विजयकुमार बौडेल
चैत २१ – एक्कासी ज्वरो आएर जिउ दुख्ने र टाउको दुख्न थालेपछी फोक्सिङकोटका एवतकुमार सारु रातभरी निदाउन सक्नुभएन ।
पेशाले शिक्षक र रेडियो मदनपोखराका फोक्सिङकोट प्रतिनिधी समेत रहनुभएका सारुलाई कोरोना संक्रमण हो कि भन्ने त्रासले रातभरी सताईरह्यो । “राती ११ बजेतिर एक्कासी ज्वरो आएपछी ओढेको सिरकले न्यानो भएन, बुबा सुत्ने कोठाको तीन वटा सिरक लिएर ओढें, ज्वरो घटेन, जिउ दुख्यो, टाउको गह्रुङ्गो भयो, बोल्नै नसक्ने गरि जिउ काम्यो, म्याडमले तातो पानी दिनु भो । निन्द्रा परेन ।”
सारुले भन्नुभयो –“बिहान उज्यालो भयो, नियमित काम गर्न सकिन । हल्का खाँसी पनि सुरु भयो । तीन दिन सम्म कहिले पिडीमा, कहिले आँगनमा, कहिले ओछ्यानमा सुतें । सिटामोल खाएँ । केही हल्का भयो । चौथो दिन काममा गएं, उस्तै दोहोरियो ।” एन्टीबायोटिक औषधी खाएर उहाँलाई निको त भयो तर मनमा भने कोरोना संक्रमणको शंका रहिरह्यो ।
त्यसको ६÷७ दिन पछी सारुकी श्रीमतीलाई पनी उस्तै लक्षण देखियो । दुईजना मात्र बस्ने सारु परिवारलाई साह्रै समस्या पर्यो । फेरी उही औषधी प्रयोग गर्नुभयो । उहाँलाई पनी निको भयो । तर दुवैको मनमा कोरोना संक्रमणको शंका रहिरह्यो । सारुले भन्नुभयो “त्यसको दुइदिन पछि पल्लाघर बस्ने सरलाई पनी उस्तै भो । ज्वरो र पसीनाले दुई जोर कपडा भिजेछ । त्यै एन्टिबायोटिकले निको भएछ ।”
अब भने सारु ढुक्क हुनुभो । शंका रहेन । यो कोरोना होइन । मौसमी फ्लुको कारणले आएको ज्वरो रहेछ । सारुले भन्नुभयो “डर त्रास र लाचारीले ज्यान पनी जान सक्थ्यो । पहिलो आफ्नै कमजोर मनोबल, दोश्रो नजिकका नामी अस्पतालको वेवास्ता । बुटवल सैनामैना, टेकुमा दुइको मृत्युु र पाल्पा आसपासका घट्नाले कोरोनाले भन्दा पनि त्रासले पिडित बनाएको अवस्था छ ।”
“नडराऔं । सुरक्षित रहौं । आत्मबल बढाऔं । सुरक्षित रहौं, सजग रहौं ।” सारुको आग्रह छ ।