तीजको रमझम : सामाजिक एकताको आधार

Please follow and like us:
0
चाड पर्वहरू कुनै स्थान, जाति वा लिङ्ग विशेषले शुभारम्भ गरेको भए तापनि ती पर्व संस्कृतिहरू कुनै जातिको, कुनै भाषीको, कुनै धर्मको वा कुनै खास स्थानको घेराभित्र सीमित भएर रहन सक्दैन । पर्व संस्कृतिले संकीर्णताको घेरा तोडेको हुन्छ र सबै जाति, भाषा र मतावलम्बीसँग नाता जोडेको हुन्छ । तिजपर्वलाई आध्यात्मिक आँखाले हेर्दा हिन्दु नारीहरूको पर्व भनिए पनि यो पर्व संस्कृतिले नेपालका आम महिलाहरूलाई मात्र नभई पुरुषहरू समेतलाई प्रभावित तुल्याएको पाइन्छ । आध्यात्मिक भावले हिन्दु महिलाहरूमा हरितालिका व्रत बस्ने प्रचलन रहे पनि सांस्कृतिक रूपमा विभिन्न हिन्दुइतर महिलाहरू र पुरुषहरू समेतलाई र हिमाल पहाड तराईमा रहने आधिकांश भाषा धर्मका जाति जनजातिहरूका बिच पनि साझा पर्वको रूप धारण गरेको देखिन्छ । यो पर्व आमनारी जागरणको साझा पर्व बनेको छ । सामाजिक सदभाव वृद्धि र राष्ट्रको समृद्धिको लागि यो जीवन्त र प्रेरणादायी पर्व बनेको छ । विवाहिता चेलीहरू र माइतीका बिचमा दुःखसुख आदान प्रदान गर्ने, पुनर्मिलन र सद्भावको सन्देश दिने काम तिजपर्वले गरि रहेको छ । पर्व संस्कृति सामाजिक अग्रगमनका आधार हुन्, इतिहासका सूचना र सन्देश हुन् । संस्कृति सबैभन्दा जेठो र प्रिय हुन्छ, तिजपर्वले पनि हामीलाई यही चिनाएको छ । सामाजिक एकता र राष्ट्रिय एकताको सन्देश नारी जागरण र अन्यायका विरुद्धमा विद्रोहको शङ्खघोष गरेको छ । यसले अन्धविश्वास, असामाजिक र असामायिक प्रचलनका विरुद्धमा विद्रोहको आवाज बुलन्द गर्दै आएको छ । त्यसैले तिजपर्व निष्क्रिय र औपचारिक पर्व मात्र होइन नारी जागरणको एउटा जिउँदो जाग्दो जनसंस्कृति पनि हो । जनसंस्कृतिको अर्थ जनतासितको सुमधुर सम्बन्ध र एकताको अभिव्यक्ति हो । नेपाल देशलाई विश्वमा चिनाउने सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी भए झैँ नेपालको अर्काे चिनारी पर्वैपर्वको संस्कृति पनि रहेको छ । यी पर्वपर्वैहरूका माझ अलि छुट्टै विशेषता राख्ने पर्व तिज हो । मूलतः महिला केन्द्रित यस पर्वमा अधिकांश हिन्दुदेखि गैर हिन्दुसम्मका नेपाली महिलाहरूले मिठोचोखो खाने, व्रत उपवास बस्ने र नाचगान गरेर अत्यन्तै हर्षोल्लासका साथ यो पर्व मनाउँछन् । सामान्यतया नाचगान जस्ता कुराले सबैको ध्यानाकर्षण गर्ने भएकाले पनि तिज पर्व संस्कृतिले हिन्दु इतर नेपाली महिला र पुरुषहरू समेतलाई नाच्न, नचाउन र गाउन अनि रमाउनका लागि अवसर प्रदान गरेको देखिन्छ । यस कारणले तिज पर्व नेपालको सबैभन्दा ठुलो र अत्यधिक जनसंख्यालाई प्रभावित गर्न सफल पर्व संस्कृति हो । यी सबै क्रियाकलापले तिजी संस्कृतिमा हुँदाहुँदै पनि केही अन्धविश्वास र अवैज्ञानिक धारणाले स्वयं महिला समुदाय हिंसा र दमनमा परिरहेको छ । त्यो भनेको व्रतउपवास विधि प्रक्रियामा रहेका अवैज्ञानिक असामयिक र रुढीग्रस्त विचार दृष्टिकोण नै हुन् । गरुड पुराणको ४६ र ४७ मा उल्लेख गरिएको छ— पत्नीले जिउञ्जेल पतिको सेवा गरोस् र मृत्युपछि पति