उच्च शिक्षाको सपनाः माण्डव्य बहुमुखी क्याम्पस

Please follow and like us:
0
अथक परिश्रमको कारणले प्राथमिकबाट निम्न माध्यमिकमा परिणत हुन सक्यो । निरन्तर परिश्रम, अविचलित चिन्तन र कठीन तपस्याको फलस्वरुप निम्न माध्यमिक स्तरबाट माध्यमिक स्तर सञ्चालनको अनुमति मिल्यो । उच्च शिक्षाको अध्ययनको निम्ति तानसेन जानुको विकल्प थिएन । सम्म भेगको बढ्दो बस्ती, जनघनत्वको चाप हुँदाहुँदै पनि विश्व विद्यालय स्तरीय पठनपाठनको खाँचो खड्किन्थ्यो नै । गाउँ र सहर बीचको दुरी थियो । गाउँबाट सहरसम्म पुगेर सबैले अध्ययन गर्न सक्दैनथे । दमकडा माध्यमिक विद्यालय दमकडा, शारदा माध्यमिक विद्यालय मदनपोखरा, विष्णु माध्यमिक विद्यालय पोखराथोक, दिव्यज्योति माध्यमिक विद्यालय सराई र किसान माध्यमिक विद्यालय झडेवाबाट उत्तिर्ण विद्यार्थीमध्ये अधिकांशले शिक्षाबाट हात धुनु पथ्र्यो । विद्यार्थीहरु असिनपसिन सालघारीका उकालो चढिरहेको र सालका पातले पसिना पुछ्दै हिंडेको दृष्य मन भतभति पोल्थ्यो । करिव २\३ घण्टाको पैदल हिंडेर अध्ययन गर्नेहरू प्रति श्रद्धा र स्नेह थिँदै थियो त्यो भन्दा बढ्ता करुणाले मन भरिन्थ्यो । अव्यक्त मनमा क्याम्पस स्थापनाको बीऊ रोपिएको थियो । अंकुराउन पाएको थिएन । समथर भूभागमा रहेका सार्वजनिक जग्गाहरू दिन प्रतिदिन मिचिदै र अतिक्रमित बनिरहेका थिए । ति सार्वजनिक जग्गाको उचित उपयोगका निम्ति आधुनिक शिक्षालय र विश्वविद्यालय हुन सक्छन् भन्ने लागिरहन्थ्यो । क्याम्पसका सञ्चालनका लागि सार्वजनिक जग्गा बलियो आधार देखिन्थ्यो, भू–स्रोत देखिन्थ्यो । यहाँ क्याम्पस बिस्तारका निम्ति पर्याप्त ठाउँ पुग्थ्यो । मदनपोखराका सबै शैक्षिक संस्थामा एउटा एउटा फ्याकल्टीको बिस्तार गर्ने, व्यवस्थापन, मानविकी, कानुन र विज्ञान संकाय छुट्टाछुट्ट स्थानमा खोल्ने र मुख्य कार्यालय दमकडामा राख्ने त्यतिबेलाको कल्पना थियो । एक अर्थमा सपना रहेछ । शैक्षिक विकासका सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग भेटघाट र परामर्श चलिरहन्थ्यो । माडीको घेरोभित्र बढिरहेको जनसंख्या र बसाइसराईको क्रम देख्नेहरू उच्च शिक्षाको सम्भावना दर्शाइरहन्थे । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त विनयकुमार कसजू, त्रिभुवन बहुमुखी क्याम्पस तानसेनका पूर्व क्याम्पस प्रमुख मनमोहन श्रेष्ठ र वरिष्ठ पत्रकार मेघराज शर्मा दमकडामा क्याम्पस खोल भनेर प्रेरित गरिरहन्थे । क्याम्पस खोल्नभन्दा आवश्यक भौतिक पूर्वाधार, आर्थिक आर्जन, विद्यार्थी संलग्नता र शिक्षक व्यवस्थापनको चुनौति मुख्य कुरा थियो । मौन बसेरै उपयुक्त समय पर्खनुको अर्को उपाए थिएन । २०४८ सालको वर्षे विदामा काठमाडौँमा थिए । एकदिन साँझ गुणाकर अर्याल र तोयनाथ खनाल मेरो डेरामा आइपुग्नुभयो । सञ्चोबिसञ्चो र छलफलको क्रममा क्याम्पस खोल्ने प्रस्ताव राख्नुभयो । उहाँहरूको भनाई थियो ‘‘तपाईँ झोला बोक्नुस्, हामी काँध थाप्छौँ ।’’ बल्ल साथी पाएँ जस्तो लाग्यो । आत्मबल बढ्यो । उत्साह थपियो । अर्कोदिन उहाहरू आफ्नो काममा लाग्नुभयो । म त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा गएँ । त्यहाँबाट पनि हौसला पाएँ, मदनपोखरामा क्याम्पस चलाउन सक्छन् भन्ने । क्याम्पस सञ्चालनका लागि माग फारमसहित पुनः दमकडा फर्कें । क्याम्पस स्थापनाको लक्ष्य बोकेर बौद्धिक परामर्श र सामुहिक अपनत्वका निम्ति शारदा मावि, दिव्यज्योति मावि र विष्णु माविसम्म अनुरोध गर्न पुगियो । दमकडा केन्द्र पर्ने कारणले पनि स्थानीय शिक्षाप्रेमी, समाजसेवी, राजनीतिज्ञ सबैसँग सल्लाह भइसकेपछि वृहत भेला गर्ने निर्णय गरियो । २०४८ साल श्रावण १७ गतेका दिन करिव ७८\७९ जना बौद्धिक तथा समाजसेवी व्यक्तित्वको दमकडा माविको सभाहलमा भेला भयो । मदनपोखरा, कसेनी, रुप्से, पोखराथोकका मान्यजनको भेलाले आवश्यकताको महशुस गरी क्याम्पस स्थापना गर्ने निर्णय ग¥यो । क्याम्पसको नामाकरण माण्डव्य राख्ने, सार्वजनिक जग्गा प्राप्ति र सञ्चालक समिति गठन गर्ने कामसमेत ग¥यो । भोलिपल्टै श्रावण १८ गतेका दिन साविक मदनपोखरा गाविसको वडा नं.७ को बैठकले घिमिरेडाँडा उपलब्ध गरायो । माण्डव्य क्याम्पस माग फारम भरेर सञ्चालक समितिको निर्णय प्रतिलिपी, सञ्चालक समिति अध्यक्षको सही समेत गरेर उपकुलपतिको कार्यालयमा पेश भयो । अन्ततः २०४८ साल भाद्र ३० गते क्याम्पस स्वीकृतिको अनुमति प्राप्त भयो । आन्तरिक तयारी थालियो । बैठकहरू आयोजना गरियो । सोही वर्षको पौष ३ गते विहान ६.२० बजे ३६ जना विद्यार्थी र ६ जना शिक्षकबाट कक्षा सञ्चालन भयो । पौष महिनाभित्रै विद्यार्थी संख्या ४८ पुग्यो । खुला विज्ञापनमार्फत् वाणिज्य शास्त्रको निम्ति २ जना शिक्षक थप गरियो । आभारी छु यस क्षेत्रका समुदायप्रति जसले सोचेका बेला हरेक सोंचहरूमा श्रम, पसिना, बुद्धि र विवेक लगाएका छन् । कृतज्ञ छु दमकडा मावि प्रति जसले भौतिक सामग्री भवन, फर्निचर, कार्यालय, दराज उपलब्ध गरायो । नतमस्तक छु ती शिक्षाप्रेमी, समाजसेवी जसले हौसला बढाइदिनुभयो । त्यस समयका कतिपय व्यक्तित्व समाधिस्थ भैसक्नुभयो, कति वृद्धावस्था यापन गर्दै हुनुहुन्छ । आजभन्दा २७ वर्ष पहिला जन्मेको क्याम्पस अहिले युवाअवस्थामा छ । शैशवकाल उत्साहमा बितायो । किशोरावस्था र यौवनावस्था दुःखमा बितायो । कुशल नेतृत्वको फलस्वरुप कोल्टे फेर्दैछ । आशा गरेको छु स्नातकोत्तर तहका पढाइ सञ्चालन हुनेछ । समयले मागेका विविध विषयहरू थपिने छन् । सामुदायिक क्याम्पसले विश्वविद्यालयकै आंगिक क्याम्पसको मान्यता पाउनेछ । विद्यार्थीको आकर्षण थपिनेछ । शिक्षकहरूमा उत्साह थपिनेछ । एकदिन विगतको सपना एउटा सुन्दर विपनामा परिणत हुनेछ । अस्तु ।