सामुदायिक रेडियो मदनपोखरा
सामुदायिक रेडियो मदनपोखरा


Breaking
रम्भाले स्थापना गर्यो ५० शैयाको क्वारेन्टाईन रिब्दीकोटले बन्द गर्यो विद्युतिय हाजिरी रम्भाले गर्यो सबै विद्यार्थीको दुर्घटना विमा रिब्दीकोटमा कोरोना सचेतना र निशुल्क माक्स वितरण रिब्दीकोटको चिस्यान केन्द्रमा राखिएका सुन्तला दोब्बर मुल्यमा बिक्री शाखा खोलेर गैरकानुनी कारोबार गर्दै लालीगुराँश सहकारी कोरोनाको हल्लाले पाल्पामा मास्क अभाव पर्यटकको आतिथ्यतामा सुधार गर्न पाल्पाका होटल व्यवसायिलाई अनुरोध बन्दिपोखरामा बैंकबाट सामाजिक सुरक्षा भत्ता रम्भामा एक घर एक धारा अभियान तिव्र बगनासकाली द्धारा ५० प्रतिशत अनुदानमा मौरीपालन सामग्री वितरण एन आई सी एशिया बैंकद्धारा विमा दावी रकम प्रदान मेला महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाको अनुरोध पाल्पा चिनाउन पोखरामा डिजिटल स्क्रिन पाल्पा महोत्सव : माटो परिक्षण गराउन किसानको भिड पाल्पा महोत्सव : टपरीमा स्वादिष्ट ममको व्यापार भ्याई नभ्यााई पाल्पा महोत्सवमा गोरु नारेर पेलेको अर्गानिक खुदो (फोटोफिचर) पाल्पा महोत्सवमा महिलाहरुको खानाघर आकर्षणको केन्द्र दमकडामा पाल्पा महोत्सवको भव्य उद्घाटन ओके बाजेद्धारा रेडियो मदनपोखरामा उत्कृष्ट उद्यमी अक्षयकोष स्थापना सहकारिको तरकारि बोकेको जिप दुर्घटना पत्रकार महासंघ पाल्पाको सदस्यमा थप ९ जना सिफारिस फरक क्षमताका विद्यार्थीलाई रिब्दीकोटको न्यानो कपडा पराेपकारी संगिता : विद्यार्थी र वृद्धहरु संग जन्मदिन छाेराकाे जिवन विमा बन्याे बयम्बुकाे जिउने आधार रिब्दीकोटमा आउँदो बर्ष सबै घरमा धारा चापपानीको पिपल काण्ड नालीबेली श्रीपञ्चमीको अवसरमा दमकडा माविमा अक्षरारम्भ पाल्पा महोत्सव २०७६ को तयारी तिब्र स्थानिय तहले गरेका कामको प्रचार हुन सकेन : रिब्दीकोट अध्यक्ष जिसी विजय दौड पाल्पामा बेलायती देखी जापानी नागरिक (फोटोफिचर) पर्यटन बर्ष प्रवर्द्धनका लागी पाल्पामा दौड प्रतियाेगिता हुने नेकपा पाल्पाको अध्यक्षमा आचार्य, नेतृत्व चयनले कार्यकर्ता उत्साहित हिन्दुको भगवान मानिने डेढसय गाई ऋिषिकेश मन्दिर परिसरमा बेवारिस कालीगण्डकीमा र्याफ्टिङ उत्सव नुवाकोटमा युद्ध स्मारक पार्कको शिलान्यास पाल्पामा १७ बैशाखदेखि निषेधाज्ञा पाल्पा अस्पतालमा पन्ध्र बेड थपिने पाल्पामा कोरोना संक्रमण दर बढ्दाे मैत्रीपुर्ण खेलमा नेपाली क्रिकेट समर्थक समाज पाल्पा विजयी

सेतो जाँगेमा रातो टालो

विजयकुमार बौडेल –
“ममि । सेतो जाँगे च्यातियो” भन्दा रातो टालो हालि सिएर “लौ अझै २ महिना कट्छ” भन्नुहुन्थ्यो । तर कापि किन्न छ, कलम किन्न छ भन्दा कहिल्यै पनी भोली भन्नुभएन । खेल्दा लोटेको ठाउँमा बाँधिदिँदा बाँधिदिँदा झिरा झिरा भएको पटुका कहिल्यै फेर्नुभएन तर हरेक बर्ष हामीलाई स्कुल ड्रेस चाँही नयाँ सिलाईदिनुहुन्थ्यो । तर पैसा नहुँदा पनी कहिल्यै नमिठो मुख लाएर बोल्नुभएन ।


