
![]()
तानसेन । पाल्पामा काेराेना संक्रमण तिब्र गतिमा बढेकाे तथ्यांक देखिन थालेकाे छ । भारत र विदेशबाट आएका नागरिक मात्र हाेइन, समुदायमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वित्तीय संस्थाका कर्मचारी, व्यवसायीमा पनि काेराेना पाेजेटिभ देखिएकाे छ । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पामा काेराेना संक्रमण बढ्रन थालेकाे बताउनुभयाे ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले काेराेना संक्रमणकाे जाेखिमला दृष्टिगत गरी दुइ हप्ता जिल्ला शिल गरेकाे थियाे । जिल्लाभित्रका नाकामा दुइ तहकाे सुरक्षाकर्मी परिचालन गरी चेकजाँचमा कडाइ गरिएकाे छ । बुटवल पाल्पा सीमानामा सशस्त्र प्रहरी परिचालित छ भने दाेभानमा नेपाल प्रहरीले चेक जाँच गरेकाे छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले बताउनुभयाे ।
जनप्रतिनिधि संक्रमित, तानसेन नगरपालिका बन्द
तानसेनका जनप्रतिनिधिलाई काेराेना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएकाे छ । नगरपालिकाका जनप्रतिनिधिसहित समुदायमा संक्रमण बढेपछि नगरपालिकाले बिहीबारदेखि नगरपालिका र मातहतका कार्यालय बन्द गरेकाे हाे । नगरपालिकाले सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ । नगरपालिकाका प्रवक्ता दामाेदरप्रसाद घिमिरेले नगरपालिकाकाे कार्यालय बन्द रहने जानकारी दिनुभयाे। उहाँले केही अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएकाे बताउनुभयाे । अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द रहने छ ।
तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित थपिएका थिए । एक वडा अध्यक्ष सहित चार जना जनप्रतिनिधि, बैंकका गार्ड, एम्बुलेन्स चालक, व्यापारी समेत रहेका छन् ।
मेडिकल कलेजका अध्यक्ष संक्रमित
लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरेकाे परीक्षणमा काेराेना पाेजेटिभ देखिएकाे हाे । पाेखरेल अहिले पाल्पास्थित होम आइसोलेसनमा बस्नुभएकाे छ । उहाँको अवस्था सामान्य रहेको कलेजका कम्पनी सचिव निर्दोष खनालले बताउनुभयाे । ‘काेराेना संक्रिमित आइसोलेसन राख्न खटिने क्रममा संक्रमण भएछ । छिट्टै निको भएर उहाँ पुनः सेवामा फर्कनु हुनेछ।’
अध्यक्ष पोखरेल चिकित्सकको परामर्श लिएर कलेजमै होम आइसोलेसनमा बस्नुभएकाे छ । यस कलेजमा कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन निर्माण गरिएको छ। पोखरेल अग्रपंक्तिमा रहेर संक्रमितको उपचार सेवामा सक्रिय थिए। अध्यक्षलाई कोरोना पोजेटिभ भएपछि मेडिकल कलेजकाे प्रशासनिक कर्मचारीकाे कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको थियो। पिसिआर परीक्षणपछि उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
रम्भाकाे पीपलडाँडा पनि शील
रम्भा गाउँपालिका वडा नं. ३ पीपलडाँडाका जनप्रतिनिधि सहित समुदायमा काेराेना संक्रमण देखिएपछि रम्भाकाे वडा नं. ३ पीपलडाँडा क्षेत्र एक साताका लागि शिल गरिएकाे छ । वडा नं. ३ बाट दिने सम्पूर्ण सेवा भदाैँ २६ गतेदेखि एक हप्ताका लागि बन्द गर्ने स्थानीय काेराेना नियन्त्रण तथा राेकथाम समितिकाे बैठकले निर्णय गरेकाे छ ।
पीपलडाँडा क्षेत्रका हाेटल, सवारीसाधन पसल, व्यापार व्यवसाय तथा बैंक समेत बन्द हुने गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयाे । काेराेना संक्रमण थप हुन नदिन र त्यसबाट हुने सम्भावित जाेखिम कम गर्न यस्ताे निर्णय गरेकाे गाउँपालिकाले जनाएको छ ।







