पाल्पामा थप तीन जनामा कोरोना

 


पाल्पा । पाल्पामा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

रामपुर नगरपालिकाका दुई र तानसेन नगरपालिकाका एक गरी थप तीन जनामा कोरोना संक्रमण देखिएको हो । रामपुर नगरपालिकाका २ पुरुष र तानसेन नगरपालिकाका १ महिलासहित ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत ओमप्रकाश पन्थीले बताउनुभयो । प्रयोगशालाले पठाएको प्रतिवेदन अनुसार आज रामपुरको १४, तिनाउको १४, रिब्दीकोटको ७३, निस्दीको १७ को गरी १ सय १८ जनाको रिपोर्ट आएको छ ।

तानसेन नगरपालिका ८ पीपलडाँडा घरमै बसेकी ३० वर्षिय महिला बिरामीभएपछि लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । महिला गाउँकै धार्मिक भेला र दर खाने कार्यक्रममा सहभागी बन्दा काेराेना सरेकाे हुन सक्ने स्थानीय बासिन्दाकाे भनाइ छ । अस्पतालले कोरोनाको लक्षणको शंका गरी हिजो स्वाव पठाइएकोमा पोजेटिभ रहेको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ६ का २४ वर्षका र ९ का ४५ वर्षका शिक्षकमा कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ प्रसाद ढुंगानाले जानकारी दिनुभयो । उनीहरु दुबै जना होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको ढुगांंनाले बताउनुभयो ।संक्रमित २४ बर्षे युवा १९ दिन अघि दुबइबाट घर आएका हुन् । भारतबाट आएका उनका भाइलाई पनि यस अघि कोरोना पोजेटिभ देखिएको थियो । अर्को ४५ बर्षे संक्रमित तराईबाट आएका  हुन् । कपिलवस्तु घर भएका उनी घरबाट आएका थिए । उनी रामपुर ९ को माबिका शिक्षक हुन् ।

पाल्पा जिल्लामा अहिलेसम्म ४ हजार ७ सय १६ जनाको पिसिआर गरेकोमा ५ सय ६८ जनामा कोरोना देखिएको छ । कोरोना देखिएका मध्ये ५ सय ६४ जना भारतबाट आएका हुन् भने २ जना गाउँमै रहेका समुदायकै महिला हुन् । कोरोनाका कारण पाल्पामा हालसम्म एक जनाको ज्यान गएको छ ।

समुदायस्तरमा कोरोना देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले निषेधाज्ञा पालना गर्न सम्पूर्ण पाल्पाबासीलाई आग्रह गर्नुभएको छ ।