बाबाले सधै भन्नुहुन्थ्यो “जती पढेपनी, हाडछाला घोंटेर भएपनी पढाउँछु । हामी पढ्न नपाएर दुख पाईयो । छोराछोरीले दुख नपाउन् ।” सधै दुख गर्ने बाबा कहिलेकाँही अलीकती खाएर आउँदा ममि सधै कराउने “केटाकेटीलाई कापी कलम किनिदिन पुग्थ्यो त्यो पैसाले ।” जती खाएपनी बाबाको सधै अटल बोली र व्यवहार हुन्थ्यो । “अझै ८÷१० बर्ष त घस्रेर भएपनी छोराछोरी पढाउन सक्छु ।”
बाबुआमाका हामी चार जना छोराछोरी । खानै धौ धौ भएपनी ममिले हामी चारै जनालाई क्याम्पस लेभल सम्म पढाउनुभयो ।


पैसो कत्तिको हुन्छ ?
पत्रकारिता गरेर जिवन चल्छ ? भोली विहे गरेपछी स्वास्नी कसरी पाल्छस् ? चुरा, टिका कसरी किन्दिन्छस् ? सधैभरी यसरी त चल्दैन होला ।
आजकल आफन्तको भिडले दैनिक जसो सोध्ने प्रश्न ।


पैसाको अभावै अभावमा जिवनको यो अवस्था सम्म आईपुग्दा पनी मलाई अझै पैसाको लोभ लाग्दैन । अनिवार्य आवश्यकता बाहेक घर, सम्पत्ती र गाडी जोड्ने मेरो कुनै लक्ष्य छैन । दुनियाँको नजरमा हिँजोको मेरो हैसियत के र आजको के भन्ने कुरा पैसाले छुट्याउला तर मलाई त्यस्तो लाग्दैन ।


खै म किन एस्तो थाहा छैन । तर २५ बर्षको उमेरमा पनी मलाई भयंकर मोजमस्ति गरुँ, टन्न पैसा कमाउँ, सानका साथ हिँडु जस्तो लाग्दैन ।
कहिलेकाँहि म संग पत्रकारिता क्षेत्र संग सम्बन्धित कुनै कार्यक्रम परिहाल्यो भने सदरमुकाम जाने गाडिभाडा पनी हुन्न, खाजा खाने पैसा पनी हुन्न तरपनी मलाई जसरी पनी पैसा कमाउँ भन्ने लाग्दैन । पैसा कमाउने हजारौं बाङ्गा बाटोहरु थाहा नभएको पनी होईन । सोझो खुट्टाले बाङ्गो बाटो हिँड्न मन नलागेर मात्र ।


अहिले मलाई रोटि, मकै, ढिंडो, चिउरा, मकैको भात (हामी आँटो भन्छौं) फिटिक्कै मन पर्दैन । सबैले भन्छन् स्वास्थ्यको लागी यिनै कुराहरु राम्रो र फाईदाजनक हुन्, खानुपर्छ । हिँजो अरु केहि नभएर च्याँख्ला सहितको गहुँको पिठो पानीमा होँडलेर पनी सबैलाई पेटभरी खान नपुग्ने अवस्थामा जति खाने हो खाईयो । गहँुको सिजनमा पिठो नसकुन्जेल ढिंडो, मकैको सिजनमा मकै नसकुन्जेल आँटो, बाँँकी सिजनमा कहिले चिउरा त कहिले के । भात भन्ने कुरा नै नौलो लाग्थ्यो ।


अहिले केही नभए पनी दुई छाक भात खान सक्ने भएको छु । अहिले पनी घरमा बेलाबेलामा रोटि, ढिंडो पाक्दा लाग्छ, म भात खान र चामल किन्न नसक्ने भएछु कि क्या हो ? हिँजोको त्यो गरिवि आफ्नै हातमुख जोर्नको लागी थियो भने आजको गरिवि अरुको अगाडि सामाजिक हैसियत कमजोर देखिने छ ।


बाटोमा हिँड्दा कसैले “विजय जी हैन ? मैले तपाईंलाई चिन्छु, तपाईले लेख्ने कुराहरु म सधै पढ्छु, लेखाई राम्रो छ ।” भनेर भन्दाको खुसी नाथे पैसाले किनेर पाईन्छ र जस्तो लाग्छ । अनी पैसा नहुँदा आफ्नै साथीभाईको नजिक बन्न नसक्दा र उनीहरुले नगन्दा पैसा भन्दा अरु के रहेछ र जिवन जस्तो पनी लाग्छ ।


अहिलेसम्म धेरै पटक मलामी त गएको छैन तर जती पटक गएको छु, त्यहाँ लास जलाउँदाको क्षण निकै भावुक व्यक्तिहरु र जलिरहेको लास देखेर लाग्छ । “साला पैसा, धन, सम्पत्ती के का लागी ? आखिर यि ढाक्नुपर्ने चिजको टालो पनी निकालेर जलाउँदा रहेछन् ।”


