सहरमा हराएको कुमालको छोरो

निर्मल कुमाल – 
गरिब कुमाल परिवारमा गाउँमा हुर्केको केटो म । साना छँदा आफै हिँड्न र अली अली बुझ्न सक्ने भएदेखी बाआमाले गाउँका साहु महाजनको घरमा एक मुठी चामल र केही पैसाको लागी झरीमा रुझ्दै र जाडोमा काँप्दै घाँस काटेको म कसरी भुल्न सक्छु ? काम गर्दा गर्दा छियाछिया भएका हातले फेरी ति महाजनको जुठा भाँडा माझेको म कसरी भुल्न सक्छु ?

मान्छे भन्छन् पसिना गनाउछ तर रातीसम्म मेहनत गरेर घर आइपुगेका मेरा बाआमाको पसिना मलाई कहिल्यै गनाएन । मेरा बा आमाको मेहनतको पसिनाले पुरै घर बसाउथ्यो । यो सबै मेहनत मेरो लागि, घरपरिवार सबैको लागि थियो ।
म सानो छँदा मेरो र परिवारको पेट पाल्न मेरा बाआमाले गरेको दुखले अझैपनी उहाँहरुलाई छाडेको छैन । काम गर्दा गर्दा हात र खुट्टाहरु पट्पटी फुटेका छन् । आमाको पटुका च्यातिएको छ । बाको टोपी फाटेको छ । आमाको मजेत्रो धुजाधुजा भएको छ । बाको जाँगे दशौं ठाउँमा टालिएका छन् । उही दुख अझैपनी बाँकी छ । आज पनि मेरो बा आमालाई उही दुखले छाडेको छैन तर पनि आजसम्म हार्नुभएको छैन ।
अब छोरो बढेको छ । छोराले केही गर्ला भन्ने आस आमा बा मा पक्कै पनी होला । छोराले जिम्मेवारी बहन गर्ला भनेर आमा बा का मनले खोज्दै होला । घरव्यवहार धान्ला भन्ने आश होला । खोलेपानी भएपनी छोराले व्यवस्था गर्ला र बुढाबुढी भएर पिँढीमा बसेर खाउँला भन्ने आश होला ।

उमेर बढेसंगै मैले पनी जिम्मेवारी बढेको महसुस त गरेको छु तर जिम्मेवारी बहन गर्न सकेको भने पटक्के छैन ।

कुमालको छोरोले दुखम् सुखम् एस्.एल्. सि. पास गरेपछी गाउँमा केही भए पनी बाको शिर उँचो भयो । कुमाल समुदायमा थोरै मात्रले एसएलसी पास गर्ने गर्दथे । छोरो एसएलसी पास भएपछी गाउँ बस्ने कुरा भएन । पढ्न भन्दै छोरो पस्यो सदरमुकाम तानसेन ।

सायद पहिलोपटक थियो तानसेन आएको । सामान्य गाउँमा हुर्केको केटो शहर आएर दंग थियो । मोटरगाडी, ठुलाठुला बिल्डिङ अनी गाउँबाट ठुलाठुला सपना बोकेर आएका मानिसहरुको भिड । गाउँमा हुर्केको कुमालको छोरो पनी त्यस्तै ठुला ठुला सपना बोकेर शहर आउको पनी अहिले ६ बर्ष भैसकेछ ।

तर जुन सपना बोकेर आएको थिएँ, आजकल ती सपनाहरु कता बिलाए झैं लागेको छ । उमेर बढ्दै छ, जुन जोसका साथ बजार छिरेको थिएँ आज ति जोसहरु अन्य कुराहरमा मोडिएका छन् । आटो सिन्कीको झोल खाने बानी हराईसक्यो । मम चाउमिनमा बानी बसिसक्यो । गाउँमा बा आमाले लाउजस्तो कपडा त किन लाउने मन हुन्थ्यो र महंगा र ब्राण्डेड कपडामा बानी परिसक्यो । पुरानो भएर च्यातिएका कपडा लाउन छाडियो । आफै च्यातिएका कपडा किनेर लाउन थालियो । शहरका साथीभाईको संगतले गाउँको कुमालको छोरो विल्कुल फरक भएको छ । साथीहरु मोटरसाईकल चढेर हिँड्दा आफुलाई पनी मोटरसाईकल नै चाहिएको छ ।
हिँजो सम्म चुँडेको चप्पल धागोले बाँधेर मल बोक्ने कुमालको छोरो अहिले बजारमा ब्राण्डेड जुत्ता लाएर हिँड्दा पनी बेईज्जत हुन्छ कि भन्ने मान्छ । मध्यम वर्गिय परिवारमा हुर्केको भएपनी यि सबै कुराहरु सोंचेर बदलिने प्रयास रहन्छ तर कोलाहलको यो शहरमा एक्लोपनको आभास हुन्छ ।

बा आमाको एउटै सपना छोराले एउटा सरकारी जागिर खाओस,् गाउँमा थप इज्जत राख्दियोस् । यो मेरो पनी सपना नभएको होईन । राति सुत्नेबेला निकै कुराहरु मनमा दौडिरहन्छन्, निद्रा लाग्दैन । यो शहरको कोलाहलले अझैपनी सुनसान र सुन्दर गाउँको याद दिलाईरहन्छ । यो बेसुर सहरले गोठालो जाँदा होस् या मेलापात जाँदा होस्, गित गाँउदै हिडेको याद गराईरहन्छ ।

सधैका रात सोंच्ने गर्छु । आखिर त्यती सुन्दर गाउँ छाडेर के खोज्न आएको थिएँ म यो सहरमा ? रहरै रहरमा शहर पसेको म अव गाउँ गएर हलो जोत्न सक्दिन, बारी खन्न सक्दिन, साथीभाई संगै मेलापात गर्न सक्दिन, गाईवस्तुका लागी घाँस काट्न सक्दिन ।

यथार्थ नै भनौ भने अव म गाउँमा बसेर मेहनत नै गर्न सक्दिन । बानी हराईसक्यो । अनि सोच्छु के म साँच्चिकै आजकल सहरको यो रमझममा हराएकै हो त ? मेरा सपना भुलेकै हो त ? मैले बा आमाले सिकाएको रितिरिवाज र संस्कार भुलेको त हैन ?