुखीको सेवा गर्नुपर्छ र उनीहरूको मनमा बस्नुपर्छ भन्नुहुन्थ्यो आमा। हाम्रा हातखुट्टा चल्दासम्म घरको कुनै चिन्ता नलिनू भनेर मलाई चुनौती सामना गर्न ऊर्जा दिने आमाले समेत घुमाउरो पारामा घरै आऊ भनी निराश बनेको देख्दा नरमाइलो लाग्यो।

दुर्गममा गएर लामो समय काम गरेकी पनि छु।

‘आमा ढुक्क हुनुस्। अहिले बुवा र हजुरको ख्याल गर्नुस्। अबको लटमा मेरो त्यहीँ नै सरुवा हुन्छ’ भन्दै आमालाई विश्वस्त बनाएर फोन राखेँ। मन्त्रालयमा फेरि आफ्नो कुरा राखेँ।

केही समयपछि सरुवा त भयो। अपसोच, घरपायक सरुवा हुनेमा मेरो नाम थिएन। पारिवारिक, शारीरिक कारणले संगठनले राम्रो उद्देश्यका लागि गरेका कतिपय सरुवा पनि असजिला हुन् सक्छन्। त्यो सुनाउन सक्ने अवस्था रहँदैन। सक्नेलाई त चाहेका बेला चाहेको ठाउँमा जसरी सरुवा मिलेको पाइन्छ। आफ्नै सहकर्मीबीच विभेद र दोहोरो मूल्यांकन भएको देख्दा झन् मनोबल गिर्छ।

आफैंले सम्मान गरेको संस्थाको असन्तुष्टि अन्य स्थानमा कसरी पोख्न सकिन्छ र? प्रश्नैप्रश्नले प्रश्न सोधी आफैंलाई ऐंठन पर्दा समेत त्यसको सुनुवाई गर्ने उपयुक्त स्थान नपाउँदा आफ्नै घाँटीमा अड्किएर घिटघिट भइरहन्छ। अप्ठ्यारो परेकालाई आँट, साहस र भरोसाले अभिभावकत्व प्रदान गर्नु पर्ने ठाउँमा कुनै अमूक पक्ष र वर्गलाई संरक्षण गरिँदा गुनासो बोकेर कहाँ जाने?

‘म्याडम हजुरहरूलाई केही चाहिन्छ कि?’ भन्दै मेनु ल्याएर टेबलमा राख्दा हाम्रा कुराको क्रमभंग भयो। बाहिर हेरेको त झमक्क साँझ परिसकेछ। यता टेलिभिजनमा अमेरिकामा उपराष्ट्रपति पदमा दौडिरहेकी कमला ह्यारिसको तस्वीर आइरहेको थियो।

उता सामाजिक सञ्जालमा टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट भएको निधनको श्रद्धाञ्जली व्यक्त गर्दै महिलामुक्तिका कुरा उठाई स्टाटस, कमेन्ट र ट्विट आइरहेका थिए।

हुन त यी समस्या नभोग्ने र नबुझ्नेलाई असाध्यै सामान्य लाग्न सक्छन्। अचानोको पिर खुकुरीले जान्दैन भन्ने नेपाली उखान पनि छ। तर एकआपसमा आफ्ना सम्यस्या सुनाउँदा मन केही हल्का भएको थियो।

राज्यलाई सेवा गर्ने अभिलाषाका साथ जीवनको ऊर्जावान् समय बिताउन हामीले रोजेको निजामती सेवामा समाजमै रहेका जातजाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व बढ्दै गएको छ।

तर हामीपछिको पुस्तामा यी कथा दोहोरिएलान् कि नदोहोरिएलान्? यो प्रश्न मनमा राखेर हामी आ-आफ्नो गन्तव्यतर्फ लाग्यौं।