कोरोनाको जोखिम कम गर्न तानसेनले के गर्दैछ ?

पाल्पा । चैत २० – तानसेन नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा सचेतना अभिवृद्धिका लागि हालसम्म सञ्चालन गरिएका क्रियाकलापहरु र आगामी दिनमा गर्न तयारी गरिएका कार्यक्रम सरोकारवालालाई जानकारी गराएको छ ।

जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले हिजो प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, अस्पतालका प्रमुखहरू, उद्योग, व्यापार संघका पदाधिकारी, नागरिक समाजका अगुवाहरूलाई महामारी रोकथामका प्रयासबार जानकारी गराउनुभएको हो । कोरोना भाइरसको बारेमा अभिमुखिकरण, कार्यक्रम सञ्चालन, नगरस्तरीय समन्वय समिति गठन, कोभिड रोकथामको लागि नगरपालिकाको बोर्ड बैठकबाट बजेट व्यवस्थापन, स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, टोल विकास समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरी निर्देशिका अनुसार तानसेन नगरपालिकाका सम्पूर्ण वडाहरुमा वडास्तरीय समन्वय समिति गठनलगायतका विषयमा प्रमुख शाहीलले जानकारी दिनुभयो ।

तानसेन ६ को बसपार्क र ७ को प्रभास क्षेत्रमा हेल्थ डेस्क स्थापना, प्रत्येक वडा कार्यालय तथा स्वास्थ्य चौकीलाई धारावाला वाल्टी, साबुन र सेनेटाइजर वितरण, वडा नं. ६ को जनप्रिय मा.वि.मा ५० शैयाको क्वारेन्टाइन स्थापना गरिएको र भारतबाट आएका २६ जना नेपाली नागरिकहरुलाई राखि सम्बन्धित स्थानमा पठाइएको नगरपालिकाले जनाएको छ ।

सरोकारवालासँगको बैठकमा नगरपालिका प्रमुख शाहीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार थप क्वारेन्टाइन निर्माण, घरघरै चिकित्सकसहितको उपचार सेवा बिस्तार, स्पास्थ्यचौकीहरूबाट पिपिइलगाएका स्वासबाट ज्वरो रूघाखोकीको स्वास्थ्य जाँच, अस्पतालहरूबाट नियमित उपचार सेवा सञ्चालनका विषयमा आवश्यक तयारी गर्ने जानकारी गराउनुभएको छ ।