ममिले स्कुल पढ्दा लगनशिल र मेहेनती भएर पाएको छात्रवृत्ती बापतको २ सय ५० रुपैंया साँझ खान नहोस् तर कहिल्यै अन्य कुरामा खर्च गरिदिनुभएन । त्यसैमा थपघट गरेर ड्रेस सिलाउने, कापीकलम किन्ने, फि तिर्ने लगाएतका काममा नै खर्च गरिदिनुहुन्थ्यो । सानोमा ममिले दिनभरी काम गरेर पाउने ५० रुपैंयामा हामी ६ जनाको परिवार पालिन्थ्यो । पानी पर्दा रातभरी हामीलाई दश ठाउँ सार्दै चुहिएको छानो थाप्दै बसेको देख्दा मन कुँडिएर आउँथ्यो तर गर्न सक्ने केहि थिएन । ४ जनाले त खाने र पढ्ने मात्रै गथ्र्यौ । सम्झँदा पनी कस्तो कस्तो लाग्छ “साँच्ची कसरी चलाउनुहुन्थ्यो होला व्यवहार ?”


म संगैका धेरै साथीहरुलाई घरकाले आर्थीक अवस्था कमजोर भयो भनेर पढ्न छुटाए । कतिले आफै छोडे । तर पढाई छोड्ने कुरा न कहिल्यै मेरो मनमा आयो न ममि बाबाले नै छोडाउने कुरा गर्नुभो । जहिले पनी पढ्नको लागी उत्साहित नै गर्नुभो ।


अहिले मेरो कामबाट मेरा बाआमा खुसी नै हुनुहुन्छ । छोराले नाम कमाएको छ । धेरैथोरैले चिनेका छन् । “तपाई विजयको आमा बा हैन ?” भनेर बाटोमा नमस्कार गर्दा छोरा राजै भएको अनुभुती गर्नुहुन्छ । हुन पनी आफ्ना सन्तानको प्रगतीमा को बाउआमा खुसी नहोलान् र ?


अहिले धेरैका छोरा विदेश गएर लाखौं कमाएर बाआमालाई राम्रा घर बनाएर राखेका छन् । सुख दिएका छन् । हातमा पैसा राखिदिएका छन् । मलाई पनी त्यसो नगरुँ लागेको होईन । ठुलो घर बनाउँ, बाआमालाई त्यसमा राखुँ, सुखसयल दिउँ । तर बाआमाले कहिल्यै पनी मलाई त्यो कुरामा उत्साहित गर्नुभएन ।


रातभरी चुहिने घरकोे हैसियत बाट किन ठुलो घर र बंगला चाहियो ? सेतो जाँगेमा रातो टालो लगाएको मान्छेलाई अहिले किन चाहियो ब्राण्डेड कपडा ? जे छ त्यसैमा सन्तुष्ट हुन जाने सधै खुसी भईन्छ भन्ने कुरा मैले मेरो बाआमा बाटै सिकेको छु ।


खुसी र सुख दुई फरक फरक कुराहरु हुन् । सुख भएर पनी खुसी नहुन सकिन्छ, दुख भोगेर पनी खुसीसाथ बस्न सकिन्छ । दिनभरी भारी बोकेर कमाएको पैसाले साँझ चामल किनेर खुसी साथ परिवारमा रमाउन सकिन्छ । सिसैसिसाको महलको ७ तलामाथी नोकचाकरले बनाएको चौरासी व्यञ्जन खानेकुरा खाएर बस्दा सुखी त भईएला तर खुसी नहुन सकिन्छ ।


हिँजोका दिनमा “घर चामल सकिएको छ, छोराछोरीलाई के खुवाउने थाहा छैन । अलीकती पैसा सापट दिनुहोस् न ।” भनेर साहु संग पैसा सापटी लिन जाँदा साहुले तिर्न सक्दिने भनेर नसुनेझै गरेको दिन ममिले सम्झनुहुन्छ । अनी आजकल धेरैजसो दिन बिहान “यो सामुदायिक रेडियो मदनपोखरा हो, अव विजयकुमार बौडेलबाट विहान साढे ६ बजेको स्थानिय गतिविधी सुन्नुहोस् ।” भन्ने आफ्नै छोराको आवाज रेडियो तरंग बाट लाखौंको कान सम्म पुग्दा सारा खुसी त्यसैमा पाउनुहुन्छ ।


खुसी हुन सन्तुष्ट हुनुपर्छ । सेतो जाँगेमा रातो टालोले सिउँदा पनी खुसी हुन सकिन्छ, अर्बौको गाडिमा बसेर लाखौंको सुट लाउँदा पनी खुसी नहुन सकिन्छ ।