पतिसँगै सती जाओस् । यस्तो विचार परम्पराले पतिको आयुसँग महिलाको आयु गाँसिने धार्मिक मनोवैज्ञानिक ग्रन्थी निर्माण गरिदिएको छ । त्यसै भएर होला पतिको दीर्घायुको कामना गर्दै महिलाहरू तिज अर्थात् भाद्र शुक्ल द्वितीया दिन व्रत बस्ने गर्छन् । जितिया संगिनी र गौरामा पनि यही विधि अनुसार व्रत बस्दछन् । तिजपर्वका सन्दर्भमा केही सकारात्मक पक्षहरू पनि रहेका छन् । तिजको मौलिक पक्ष (भाषालय, स्वर संगीत) लाई संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । तिजको मौलिक पक्ष संरक्षण गर्न र बदलिँदो परिवेश बमोजिमका विषयवस्तुमा केन्द्रित भएर उद्देश्यमूलक गीत रचना पनि हुँदै गएका छन् । कलाकारहरूको ध्यान तिज संस्कृतिप्रति आकर्षित भइरहेको छ । धेरै विद्वान् शोधकर्ताहरूबाट तिज पर्व संस्कृतिको महत्वमाथि अनुसन्धानको थालनी पनि भइरहेको छ । तिज पर्व संस्कृति जति लोकप्रिय र जीवन्त हुँदै गए पनि समस्या र चुनौतीहरू पनि उत्पन्न भएका छन् । नयाँ पुस्ताका महिला समुदायले तीज पर्व संस्कृति अन्तर्गतका लय–भाका, तिजी परम्पराको भाषाशैलीलाई राम्ररी पक्रन नसक्दा गीतहरूको शब्द रचनामा क्लिष्टता, एकै लय भाका र स्वरका गीतहरू मात्र प्रस्तुत भइरहेका छन् । तिजी गीत, संगीत र नृत्यमा छाडापन यौनपरक प्रस्तुतिको प्राधान्य देखापर्दै गइरहेको छ । नयाँ प्रविधिको विकास र उपलब्धता हुँदाहुँदै पनि ती परम्परागत तिज गीत, संगीत, नृत्य कलालाई अभिलेखीकरण र रेकर्ड गर्ने काम खासै भएको छैन । तिज संस्कृतिका पारखी कलाकार हजुरआमा र आमाहरू स्वाभाविक रूपमा बित्दै जाँदा उनीहरूमा रहेको कला सौन्दर्य पक्ष पनि उनीहरूको मृत्युसँगै अतीत हुन पुगेको छ र नयाँ पिढीले ती शब्द रचना पक्ष र भाका र लयको अनुकरण गर्नतिर ध्यान दिइरहेका छैनन् । तिज गीत रचना र गायनमा पुरुष कलाकारहरूबाट हस्तक्षेप हुँदै गएको देखिन्छ अनि तिज गीत र कलामा रत्यौली परम्पराको मिश्रण गरिदिँदा तिज गीत गायनमा मौलिकता हराउने अवस्था देखापरिरहेको छ । आजभोलिका कलाकारहरूले तिज गीतसंगीतलाई व्यवसायिकीकरण गरेर सस्तो लोकप्रियता हासिल गर्ने दौडमा लागिरहेका छन् । तिज नेपाली नारीको पर्व हो राष्ट्रिय पर्व हो । पर्वका वेला मिठो चोखो दर खानु, रमाउनु, माइती र छोरी चेलीको बिचमा आत्मीय सद्भाव बृद्धि गर्नु राम्रो कुरो हो । दरको नाममा गरिबका लागि डर सिर्जना हुने गरी तारे होटलतिर दरखानु सामाजिक अपराध पनि हो । तिज पर्व तिज पर्व बन्नुपर्छ अर्थात् चाहेको खोजेको पर्व बन्नुपर्छ । नेपाली सन्दर्भमा चाडपर्व सकिनसकी ऋण काडेर भए पनि मनाउने प्रवृत्ति पाइन्छ । तलेघरेले हात्ती चढ्यो भन्दैमा हात्ती चढ्न खोज्नु, धौलेघरेले ठुली खसी काट्यो भन्दैमा झन् ठुलो खसी काट्नतिर लाग्नुभन्दा पर्व संस्कृतिलाई भड्किलो महँगो बनाउनतिर लाग्नु राम्रो होइन मितव्ययी र जीवनोपयोगी बनाउनु आजको आवश्यकता हो । परम्परागत रूपमा चलेको पर्वलाई नयाँपन दिनु ठिक छ तर यसको सामाजिक–सांस्कृतिक मूल्य, मान्यता र सकारात्मक मौलिकताको जगेर्ना गर्नतिर ध्यान दिनु पनि आवश्यक देखिन्छ ।