पुस १४
पाल्पा, निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएका छन । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने कष्ट त हटेको नै छ ।
तर आफुहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउँदा कृषकहरु धेरै खुसी देखिन्छन । यसपटकको शिविरमा पालिकाले कृषि उपज सामग्री र शैक्षिक सामग्री प्रदर्शनलाई पनि समेटिएकोले विगतको शिविरभन्दा बढी महत्त्वपूर्ण रहेको हो ।
करिब ४ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको निस्दी ५, गल्धाका सुर्य बहादुर खाम्चा आफू वडाभरिकै उत्कृष्ट कृषकको रूपमा पुरस्कृत हुँदा साह्रै खुसी लागेको बताउनुहुन्छ । “म सँग अन्य थुप्रै तरकारी पनि थियो तर लोकल साग त अन्य कृषकहरुले पक्कै ल्याउनुहुन्न होला भनेर लिएर गएँ, प्रथम पो भएछु ।” खाम्चाको भनाई छ, पुरस्कार पाउनु ठुलो कुरा होइन, सबैको अगाडि सम्मान हुन पाउदा काम गर्ने थप जाँगर आएको छ ।
खाम्चाले गल्धाको ढुंगानावेशीमा करिव ६ रोपनी जग्गामा बहत्तरी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ । शिविरमा अरु १ सय ९४ जना कृषकहरुले कृषि उपज सामग्री पर्दर्शनको लागि ल्याएका थिए । खाम्चा जस्तै शिविरमा ७ वटै वडामा भएकाे कृषि प्रदर्शनीमा अन्य कृषकहरुलाई पनि पालिकाले सम्मान गरेको छ । प्रदर्शनीमा प्रथम हुनेलाइ दुइ हजार पाँच सय दाेस्राे हुनेलाइ दुइ हजार र तेस्राे हुनेलाइ एक हजार पाँच सय प्रदान गरिएकाे थियाे ।
गएको पुस ६ गते बाकामलाङदेखि शुरूवात गरेको शिविर १३ गते शनिबार अर्चलेमा सम्पन्न गरेको छ । पालिकाको सात वटै वडामा सञ्चालन भएको शिविरमा ७२ वटा योजनाको सम्झौता भएको छ । त्यसैगरी १३ वटा योजनाको पेश्की भुक्तानी, २३ वटा व्यवसायको दर्ता, ३८ वटा व्यवसायको नवीकरण भएको योजना अधिकृत तथा सूचना अधिकारी अर्जुन खनालले बताउनुभएको छ ।
शिविरमा ८४ जना कृषकले माटो परिक्षण गराएका छन । ८० वर्ष माथिका २ सय २७ जना जेष्ठनागरिकलाई सम्मान, १६ जना असहाय महिलालाई राहत वितरण र ६ जनालाई अपांग परिचयपत्र वितरण गरेको खनालले बताउनुभयो ।
शिविरमा ५ सय ५१ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, ६ सय ७८ जनाको दन्त परीक्षण, २ सय ५ जनालाई आयुर्वेद औषधी वितरण गरेको छ । त्यसैगरी ४६ जना गरिब तथा असहायलाई सुरक्षा सामग्री वितरण गरिनुका साथै २९ हजार ५ सय ५६ वटा पशुपंक्षिको लागि औषधी वितरण गरेको छ । यसपटकको शिविरमा पालिकाको ५१ वटा विद्यालयले ६ सय ७९ किसिमका शैक्षिक सामग्री पर्दर्शन गरेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो ।