राष्ट्रिय दलित पत्रकार संघ नेपाल, पाल्पा शाखाको दोस्रो अधिवेशनले पत्रकार विजयकुमार बौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको शुक्रबार भएको अधिवेनले उपाध्यक्षमा डोलराज विक, सचिवमा सन्तोष गहतराज, सहसचिवमा हरिबहादुर विक, कोषाध्यक्ष सन्जु परियार र सदस्यहरुमा सन्तोष बुढापृथी र सरिता विकलाई सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य मिलन विश्वकर्माले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले नेपाली पत्रकारिताको इतिहासमा दलित समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले दलित पत्रकार संघ दलित पत्रकारहरुको एक संगठन भएको बताउदै यसले नेपालमा दलित अधिकार, न्याय, समानता र समावेशीकरणको पक्षमा आवाज उठाउँर्दै आएको बताउनुभयो । यसका साथै संघले दलित पत्रकारहरूको सशक्तीकरण र पेशागत विकासका लागि काम गर्ने महासचिव दर्नालको भनाइ थियो । महासचिव दर्नालले संघले दलित समुदायका मुद्दाहरूलाई मुख्यधारका मिडियामा ल्याउने, समाजमा व्याप्त विभेद र असमानता विरुद्ध जनचेतना फैलाउने र दलित समुदायका लागि पत्रकारिताको क्षेत्रमा अवसर सृजना गर्न तालिम, वकालत, नेटवर्किङ्ग, र अनुसन्धान जस्ता गतिविधिहरू आयोजना गरिरहेको समेत जानकारी गराउनुभयो । दलित समुदायमा साक्षरता र शिक्षाको पहुँच बढाउन र आर्थिक, सामाजिक, र राजनीतिक रूपले सशक्त बनाउन संविधान र कानुनी व्यवस्थाको अक्षरश कार्यान्वय हुनुपर्ने महासचिव दर्नालले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले अधिकार प्राप्तीका लागि आफै लड्नु पर्ने बताउनुभयो । उहाँले जातिय विभेद सामाजिक समस्या रहेको बताउर्दै परिर्वतनका लागि एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । नेकपा एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले सामाजिक राजनीतिक र आर्थिक क्षेत्रमा दलित समुदायको सहभागिता न्यून रहेको बताउनुभयो । उहाँले पछिल्लो समय विभेद नहटेको तर विभेदको प्रकृति परिर्वतन भएको बताउनुभयो । जसका लागि दलित समुदाय मुद्दाका सवालमा एक हुनुपर्नेमा जोड दिनुभयो । अधिवेशनमा सहभागी जिल्लाका दलित अभियानकर्मीहरुले दलित समुदायले भोग्नु परेको विभेदका विषयमा पत्रकारहरु खुलेर कलम चलाउनुपर्ने बताएका थिए । उनीहरुले संघको क्रियाशीलता बढाउर्दै मुद्दा उठान गर्नुपर्नेमा जोड दिए । दलित समुदायलाई हुने विभेद अन्त्यका लागि दलित समुदाय नै संगठिन हुनुपर्ने सहभागीहरुको भनाइ थियो ।